नेपालयले सञ्चालन गर्दै आएको लघु–सांगीतिक कार्यक्रम ‘पलेँटी शृंखला’ फेब्रुअरी महिनादेखि सुरू हुने भएको छ। लामो अन्तरालपछि सुरू हुन थालेको पलेँटीको आन्तरिक तयारी पूरा भइसकेको जानकारी नेपालयले गराएको छ।
सन् २००५ बाट थालिएको पलेँटीको मञ्चमा नेपाली आधुनिक गीत, संगीत क्षेत्रका अधिकांश सर्जकहरू प्रस्तुत भइसकेका छन्। पलेँटीले नेपाली आधुनिक संगीतमा चर्चित र लोकप्रिय रहेर पनि दर्शक, श्रोता सामु एकल प्रस्तुति गर्ने मौका नजुरेका र ओझेलमा रहेका कलाकारहरूलाई प्रस्तुत गर्दै आएको छ।
अंग्रेजी महिनाको अन्तिम शुक्रबार एक दिन मात्र हुने गरेको पलेँटी कार्यक्रम यस पाली भने महिनाको अन्तिम सप्तान्त– शुक्रबार, शनिबार र आइतबार गरी तीन दिन र त्यसपछिका महिनामा दर्शकको प्रतिक्रिया र चासोको आधारमा एक हप्तासम्म आयोजना गर्ने योजना रहेको कुरा नेपालयले जानकारी गराएको छ।
‘लामै ग्यापपछि पलेँटी थालिँदै छ। साँच्चै भन्दा जुन कलाकारहरूलाई ध्यानमा राखेर पलेँटी सुरू गरिएको थियो, ती कलाकारहरू प्राय सबै पलेँटीमा समावेश भइसकेका छन्। यही क्रममा पलेँटी सांगीतिक कार्यक्रम मात्र नरही, कला संगीतका पारखीको भेट्ने बाहना र थलोको रुपमा पनि स्थापित हुँदै गयो। त्यसैले हामीले उहाँहरूकै आग्रहमा पलेँटीको प्रस्तुतिकरणलाई परिमार्जित गरी पुनः सुरू गर्न लागेका हौं,’ पलेँटी संयोजक आभासले भने।
आउँदो शुक्रबार सुरू हुने यसपालिको पलेँटी महिला गायनमा आधारित हुने भएको छ। त्यसैले यो पलेँटी नेपाली आधुनिक संगीतमा महिला कलाकारको योगदानमा केन्द्रित हुनेछ। कार्यक्रममा नेपाली आधुनिक संगीतमा महिला कलाकारको विगत र वर्तमानको चर्चा गर्दै गीत प्रस्तुत गरिनेछ।
‘नेपाली समाजको चालचलनले गर्दा महिला कलाकारको सक्रिय कलाकारिताको अवधि त्यति लामो रहँदैन त्यसैले पनि पारिवारिक जिम्मेवारी पूरा गर्दै उनीहरूले गरेको सांगीतिक र साँस्कृतिक योगदानलाई झन् महत्वकासाथ हेर्नु पर्छ र तिनलाई निरन्तर कदर गरिरहनु पर्छ,‘ महिला विशेष पलेँटीका बारे आभासको टिप्पणी थियो।
यसपालिको विशेष कार्यक्रममा पलेँटी–चेली तथा अहिलेकी चर्चित गायिका मीना निरौलाले दर्जनभन्दा धेरै नेपाली संगीतका प्रतिनिधि महिला श्रस्टाहरुलाई सम्झनेछिन्। साथै कार्यक्रमलाई सुरूआवतदेखि नै सञ्चालन गर्दै आएका संगीतका विद्यार्थी एवं संगीतकर्मी आभासले यस कार्यक्रमसँग मिल्दा सन्दर्भलाई संक्षिप्त वाचन गर्ने छन्।
मीना निरौला सन् २००७ देखि पलेँटीमा प्रस्तुत भएका अग्रज गीतकार, संगीतकारसँग आफ्नो गायन प्रस्तुत गर्दै आएकी पलेँटीसँग सम्बन्धित गायिका हुन्। उनले यसपाली प्रथम नेपाली रेकर्डेड गायिका मेलवादेवीदेखि त्यसपछिका र पछिल्लो समयका गायिकासम्मका प्रतिनिधि रचनालाई स्वर दिनेछिन् जसमा नेपाल र नेपाल बाहिरका गायिकाका नेपाली रचना समावेश हुनेछन्।
‘नेपाली संगीतका अग्रजहरूको गायन शैलीलाई बुझ्न पलेँटीले मलाई अभ्यस्त गरायो त्यसैले यो मेरो संगीतको विद्यालय पनि हो। यो विद्यालयको मञ्चमा बस्न पाउँदा म सँधै उत्साहित हुन्छु। यसपाली त महिला अग्रजहरूको गायनसँग जोडिने मौका पाएकोले झन् हर्षित छु,‘ ‘आर’शालामा वाद्यवादक बीच अभ्यासरत मीना आउँदो पलेँटी बारे भन्दै थिइन्।
‘अबका पलेँटीमा संगीतसँग आवद्ध विषय केन्द्रित कार्यक्रम पनि प्रस्तुत हुने छन्। यसैको शुरुवात स्वरुप, फेबु्रवरी महीनाको पलेँटीलाई हामीले ‘नेपाली संगीतमा महिलाको संलग्लनता र योगदान’ विषयमा केन्द्रित गर्दै कार्यक्रम निर्माण गरेका हौं।’ पलेँटी कार्यक्रमबारे आभासको थप टिप्पणी थियो।
यही फेब्रुअरी, २२, २३ र २४ मा हुने पलेँटी कालिकास्थानस्थित नेपालयको साविककै कार्यक्रमस्थल ‘आर.शाला’मा प्रस्तुत हुनेछ।
पलेँटीको टिकट बुकिङ पलेँटी र नेपालयका सामाजिक सञ्जाल मार्फत तथा अनलाइन खरिद www.thuprai.com बाट गर्न सकिन्छ।