भारतको सिनेकर्मीहरूको संगठन 'अल इन्डिया सिने वर्कर्स एसोसिएशन'ले सोमबार पाकिस्तानी कलाकारलाई काम गर्न प्रतिबन्ध लगाएको घोषणा गरेको छ।
प्रतिबन्धले भारतमा बसेर भारतिय सिनेमा उद्योगमा काम गर्दै आएका पाकिस्तानी कलाकार प्रभावित हुनेछन्।
भारत शासित जम्मु-काश्मिरको पुलवामामा आतंकवादी विस्फोटमा परि भारतिय सिमा सुरक्षा बलका ४० बढि सैन्य जवानले ज्यान गुमाएको घटनापछि एसोसिएशनले यस्तो निर्णय गरेको हो।
विस्फोटपछि भारतमा यसलाई लिएर भारतमा आक्रोश चुलिरहेको बेलामा यस्तो निर्णय आएको हो। यसअघि पनि भारत-पाकिस्तानको सम्बन्धमा तनाव सिर्जना हुँदै यस्तो प्रतिबन्ध लाग्ने गरेको थियो।
पुलवामामा भएको घटनामा पाकिस्तानको हात रहेको भारतीयहरूको आरोप छ।
एसोसिएशनले वर्तमान अवस्थालाई मध्येनजर गर्दै कुनै पनि पाकिस्तानी कलाकारसँग काम नगर्ने र यसलाई कडाइकासाथ लागु गर्ने निर्णय गरेको जनाएको छ।
यस प्रतिबन्धको असर सिने उद्योगमा देखिन थालिसकेको छ। भारतको ठूलो म्यूजिक कम्पनीमध्येको एक 'टिसिरिज'ले आफ्नो यूटयूब च्यानलबाट पाकिस्तान गायकहरू आतिफ आश्लम र रहात फतेह अलि खानका गीतलाई हटाएको छ।
यसैगरी अजय देवगनले आफ्नो आगामी कमेडी सिनेमा 'टोटल धमाल' पाकिस्तानमा रिलिज नग्र्ने बताइसकेका छन् भने कपिल शर्माको नयाँ कमेडी शोबाट पाकिस्तानलाई समर्थन हुने किसिमको वक्तव्य दिएको भन्दै नवजोद्ध सिंह सिद्धुलाई हटाइएको छ। उनको सट्टामा अर्चना पुरण सिंहलाई ल्याइएको छ।