'बाहुबली' श्रृंखलाको विश्वव्यापी सफलतापछि निर्देशक एसएस राजामौलीको नयाँ फिल्म के हुनेछ भन्ने सबैलाई चासो छ। बलिउडमै सबभन्दा बढी कमाइ गर्ने फिल्म बाहुबलीका यी निर्देशकले अब अझै महँगो फिल्म लिएर आउँदैछन्।
उनको आगामी फिल्मको नाम हो- आरआरआर।
यो फिल्मले कति कमाउँछ भन्ने त रिलिजपछि नै थाहा हुनेछ। तर फिल्म बनाउने बजेट भने छ अर्ब रूपैयाँ छ। बाहुबली जस्तै यो फिल्म पनि ऐतिहासिक पृष्ठभूमिमा आधारित छ। बाहुबली काल्पनिक कथा हो भने आरआरआर वास्तविक पात्रमा आधारित छ। सन् १८८२ मा मद्रासको आदीवासी समुदायले सुरू गरेको स्वतन्त्रता आन्दोलनमा आधारित छ। यसमा दुई पात्र छन्- अल्लुरी सीताराम राजु र कोमाराम भीम।
सन् १८८२ मा तत्कालीन सरकारले मद्रास वन ऐन लागू गरेर त्यहाँका आदीवासी समुदायको साँस्कृतिक गतिविधिमा रोक लगाएको थियो। यसले वनसँग निकट रहेर जीवनयापन गर्दै आएका ती समुदायको खेतीपाती र दैनिकी नै प्रभावित भएको थियो। यो कानुनविरूद्ध अल्लुरी सीताराम राजुले आन्दोलन सुरू गरे।
त्यस्तै सन् १९०० को प्रारम्भमा हैदरावादको तत्कालीन शासकविरूद्ध क्रान्ति गरेका थिए। उनको यो क्रान्ति पनि वन उपयोगिताबाटै सुरू भएको थियो।
बलिउडमा नयाँ फिल्म आउने भनेसँगै यसमा कसको मुख्य भूमिका हुनेछ भन्ने पनि उत्तिकै चासो हुन्छ। यो फिल्ममा एसएस राजामौलीले नयाँ तरिका अपनाएका थिए। उनले केही दिनदेखि आफ्ना कलाकार छान्दै त्यसलाई 'वेलकम एवोर्ड' लेखेर कलाकारका फोटा सार्वजनिक गर्न थाले।
उनले सबभन्दा पहिले कोमाराम भीमको भूमिकामा दक्षिण भारतीय सुपरस्टार एनटी रामारावो जुनियरको फोटो सार्वजनिक गरे। यसपछि अल्लुरी सीतारामको भूमिका अर्का सुपरस्टार रामचरन रोजे।
यो फिल्ममा बलिउडबाट अजय देवगन र आलिया भट्टको पनि अभिनय रहनेछ।
तेलेगु, तमिल, हिन्दी, मलयलम र अन्य प्रान्तीय भाषामा निर्माण हुने 'आरआरआर' सन् २०२० जुलाई, ३० मा रिलिज हुनेछ।