११ वर्षअघि एसएलसी पास भएँ। उमेर र आवश्यकताले मलाई नागरिकताको खाँचो पर्यो।
म नागरिकता बनाउने प्रक्रियामा लागें। नागरिकतामा फोटो टाँस्नुपर्छ भनेर खिचाएँ।
नागरिकता बनाउन भन्दै आमा र म जिल्ला प्रशासन कार्यालय गयौं। केही महिना अघिमात्र मेरो बुवाको मुत्यु भएको थियो।
त्यहीँ पुगेर मलाई थाहा भयो मेरो नागरिकता बुवाको नामबाटमात्र बन्न सक्छ।
एकैछिन त म आत्तिएँ। मैले कर्मचारीलाई सोधेँ, 'अब के हुन्छ त?'
'बुवा नभए बुवाको नागरिकता ल्याउनु केही फरक पर्दैन बनिहाल्छ।'
मैले आमा..... आउनुभएको छ भनेँ।
उनले आमा भएर ‘हुन्न’ भने। मसँगै जिल्ला प्रशासनमा गए पनि मेरी आमालाई त्यो कार्यालयले गन्दै गनेन।चिन्दै चिनेन। जीवित आमालाई नचिनेको त्यो कार्यालयले मृत्यु भएको बुवाको नागरिकता खोज्यो। मलाई भने एकदम नराम्रो लाग्यो। आमाको अनुहार हेरेँ। जुन अनुहार हेर्दै हुर्किएँ जसको अनुहारको छाया मेरो अनुहारमा छ। जसको अंश भएर म यो संसारमा आएँ। जसले मलाई जीवन दिइन्। उनैले एउटा कागजको खोस्टो दिलाउन नसक्दिरहिछन् भन्ने सोचेर मेरो चित्तै बुझेन।
जिल्ला प्रशासनका ती अधिकृतले मलाई फेरि भने, ‘मृत्यु भए पनि बुवाको नागरिकताबाट तपाईंले नागरिकता पाउनुहुन्छ। नाता प्रमाणित र उहाँको नागरिकता लिएर आउनू।’
विभिन्न कागजपत्र जुटाएँ।
फेरि आमाकै पछि लागेर म नागरिकता लिन गएँ।आमाको नागरिकता नचले पनि नाम त लेख्ने होला भन्ने ठान्दै थिएँ। नागरिकता बन्यो।
मेरो नागरिकतामा आमाको नाम र ठेगाना लेख्नुपर्ने ठाउँमा खाली ठाउँ पो छोडिदिएको थियो।
जिल्ला प्रशासनको नागरिकता फाँटमा बसेका एक कर्मचारीलाई मैले सोधेँ- आमाको नाम लेख्ने ठाउँमा किन खाली छोड्दिनु भएको?
ती कर्मचारीले भने- बुवाको नाम भए भइहाल्छ, किन चाहियो आमाको नाम?
सरकारी कर्मचारी त ठूला मान्छे लाग्थ्यो। त्यस्ता ठूला मान्छेसँग मैले प्रतिकार गर्न सकिनँ। लुरूक्क फर्किएँ।
नागरिकता पाएर पनि म खुसी हुन सकिनँ। त्यसैले मेरो मन पोलिरह्यो।
त्यो बेला कम्प्युटरले टाइप गरेको थिएन। कलमले नै बुवाको नाममात्र लेखेको थियो। आफै लेख्दिउँ लाग्यो। फेरि आमाले नै ‘नागरिकतामा केरमेट गर्न हुन्न’ भनेर सम्झाउनु भयो।
आमाको मनमा के वित्यो कुन्नी मैले सोधिनँ। तर भोलि/ पर्सि आफ्ना छोराछोरीको नागरिकतामा मेरो नाम नलेखिए मैले के गरूँला भन्ठानेर म झन् विथोलिएँ।
आज पनि मलाई आफ्नो नागरिकतामा आमाको नाम र ठेगाना लेख्ने ठाउँ खाली देख्नुपर्दा नराम्रो लाग्छ। मेरो जीवनमा उनको अस्तित्व छ। हाम्रो जिन्दगी भरिलो बनाएको उनैले हो। यत्ति त राज्यले बुझ्नुपर्ने। यत्ति त कानुन बनाउनेले जान्नुपर्ने।
कानुन बनाउनेहरूलाई आमाको नागरिकता र नाम नचल्ने कुराले मलाई जस्तै बिझाउँदैन?
आमा हुनुलाई यो राज्यले कति कम आँकेको रहेछ भनेर मैले बुझेको पहिलोपटक नागरिकता बनाउँदा हो। यस्तो व्यवस्थासँग चित्त नबुझेको पनि त्यतिखेरै हो। म सामान्य नागरिक हुँ। चित्त नबुझे पनि कानुन त मान्नुपर्यो।
मैले नागरिकता लिएको केही वर्षपछि संविधानसभामा नागरिकताबारे बहस चल्यो। संविधान बन्नु अघि बुवा र आमा दुवै नेपाली नागरिकता भएका सन्तानलाई वंशजको नागरिकता दिने कि आमा वा बुवामध्ये एक जना भए पुग्ने भन्ने बहस थियो। पछि आमाको नामबाटमात्र पनि नागरिकता पाइने भयो भन्ने समाचार पढेँ।
म त्यो समाचारले खुब खुसी भएकी थिएँ। भोलि/पर्सि मेरा बच्चाहरूको नागरिकतामा मेरो नाम हुनेछ भन्ने सम्झेरै म ढुक्क पनि भएँ।
अहिले कानुन बनाउने बेला फेरि त्यही आमाको नाममा नागरिकता पाइने /नपाइने भन्ने विवाद देखिएको छ।
अब म अलि बुझ्ने भैसकेकी छु, किन नदिएको रहेछ मेरी आमाको नामबाट नागरिकता भनेर। किन नचलेको रहेछ मेरी आमाको नाम भनेर।
संविधान र कानुनले त आमाको नामबाट नागरिकता बनाउन दिने अनि फेरि जे भए पनि त्यो कानुन लागू नहुने भनेर खोस्ने काम पो गरेको रहेछ।
महिलालाई पुरूषजस्तै पूर्ण नागरिक मान्न हाम्रो राज्य अझै तयार रहेनछ। अहिले बच्चाको बुवा आमाले देखाउनै पर्ने व्यवस्थामा विवाद छ। विवादका बावजुद यस्तै व्यवस्था पास गरे त महिलालाई थप पीडा हुन्छ।
बलात्कारमा परेका, श्रीमानले छोडेर गएका महिलाले त्यो दु:खद घटना बिर्सेर बाँच्न पाउनुपर्यो नि। बच्चालाई नागरिकता बनाउनेबेला फेरि त्यही घटना सम्झिन राज्यले बाध्य बनाउन भएन। बुवाको बच्चा टुंगो नलाग्ने धेरै अवस्था हुन्छन्। त्यस्ता व्यक्तिले आफ्नो बुवाको बारेमा सोध्दै खोज्दै हिँड्ने किन बनाउने हो?
यो देशका महिलाको नागरिकता उनीहरूका सन्तानका लागि चल्दै नचल्ने? आमाको नाम देखेरै डराउने यो कस्तो राज्य हो? हाम्रा कस्ता कानुन निर्माता हुन्?
राज्यले आफ्नो देशका महिलाको आत्मसम्मानमाथि यति भद्दा मजाक पनि नगरे हुन्थ्यो। महिलालाई दोस्रो दर्जाको नागरिकको रूपमा हेर्ने राज्यको नजर अब त परिवर्तन भए हुन्थ्यो। एउटै कानुन पुरुषका लागि सजिलो र महिलाका लागि कठिन हुने कुरा कसरी मान्य हुन्छ?
बुवाको ठेगान नलागेका व्यक्तिले मात्र आमाको नामबाट नागरिकता पाउने व्यवस्था बनेर हुँदैन। बुवाको मृत्यु भएका, कहिल्यै बुवालाई नदेखेका, सम्बन्ध बिच्छेद भएका अरू धेरै केस भएका व्यक्तिका छोराछोरीले पनि आफूले चाहेमा बुवा वा आमाको नामबाट नागरिकता पाउने व्यवस्था हुनुपर्दछ।
यी अवस्थामा मात्र हैन आमा एक्लैले पनि आफ्ना सन्तानलाई नागरिकता दिलाउन सक्नुपर्यो। राज्यले महिलाको नागरिकता चल्ने बनाउनुपर्यो। बुवा नभएका कारण मात्र आमाको नामबाट नागरिकता पाउने व्यवस्था नबनोस्। छोराछोरीले चाहेमा बुवा वा आमाको नाममात्रबाट सहजै नागरिकता लिन पाउन्।
मेरी आमाको उपस्थिति राज्यले देखेन। मेरो नागरिकतामा मेरी आमाको नाम लेखेन। आजसम्म जे भयो भयो।अब बन्ने कानुनले आमालाई / एउटी महिला नागरिकलाई नगन्य मान्ने व्यवस्था परिवर्तन गरोस्।
मेरा सन्तानको नागरिकतामा मैले वकाइदा आफ्नो नाम र पहिचान दिन पाउँ। पूर्ण नागरिक भएको अनुभव म गर्न पाउँ। मेरा छोराछोरीलाई उनका बुवाभन्दा आमाको हैसियत कम रहेछ भन्ने नलागोस्। जसरी म आमाको नाम नागरिकतामा नभेटेपछि उनको अनुहार हेरेर टोलाएकी थिएँ, मेरा सन्तानले पनि नागरिकता लिने बेला मेरो अनुहार हेरेर टोलाउन नपरोस्।