बैंक तथा वित्तीय संस्थाहरुले कृषि क्षेत्रमा गरेको लगानी न्यून देखिएको छ।
पुस मसान्तसम्म कुल कर्जाको ६. ५७ प्रतिशत मात्रै कृषि क्षेत्रमा गएको छ। राष्ट् बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुले पुस मसान्तसम्म कुल २७ खर्ब ३७ अर्ब ६३ करोड रुपैयाँ कर्जा लगानी गरेका छन्। जसमध्ये कृषिमा १ खर्ब ८० अर्ब कर्जा प्रवाह भएको छ। रकमका आधारमा गत वर्षको सोही अवधिको तुलनामा कृषिमा जाने कर्जा ३२ प्रतिशतले बढेको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कृषिमा १० प्रतिशत अनिवार्य लगानीको व्यवस्था गरे पनि पुर्याउन सकेका छैनन्। कृषिको व्यवसायिकता कम भएकै कारण कृषिमा ऋणको माग कम भएको बैंकहरुले बताउँदै आएका छन्।
‘यहाँ कृषिका ठूला व्यवसायहरु एकदमै कम छन्, त्यसकारण धेरै जान नसकेको हो’ जनता बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवरले भने ‘साना साना तरकारी खेतीमा जाने रकम नै कम हुन्छ।’
कृषिमा व्यवसायिकता बढ्दै जाँदा बैंकहरुको लगानी पनि बढ्न जाने उनले बताए। ‘कृषिमा बैंकहरुले लगानी गर्नुपर्छ भन्नेमा हामी पनि छौँ, तर बैंकहरुमा आउने ऋणको प्रस्ताव नै कम छ।’ उनले भने।
कृषिको व्यवसाय बढाउनका लागि पूर्वाधारको विकास जरुरी रहेको उनले बताए। ‘कतिपय क्षेत्रमा बाटोको पहुँच नै छैन, उत्पादन भएको उपजहरु कहाँ लगेर बेच्ने भन्नेमा पनि समस्या छ’ उनले भने।
कुन कुन क्षेत्रमा कति कर्जा गएको छ ?
स्रोतः राष्ट्र् बैंक
बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गरेको कर्जालाई १३ शिर्षकमा समेटिँदै आएको छ। ‘होलसेलर एण्ड रिटेलर’ शिर्षकमा सबैभन्दा बढी कर्जा प्रवाह भएको छ।
तथ्यांकअनुसार सो क्षेत्रमा ५ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। थोक तथा खुद्रा व्यापार र आयात तथा निर्यातसम्वन्धी व्यापारमा यस्तो कर्जा जाने गर्दछ।
उत्पादन क्षेत्रमा ४ खर्ब ५९ अर्ब कर्जा गएको छ। औषधि, कृषि उत्पादन तथा प्रशोधन, ढुंगागिट्टी तथा सिमेन्ट उत्पादन, फर्निचर तथा हाते सामानहरुको उत्पादन लगायतमा यो कर्जा जाने गरेको छ।
आवास तथा निर्माण क्षेत्रमा २ खर्ब ८७ अर्ब कर्जा परिचालन भएको छ। ‘फाइनान्स, बीमा तथा फिक्स्ड एसेट्स’मा २ खर्ब ५५ अर्ब रुपैयाँ प्रवाह भएको छ। बैंक, बीमा तथा वित्तीय संस्थाहरुले एकअर्कालाई प्रवाह गर्ने रकम, पेन्सन फण्ड, रियलस्टेट क्षेत्रमा यो शिर्षकमार्फत लगानी हुन्छ।
उपभोग्य क्षेत्रमा ८७ अर्ब कर्जा प्रवाह भएको छ। सुन, चाँदी, ऋणपत्र, क्रेडिट कार्डमा यस्तो रकम जाने गर्दछ। सवारीसाधनको पार्टपूर्जामा ४१ अर्ब कर्जा प्रवाह भएको छ। यातायात, संचार तथा सार्वजनिक सेवामा १ खर्ब ५२ अर्ब कर्जा गएको छ।
होटल, पर्यटन व्यवसाय, शिक्षा, स्वास्थ्यजस्ता सेवा क्षेत्रमा २ खर्ब २५ अर्ब कर्जा गएको छ। धातु तथा खनिजजन्य, मेसिनरी तथा विद्युतीय उपकरण तथा जडान, स्थानीय सरकारजस्ता शिर्षकमा जाने कर्जा भने न्यून छ।