मुलुकको भुक्तानी सन्तुलन घाटामा सुधार आएको छ। पुसमा भुक्तानी सन्तुलन धनात्मक हुँदा समग्र घाटामा सुधार आएको हो।
यस आर्थिक वर्षको पहिलो पाँच महिनासम्म अर्थात मंसिरसम्म ८५ अर्ब घाटामा रहेको भुक्तानी सन्तुलन पुससम्म आउँदा ६३ अर्ब ६८ करोडमा झरेको छ। यद्यपी गत वर्षको यसै अवधिको तुलनामा भने यो घाटा उच्च हो। गत वर्ष यस अवधिमा मुलुकको घाटा ६ अर्ब ६६ करोडले घाटामा थियो।
मुलुकमा भित्रिने पैसा र बाहिरिने पैसाको अन्तरलाई भुक्तानी सन्तुलनले जनाउँछ। यसलाई शोधनान्तर स्थिति पनि भन्ने गरिन्छ। बाहिरिनेभन्दा भित्रिने पैसा बढी हुँदा मुलुकको भुक्तानी सन्तुलन अर्थात शोधनान्तर नाफामा देखिन्छ भने बाहिरिने पैसा बढी हुँदा घाटामा देखिन्छ।
मुलुकको व्यापार, रेमिट्यान्स, वैदेशिक लगानी तथा ऋण, नेपाली बाहिरिँदा लैजाने खर्च तथा पर्यटकले यहाँ गर्ने खर्च लगायतले भुक्तानी सन्तुलनमा असर पार्दछ।
मुलुकको बढ्दो व्यापार घाटाले नोक्सानीमा रहेको भुक्तानी सन्तुलनलाई दवाव दिइरहेको छ। चालु आर्थिक वर्षको ६ महिनासम्म मुलुकको व्यापार घाटा गत वर्षको यसै अवधिको तुलनामा ३२ प्रतिशतले बढेको छ। पुस मसान्तसम्म मुलुकको व्यापार घाटा ६ खर्ब ६७ अर्ब पुगेको छ।
यस अवधिसम्म मुलुकमा ७ खर्ब २३ अर्बको बस्तु आयात हुँदा ४५ अर्ब ४१ करोडको निर्यात भएको छ। समीक्ष अवधिमा आयात ३०. ५ प्रतिशतले बढ्दा निर्यात भने जम्मा १०. ३ प्रतिशतले मात्रै बढेको छ। पेट्रोलियम पदार्थ, फलाम तथा स्टिल, सवारी साधन तथा पार्टपूर्जाको आयात सबैभन्दा उच्च छ।
बढ्दो व्यापार घाटालाई रेमिट्यान्सले धेरै हदसम्म पूर्ति गरेको छ। यस आवको ६ महिनामा ४ खर्ब ४३ अर्ब रेमिट्यान्स भित्रिएको छ। जुन गत वर्षको तुलनामा ३० प्रतिशतको वृद्धि हो।