‘म खाल्डोमा छिरेर उद्घाटन गरेका कामहरु समयमै हुने गरेका छन्, तपाईहरुको भवन अपवाद नबनोस्’ अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिक लगानी कोषको भवन शिलान्यास गर्ने क्रममा भने।
नयाँ बानेश्वरस्थित संसद भवनको पूर्वपट्टि कोषले बनाउने आधुनिक भवनको सोमबार अर्थमन्त्रीले विधिपूर्वक शिलन्यास गरेका छन्।
तरकारी बजार संचालन भइरहेको सो जग्गा २ वर्षअघि नै खाली गराइएको थियो। सो जग्गामा आधुनिक ९ तल्ले भवन निर्माण हुने भएको हो। शहरी विकास तथा भवन निर्माण विभागसँग मिलेर नागरिक लगानी कोषले मापदण्डअनुरुप निर्माणको ठेक्का दिने कार्यकारी निर्देशक रमण नेपालले जानकारी दिए।
‘६ रोपनी जग्गामा बन्ने नयाँ भवनमा पार्किङसहित २ तल्ला बेसमेन्ट रहनेछ’ उनले भने माथि सात तलाको हुनेछ।’ नयाँ भवनबाट सबै कारोबार हुने भएकाले सेवाग्राहीलाई सहज हुने उनले बताए।
पर्याप्त पाकिङको ठाउँ हुनेगरी भवन निर्माण हुने उनले बताए। भवनको तल्लो तलामै पार्किङको व्यवस्था हुनेछ। उनका अनुसार भवनको निर्माण सकिँदा ६९ करोड लागत लाग्ने अनुमान गरिएको छ। ठेकेदारले भवन निर्माणको काम थालिसकेपछि २ वर्षभित्र निर्माण सक्ने लक्ष्य लिइएको उनले बताए।
कार्यकारी निर्देशक नेपालका अनुसार नयाँ भवनमा आवश्यकभन्दा बढी ठाउँ रहेमा भाडामा दिने योजना कोषले बनाएको छ। भवनको डिजाइन तयार भएको छ।
अहिलेको भवन साँघुरो भएपछि कोषले नयाँ भवन बनाउन लागेको हो। ‘अहिलेको भवनमा सेवाग्राहीलाई लाइन लाग्न समेत नमिल्ने अवस्था छ, नयाँ भवन बनिसकेपछि भीड व्यवस्थित हुनेछ’ नेपालले भने। सेवाग्राहीलाई बस्न मिल्नेगरी नयाँ भवनमा ठाउँ फराकिलो हुने उनले बताए।
हाल रहेको भवनले नपुगेपछि कोषले दुई वटा थप घर भाडामा लिएर कार्यालय संचालन गरिरहेको छ। ति घरको मासिक भाडा झण्डै तीन लाख तिर्दै आएको कार्यकारी निर्देशक नेपालले जानकारी दिए।
अहिले रहेको भवनलाई समेत कोषले आधुनिक बनाउने तयारी गरेको छ। ‘यो भवनलाई भत्काएर बिजनेस कम्प्लेक्स बनाउने योजना छ’ नेपालले भने ‘एकैपटक गर्दा आर्थिक भार थपिने भएकाले उताको सम्पन्न भइसकेपछि यता सुरु गर्छौँ।’