पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीले आमाको नामबाट मात्र पनि सजिलै नागरिकताको व्यवस्था हुनुपर्ने बताएको छ। यसका लागि संविधान संशोधनको माग समेत उसले गरेको छ।
सोमबार केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा ‘आफ्नो पार्टी आमाका नामबाट सन्तानले नि:शर्त नागरिकता पाउने प्रावधानका पक्षमा रहेको’ उल्लेख छ।
'अंश, वंश, वैवाहिक सम्बन्ध, पारपाचुके, वैदेशिक वैवाहिक जीवन र अंगिकृत नागरिकता आदि सबै प्रश्नमा महिला र पुरुषको कानुनी अधिकार समान हुनुपर्दछ,' नयाँ शक्तिले भनेको छ, 'यो विषयलाई सम्बोधन गर्न संविधानको धारा ११ (५) र (७) संशोधन गरी तदनुरूप ऐन, कानुन र नियम बनाउन आवश्यक छ।'
संविधानको धारा ११ उपधारा ५ मा नेपालको नागरिक आमाबाट नेपालमै जन्म भइ नेपालमै बसोबास गरेको र बुवाको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिने छ भनिएको छ।
यो प्रावधानले पुरूषको पहिचानलाई स्थापित गरेको भन्दै धेरैले विरोध गरेका छन्। नयाँ शक्तिले पनि यो धारा संशोधन गर्नुपर्ने भनेको हो।
त्यस्तै संविधानको धारा ११ को उपधारा ७ मा विदेशी नागरिकसँग बिहे गरेकी नेपाली महिलाबाट जन्मिएको व्यक्तिले अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने भनिएको छ। जबकी पुरूषले विदेशीसँग बिहे गरेर जन्माएको सन्तानले भने वंशजकै नागरिकता पाउन सक्छ।
संविधानको यो प्रावधानले महिलाका सन्तान र पुरूषका सन्तानलाई विभेद गरेको छ। यसलाई पनि संशोधन गर्नुपर्ने नयाँ शक्तिको धारणा छ।
तथाकथित राष्ट्रवादी सोचको आवरणमा परम्परागत पितृसत्तात्मक रुढीवादी चिन्तनलाई निरन्तरता दिने प्रयास भएको भन्दै नयाँ शक्तिले दुःख व्यक्त गरेको छ।
'आमाको नाममा सन्तानले निःशर्त नागरिकता पाउने प्रावधानको पक्षमा रहेको प्रष्ट पार्न चाहन्छ,' उक्त विज्ञप्तिमा भनिएको छ।
लिङ्ग परिवर्तनको प्रमाण पेश गरिसकेपछिमात्रै नागरिकता पाइने संसदमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकमा रहेको व्यवस्थाप्रति पनि नयाँ शक्तिले आपत्ति जनाएको छ।
'लैङ्गिक तथा यौनिक अल्पसंख्यक नागरिकको आत्मसम्मानमा ठेस पुग्ने गरी व्यवस्था गर्न लागिएको लिङ्ग परिर्वतनको प्रमाण पेश गर्नुपर्ने प्रस्तावित नागरिकता विधेयकको प्रावधान खारेज हुनु पर्दछ,' नयाँ शक्ति पार्टीको विज्ञप्तिमा भनिएको छ।