नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आरामका लागि सपरिवार सिन्धुपाल्चोकस्थित सुकुटे बिच पुगेका छन्।
बिहीबार अपरान्ह दाहाल सुकुटे बिच रिसोर्ट पुगेका हुन्। पत्नी सीता र परिवारका अन्य सदस्यसहित दाहाल भोटेकोशी किनारको रिसोर्ट पुगेका हुन्। उनी आज राति त्यहीँ बस्ने कार्यक्रम रहेको स्रोतले जानकारी दिए।
तत्कालीन एमाले र माओवादीबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टीको तल्लो तहको सांगठनिक एकता टुंगो लाग्न लागेको भनिएका बेला दाहाल सुकुटे पुगेका हुन्।
यसअघि गत बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित दाहाललगायत नेताहरू चन्द्रागिरी रिसोर्टमा बसेका थिए।
दाहाल यसअघि पनि आरामका लागि सुकुटे बिच जाने गरेका थिए।