प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पहिलो पटक सेयर बजारमा लगानीका लागि आवेदन दिएका छन्।
सभामुख महराले सरकारले शुभारम्भ गरेको जनताको जलविद्युत कार्यक्रम अन्तर्गत शुक्रबार रसुवागडी तथा सान्जेन जल विद्युत आयोजनाको सेयरको आवेदन खुला गर्दै आफूले पनि पहिलो पटक लगानीका लागि आवेदन भरेका हुन्।
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले रसुवागढी जलविद्युत कम्पनीको १ लाख बराबरको एक हजार कित्ता र सान्जेन जलविद्युत कम्पनीको ५० हजार बराबरको ५ सय कित्ता सेयर खरिदका लागि आवेदन दिए।
कार्यक्रममा सभामुख महराकी पत्नी सिता महराले पनि रसुवागढी जलविद्युत आयोजनाको १ लाख बराबरको १ हजार कित्ता र सान्जेन जलविद्युत कम्पनीको ५० हजार बराबरको ५ सय कित्ता सेयर खरिदका लागि आवेदन दिएकी छन्।
त्यसैगरी उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले रसुवागढी जलविद्युत कम्पनीको एक लाख बराबरको १ हजार कित्ता र सान्जेन जलविद्युत आयोजनाको ५० हजार बराबरको ५ सय कित्ता सेयर खरिदका लागि आवेदन दिए।
मन्त्री पुनकी पत्नी पूर्वसभामुख ओनसरी घर्तीले पनि मन्त्री पुने बराबरनै सेयर खरिदका लागि दुवै जलविद्युत आयोजनामा आवेदन दिएकी छन्।
कार्यक्रममा बोल्दै सभामुख महराले जनताको जलविद्युत आयोजनामा जनताको लगानी गर्ने नयाँ कार्यक्रम सरकारले सुरु गरेकोमा खुशी व्यक्त गरे। उनले सो कार्यक्रममार्फत् आफू पहिलो पटक सेयर बजारमा प्रवेश गरेको पनि जानकारी गराए।
सभामुख महराले जलविद्युत आयोजनाको सेयरमा जनताको लगानी सुनिश्चित गर्न पनि सरकारलाई सुझाव दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत कार्यक्रमको शुभारम्भ गर्दै यस अघि नै माथिल्लो त्रिशुली जलविद्युत बी आयोजनामा सेयर आवेदन गरी २० कित्ता सेयर प्राप्त गरेका थिए।
सरकारले जनताको जलविद्युत कार्यक्रम अन्तर्गत २१ वटा जलविद्युत आयोजनाको छनोट गरी लगानीका लागि सर्वसाधारणमा समेत सेयर आवेदन खुला गरेको यो दोस्रो पटक हो।