रुस्लान धनगढी प्रिमियर लिगमा शनिबारका लागि तय भएको दोस्रो खेल पनि वर्षाले प्रभावित भएको छ।
बिहिबारबाट परेको वर्षाको कारण मैदानमा पानी जमेपछि शनिबारको पहिलो र दोस्रो खेल रद्द भएको हो।
फाप्ला क्रिकेट मैदानमा शनिबार पहिलो खेलमा विराटनगर किंग्स र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुने खेल तालिका रहेको थियो भने दोस्रो खेल धनगढी स्टार्स र महेन्द्रनगर युनाइटेडबीच हुने थियो।
तर, अम्पायरले मैदानको आउटफिल्डमा जमेको पानीले गर्दा खेल खेलाउन नमिल्ने जनाएपछि खेल रद्द भएको हो।
खेल रद्द भएपछि आज खेलमा सहभागिता जनाउने टिमले अंक बाँडेका छन्। सोसँगै काठमाडौं ३ खेलबाट ५ अकं जोडेर शीर्ष स्थानमा छ। विराटनगर ४ खेलबाट ४ अकं जोडेर चौंथो स्थानमा छ। यस्तै महेन्द्रनगरले ४ खेलमा २ हारसँगै २ अंक जोडेको छ भने घरेलु टोली धनगढी स्टार्स प्रतियोगिताबाट बाहिरिएको छ।
चार खेल खेलिसक्दा १ अंकमात्रै भएर पुछारमा रहेको धनगढीले अन्तिम खेलमा जित निकाले पनि प्लेअफ पुग्ने सम्भावना सकिएको छ।
सुरूआती तीन खेलमा लगातार पराजय भोगेपछि प्लेअफ सम्भावना जीवित राख्न धनगढीलाई महेन्द्रनगरसँग जित्नैपर्ने बाध्यता बनेको थियो। तर, खेल रद्द भएपछि एक अंक पाएको धनगढीको सम्भावना सकिएको हो।
लिग चरणमा शीर्ष चार स्थानमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन्।