गत वर्ष टेस्ट राष्ट्रको मान्यता पाएको अफिगानिस्तान क्रिकेट टोलीले पहिलो जीत निकाल्दै इतिहास रचेको छ।
भारतको देहरादुनमा भएको आयरल्याण्डसँगको सिरिजका क्रममा सोमबार अफगानिस्तानले टेस्ट खेलमा ७ विकेटको जित निकालेको हो।
पहिलो इनिङमा आयरल्याण्डलाई १७२ रनमा रोकेको अफगानिस्तानले आफ्नो पहिलो इनिङमा रेहमद शाहको ९८ रनको मद्दतले ३१४ रन बनाएको थियो।
दोस्रो पारीमा लेग स्पिनर रसिद खानले पाँच विकेट लिएपछि आयरल्याण्ड २८८ रनमा अलआउट भइ अफगानिस्तानलाई १४७ रनको लक्ष्य दिएको थियो। अफगानिस्तानले उक्त लक्ष्य तीन विकेट गुमाएर भेट्टायो।
यो जितसँगै अफगानिस्तानले आफूलाई दोस्रो खेलमै टेस्ट जित्ने टोलीमा उभ्याएको छ।
सन् १८७७ मार्चमा इंग्ल्याण्ड र अष्ट्रेलियाबीच भएको पहिलो टेस्ट म्याचमा अष्ट्रेलियाले जित निकालेको छ। पहिलो टेस्ट खेलमै विजयको रेकर्ड अझै पनि अष्ट्रेलियाकै नाममै कायमै छ।
इंग्ल्याण्डले अफगानिस्तान र पाकिस्तानजस्तै पहिलो जित निकाल्न दुई खेल खेल्नु परेको थियो।
भारतलाई पहिलो टेस्ट जित्न २५ खेल लागेको थियो। बंगलादेशले ३५ र न्युजिल्याण्डले सबैभन्दा धेरै ४५ खेलमा जित निकालेका थिए।