आगामी सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको छनोट अन्तर्गत एसिया फाइनल छनोटको खेल तालिका सार्वजनिक भएको छ।
एसिया फाइलन छनोट प्रतियोगितामा आगामी जुलाई २२ देखि २८ सम्म सिंगापुरमा हुनेछ।
तालिका अनुसार जुलाई २३ मा कतारसँग, जुलाई २४ मा मलेसियासँग, जुलाई २७ मा कुवेतसँग र जुलाई २८ मा घरेलु टोली सिङ्गापुरसँग खेल्नेछ।
प्रतियोगिताको सबै खेल इन्डियन एसोसिएसन क्रिकेट मैदानमा हुनेछन्। नेपाली समय अनुसार पहिलो खेल ७:४५ बजे बिहान र दोश्रो खेल १२:१५ बजे सुरु हुनेछ।
खेल तालिका
- २३ जुलाई – विरूद्ध कतार
- २४ जुलाई – विरूद्ध मलेसिया
- २७ जुलाई – विरूद्ध कुवेत
- २८ जुलाई – विरूद्ध सिङ्गापुर
प्रतियोगिताको शीर्ष स्थानमा रहने टिम युएईमा हुने आईसीसी ग्लोबल टी ट्वान्टी क्वालिफाएरमा छनोट हुनेछ।
१४ टिम सहभागी ग्लोबल टी ट्वान्टी क्वालिफाएरबाट उत्कृष्ट ६ टिमले आगामी वर्षको अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म अष्ट्रेलियामा टी ट्वान्टी विश्वकप खेल्नेछन्।
करिब १ महिनासम्म हुने प्रतियोगितामा १६ देशले ७ विभिन्न मैदानमा ४५ खेल खेल्नेछन्।
सन् २०१८ को डिसेम्बर अन्तिमसम्म आईसीसी टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरियताको शीर्ष ८ मा रहने टोली सोझै पुपर १२ मा प्रवेश पाएका छन्।
जसमा पाकिस्तान, भारत, इग्ल्याण्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, वेस्टइण्डिज र अफगानिस्तान सोझै प्रतियोगिताको टप १२ मा प्रवेश पाएका छन्।
वरियताको नवौ नम्बरमा रहेको श्रीलंका र दशौं नम्बरमा रहेको बंगलादेशले समूह ए र बी का लागि पहिले पहिलो चरणको छनोट पार गर्नुपर्नेछ।
बंगलादेश र श्रीलंकासहित बाँकी ४ टिमको फैसला छनोट खेलेपछि टुंगो लाग्नेछ।
समूह चरणमा उनीहरूले ६ टोलीसँग प्रतिश्पर्धा गर्नुपर्ने हुन्छ। यी ६ टोलीको टुंगो यही वर्ष हुने क्वालीफायरबाट तय हुनेछन्।
समूह चरणबाट ८ मध्ये चार टोलीले सुपर १२ मा प्रवेश पाउनेछन्।
नेपालको विश्वकप सम्भावना
सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने टी ट्वान्टी विश्वकपमा नेपालले पनि खेल्न सक्छ तर यसको यात्रा केही कठीन छ।
उप–क्षेत्रिय छनोटमा च्याम्पियन भएको नेपालले पूर्वी र पश्चिम क्षेत्रबाट आएका शीर्ष तीन-तीन टोलीसँग क्षेत्रिय छनोट प्रतियोगिता खेल्नेछ।
क्षेत्रिय छनोट प्रतियोगिताबाट विजेता र उप विजेता टोली ग्लोबल छनोट प्रतियोगिताको लागि टिकट पाउनेछन्। ग्लोबल छनोट अर्थात विश्वकप छनोटमा विभिन्न क्षेत्रबाट आएका १४ टोली रहनेछन्।
यी १४ देश मध्ये शीर्ष ६ मा स्थानमा बनाउने टोलीले अष्ट्रेलियामा टी ट्वान्टी विश्व कप खेल्नेछन्।
विभिन्न चरण पार गर्दै ग्लोबल छनोटमा नेपाल शीर्ष ६ भित्र पर्न सके दोस्रो पटक टी-२० विश्वकपको लागि टिकट पाउने छ।
नेपाल यसअघि पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको टी ट्वान्टी विश्व कप खेलेको थियो।
आठौं टी२० विश्व कप
टी २० विश्व कप अहिलेसम्म सात पटक भइसकेको छ। जसमध्ये वेष्टइन्डिजले २ तथा भारत, पाकिस्तान, इंग्ल्याण्ड र श्रीलंकाले एक- एक पटक उपाधि जितेका छन्।
- सन् २००७ (दक्षिण अफ्रिका)- भारत विजयी
- सन् २००९ (इंग्ल्याण्ड)- पाकिस्तान विजयी
- सन् २०१० (वेष्टइन्डिज) – इंग्ल्याण्ड विजयी
- सन् २०१२ (श्रीलंका) – वेष्टइण्डिज विजयी
- सन् २०१४ (बंगलादेश) – श्रीलंका विजयी
- सन् २०१६ (भारत) –वेष्टइण्डिज विजयी