गएको महिना सार्वजनिक यातायात पीडितका लागि एउटा सुखद समाचार लिएर आयो, त्यो थियो सहकारीमा परिणत साझा यातायातद्वारा पुन: सार्वजनिक यातातायात सन्चालन । सधैं माइक्रो नामको जिनिसमा उँधोमुन्टो लाएर कोच्चिनेहरुले दुइवटा रुटमा भए पनि राहतको सास फेर्न पाए र रहर या फेशनको लागि पनि मैले साझा बस चढेको छु भन्ने पनि लहरै चल्यो । हिजो समाचार पनि आयो गएको महिनामा साझाबसले साढे छ लाख नाफा गर्यो खर्च कटाएर भन्ने । १६ वटा ५५ सिटका बस एक महिना चलाउँदा साँढे छ लाख नाफा हुनु ठीक हो होइन त्यस्का आफ्नै बिश्लेषण होलान्, तर यो अवधिमा आधा घण्टा ४५ मिनेट पर्खेरै भए पनि साझा नै चढ्ने जिद्दी गर्ने मजस्ता यात्रु धेरै भेटेको छु मैले। सकारात्मक कुरा धेरै छन्, बोलिवचन सहनु नपर्ने, उभिँदा पनि ढाड कुप्र्याउनु नपर्ने, भाडाको लागि किचकिच नगर्ने, रोकेर नबस्ने, नियमपूर्बक ओर्लिने उक्लिने इत्यादि । यस् अवधिमा संयोगले अनुकुल रूट परेकाले होला, धेरैजसो साझा बस् नै चढियो । आजकाल माइक्रो चढ्न पर्दा अप्ठेरो लाग्ने भएको छ । हिजो भर्खर आएको समाचारमा "रात्रि सेवा बन्द हुने" भनेझैं कता कता "साझा बस पनि बन्द हुने त होइन ?" भन्ने मनमा लाग्न थालेको छ । मेरो कामना छ, म गलत होउँ, साझा यातायातले प्रगति गर्दै जाओस्, तर साझाबसको सुरुको उत्साह रात्रिबस वाला बेलाको भन्दा फरक देखिन्न । आफुलाई लागेको एकदुइ कुराहरु लेखेको छु, मलाई आफू गलत साबित हुनै मन छ, रात्रिबसजस्तो बिजोक नहोस् साझाको भन्ने कामना पनि :
१) अब्यबस्था : साझा यातायातमा एकजना मात्र कन्डक्टर या परिचारक हुन्छन्, ढोका दुईवटा । नेपालीहरु स्वभावैले हडबडे हुन्छन्, चढ्न ओर्लिन सबै थोकमा । अलिक पिक आवरमा चल्ने साझाहरुमा ती परिचारकले पैसा उठाउन भ्याएको देखिन्न । नेपाली न परे न नचढ् भन्दा टेर्छन्, न अगाडिको ढोकाबाट ओर्ली भन्दा टेर्छन् । बेस्सरी कोचिएका बेला कतिको भाडा लिन छुट्छ, ती विचराहरुलाई पत्तै हुन्न । त्यसमाथि बेस्सरी प्याक भएका बेला अगाडिबाट पछाडि आउननै महाभारत हुन्छ ।
२) ब्यबसायिकताको अभाव : सिधै भन्दा साझा यातायात चलाउनेहरु "मेरो होइन" भन्ने मानसिकताबाट ग्रसित देखिन्छन् । उदाहरणका लागि ९-१० को बीचमा सामाखुशी, बसुन्धरा, महाराजगन्जबाट टन्न यात्रुहरु कार्यलय आउन गाडी पर्खिरहेका बेला ४-५ वटासम्म साझाबस लाइन लगाएर रित्तै बसपार्कतिर गैराखेका हुन्छन् । पिकआवरमा कता कसरी आउने भन्ने त साझाबसमा छलफल नै हुन्न जस्तो लाग्छ । चाहिएको बेला साझा नआएसी मान्छेले दुई चार दिन कुर्लान्, त्यसपछि कस्ले कुर्छ ? मैले शुरुका दिनमा साझाबस चढ्दा नियमित चढ्नेहरु आजकाल देखिन्नन्, कारण उही, कुर्दा कुर्दा हत्तु भइन्छ । आधा भाडामा यात्रुलाई गाडी चढाएर पनि पिकआवरमा पुगिएन भने रित्तै कुदेर त रमिता मात्रै हुन्छ ।
३) नियम मिच्न सुरु : साझाबसको सुरुका दिनको आकर्षण नियमहरु थिए, पछाडीको ढोकाबाट मात्र चढ्ने, अगाडिको ढोकाबाट ओर्लिने, स्टपमा मात्र रोक्ने आदि । अहिले बिस्तारै साझाका ड्राइभरहरु नियम मिच्न थालेका छन्, अगाडिपछाडि दुबै ढोकाबाट चढाएर झर्नै नसकिने बनाइदिने, जाममा ढोका खोल्दिने, स्टप नभएका ठाउँमा पनि रोक्दिने, लेन मिचेर हिँड्दिने आदि । बिस्तारै मान्छेहरुलाई नियम सिकाउनु पर्नेमा आँफै त्यसो गर्न थालेसी साझा बसहरु माइक्रो बन्न बेर लाग्दैन ।
४) कर्मचारीहरुको असन्तुष्टि : साझा यातायात व्यवस्थापनले कर्मचारीहको सिफ्ट लगायत व्यवस्थापन गर्न नसकेको प्रष्टै देखिन्छ । एकदिन साँझ पानी परिरहेको बेला साझाले सुन्धारा लगेर छाड्दियो हामीलाई, मेरो सिफ्ट सकियो, अर्को आउँछ भनेर । पानी परेको बेला साझा चढ्न कुद्नेहरुको बिचल्ली पारेर । किन यस्तो गरेको भन्दा म त जागिर छोड्ने हो के मतलब भन्दै त्यसो गर्नेहरुले साझालाई डुबाउने पक्का छ । एउटै व्यक्तिले बिहानदेखि बेलुकासम्म काम गर्न सक्दैन । यसरी सार्वजनिक रूपमै असन्तुष्टि पोख्ने गरी कर्मचारीहरु निरास हुनु व्यवस्थापकीय कमजोरीबाहेक केही होइन ।
५) ठगी : एकजना कन्डक्टर छन्, ती यति बाठा छन् कि तिन्ले यात्रुहरुले फालेको टिकेटका टुक्रा टिप्दै प्याडको बीचमा राखेर दिन्छन् । कसरी थाहा भयो भन्दा एकदिन मेरो साथी र म चढेर दुइवटा टिकेट लिँदा एउटा ८० हजारवाला थियो अर्को नब्बे । साझाले आफ्ना कर्मचारीलाई पर्याप्त सुबिधा र आफ्नोपन देओस्, र यस्तो काम गर्दै हिँड्नेलाई कार्वाही पनि गरोस् । कुनैबेला टिकेट सकियो भन्दै भएजति सबैलाई विद्यार्थी छुटको १० रुपैयाँवाला टिकेट दिँदै हिँडेको पनि देखिन्छ । स्मरण रहोस्, पहिलेको साझा पनि यस्तै बाङ्गाटिङ्गा कर्मचारीले डुबाएका हुन्, मान्छे चढ्न छोडेर होइन ।
अन्त्यमा साझा यातायात व्यवस्थापनले गएको एक महिनाको आत्ममुल्यांकन गर्न जरुरी छ । जुन हिसाबले कर्मचारी निरास बन्दै गएका छन्, राम्रो संकेत होइन । सिफ्टअनुसार काम लगाउने, बढी काम लगाउन परे ओभरटाइमको पैसा दिने, पिकआवरमा अलिक मिलाउने गरी प्रोफेसनल हुने, नियममा चल्न यात्रुहरुलाई बानी पार्ने लगायतका काम नगर्ने हो भने साझा बस फेरि बन्द हुन बेर छैन । किनकी अहिले नयाँ हुन्जेल चढ्न मान्छेहरु जति एक्साइटेड छन्, त्यती भोलि हुन्नन्, यस्तै ढिलासुस्ती र अब्यबस्था चलिरहने हो भने ।
साझाबसका टाउकेहरुले सोचुन्, पुनर्जन्म दिएर मात्र कर्तब्य पुरा भएको छैन । असली परीक्षा अब सुरु भो ।
भट्टको बेयरफुट ब्लगबाट साभार