राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको पार्टी एकीकरणपछि नयाँ बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा सूर्यबहादुर थापा सर्वसम्मत चयन भएका छन् ।
पार्टी एकताको महाधिवेशनको बन्दसत्रमा राप्रपाका निवर्तमान अध्यक्ष पशुपतिशमशेर राणाको प्रस्तावलाई वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द र प्रकाशचन्द्र लोहनीले समर्थनमा गरेपछि थापा निर्विरोध भएका हुन् ।
राजधानीमा जारी एकताको महाधिवेशनले आलोपालो नेतृत्व गर्ने गरी चार जना नेताको अध्यक्ष मण्डल निर्माण गरेको छ ।
अध्यक्षमण्डलमा सूर्यबहादुर थापा, पशुपति समशेर जबरा, लोकेन्द्रबहादुर चन्द र डा. प्रकाशचन्द्र लोहनी रहेका छन् । एक–एक वर्षमा परिवर्तन हुने नेतृत्वको
पहिलो वर्षको अध्यक्षमा सूर्यबहादुर थापालाई चयन गरिएको हो । थापा पछि राणाले अध्यक्ष पद सम्हाल्ने एक नेताले बताए ।
त्यसपछि क्रमशः चन्द र लोहनीले नेतृत्व लिने छन् । अध्यक्ष मण्डलको केहि प्रतिनिधिबाट बिरोध भएपनि पछि निर्णय सर्वसम्मत गरिएको थियो ।
अधिवेशनले पार्टीलाई सामूहिक नेतृत्व प्रणालीमा लैजान ११ सदस्यीय उच्चस्तरीय कार्यसम्पादक समिति रहने गरी नयाँ विधान पारित गरेको छ ।
महाधिवेशनले केन्द्रिय कार्यसमिति एक सय सात सदस्य बनाउने निर्णय पनि गरेको छ ।
केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया सोमबार बिहान सुरु हुनेछ । केन्द्रीय समितिमा खुला क्षेत्रबाट ३५, महिलाबाट १०, जनजातिबाट ११, तराई-मधेस क्षेत्रबाट ९, दलित बाट ४, मुस्लिम र कर्णालीबाट १/१ निर्वाचित हुने छन् । अध्यक्षले ३० सदस्य मनोनीत गर्ने विधानमा उल्लेख गरिएको छ ।