एमाओवादीका उपाध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई 'तेह्रौँ दोहा फोरम'मा भाग लिन कतार प्रस्थान गरेका छन्।
कतार एयरको जहाजबाट त्यसतर्फ प्रस्थान गरेका भट्टराईले दोहामा नेपालको आर्थिक विकासमा भएगरेका कामका बारेमा विशेष सम्बोधन गर्ने कार्यक्रम छ। आगामी जेठ ६ देखि ८ गतेसम्म चल्ने सम्मेलनमा विश्वका ८४ मुलुकका करिब ६०० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने बताइएको छ।
एमाओवादीका विदेश विभाग सदस्य युवराज चौलागाईंका अनुसार हरेक वर्ष आयोजना गरिने सो सम्मेलनमा आर्थिक तथा क्षेत्रीय विकासका विषयमा महत्वपूर्ण छलफल हुने गर्छ। दोहा सरकार र दोहा विश्वविद्यालयले संयुक्त रुपमा आयोजना गरेको सो फोरममा डा भट्टराईले नेपालको आर्थिक कार्यसूची र त्यसमा भएगरेका काम तथा कारबाहीका बारेमा सम्बोधन गर्ने र नेपालको आर्थिक विकासमा सहयोग गर्न आग्रह गर्ने कार्यक्रम रहेको विदेश विभाग सदस्य चौलागाईंले जानकारी दिए।
भट्टराई आगामी जेठ ८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।