हाम्रो स्वास्थ्यलाई विज्ञानको चेतसहित छेउछाउका परिवेशसँग जोड्दै आएका लेखक जीवन प्रसाईको तेस्रो पुस्तक ‘वरिपरि नै सर्वोपरि’ को शुक्रबार विमोचन भएको छ।
पब्लिकेशन्स नेपालयको आर शालामा लेखक प्रसाईले आफ्नो पुस्तक पर्यावरण र संस्कृतिका प्रखर विद्वान तीर्थबहादुर श्रेष्ठलाई हस्तान्तरण गरेर विधिवत् सार्वजनिक भएको घोषणा गरेका थिए।
कार्यक्रममा बोल्दै श्रेष्ठले हाम्रै जीवन, जगत र पाइतालाको संसारसँग यसको सम्बन्ध रहेको उल्लेख गरे।
‘पृथ्वीभरिका जीवात्माहरूको आहाराको मूल स्रोत हरियालीको कुरा उठाएर पुस्तक अघि बढेको छ,’ वनस्पतिविद् श्रेष्ठले भने, ‘त्यसपछि हरियालीलाई यो किताबकै चुरो अर्थात् हाम्रो खानपिनसँग जोड्ने काम गरिएको छ।’
यसरी सबैले मानिआएको सर्वोपरि कुरालाई नै टेकेर पुस्तक तयार भएको जानकारी श्रेष्ठले दिए।
लेखक सम्बन्धित विषयकै विज्ञ भएकाले उनले लेखेका कुराहरूको ‘रेफरेन्स’ समेत यसमा रहेको श्रेष्ठले बताए।
प्रसाई अमेरिकामा स्वास्थ्यसम्बन्धी विषयमै अध्ययन अनुसन्धानमा सक्रिय छन्। उनले दुई दशकभन्दा बढी समयदेखि जडिबुटी र खाद्यपदार्थमा रहेका पोलिफेनोलको क्यान्सरलगायत जीर्ण रोगहरूको नियन्त्रण तथा उपचारमा हुने असरका क्षेत्रमा अनुसन्धान गर्दै आएका छन्।
उनको वैज्ञानिक अनुसन्धान केन्द्र ‘नेसनल इन्स्टिच्युट अफ हेल्थ’ (एनआइएच) सँग समेत आबद्धता छ।
खोजीमै आधारित उनका आलेख ‘साइन्स’ लगायत जर्नलहरूमा प्रकाशित छन्। प्रसाईले जापानको तोयामा मेडिकल एन्ड फर्मास्युटिकल युनिभर्सिटीबाट औषधि विज्ञानमा विद्यावारिधी गरेका हुन्।
‘विज्ञान र प्रविधिको किताब हुँदाहुँदै पनि लेखकको चित्रण गर्ने शैलीले मलाई उपन्यास पढेजस्तै अनुभव भयो,’ श्रेष्ठले थपे, ‘अनि अरु उपन्यास जस्तो पढेपछि फ्याँक्ने भन्दा पनि दराजमा थपक्क राख्ने किताबको रूपमा मैले यसलाई पाएको छु।’
आधुनिक जीवनशैलीले हामीलाई बदल्दै लगे पनि हाम्रा वरपरको वातावरण र परम्परागत मान्यताहरू पनि उत्तिकै जरुरी छ भनेर यो पुस्तक लेख्न उत्साहित भएको लेखक प्रसाईले बताए।
‘जैविक विविधताले हामी यति सम्पन्न छौं कि हाम्रा निम्ति अत्यन्त महत्वपूर्ण चिजहरु हाम्रै वरिपरि छन्,’ प्रसाईले भने, ‘त्यो महत्व बुझाउनकै निम्ति यो पुस्तक तयार पारेको हुँ ।’
प्रसाईका अनुसार मानिसले स्वस्थ्य जीवनका निम्ति वंशानुगत जीनबाटै थुप्रै गुण बोकेर आएका हुन्छन् ।
‘त्यसपछिको महत्वपूर्ण भनेको हाम्रो खानपिन, आनीबानी र वातावरण नै हो,’ उनले भने, ‘त्यसैले यिनै कुरालाई मेडिकल केमिस्टका रूपमा आफुले सिके जानेका वैज्ञानिक तर्क समेत उभ्याउँदै पस्केको हुँ ।’
संयुक्त राज्य अमेरिकाको बर्मिङ्घमस्थित युनिभर्सिटी अफ अल्बामामा कार्यरत लेखक प्रसाईले यसअघि यसै पब्लिकेशन नेपालय मार्फत् स्वस्थ्य जीवनशैलीमा आधारित दुइटा पुस्तक ‘जीवन जिउने काइदा’ र ‘सँधै तन्नेरी’ दिइसकेका छन् ।
पब्लिकेशन्स नेपालयको यो ४६ औं पुस्तक हो ।
२ सय २४ पृष्ठको पुस्तकको मूल्य ३९५ रुपैयाँ राखिएको छ ।
पुस्तकको विमोचनसँगै मुलुकभर सबैजसो महत्वपूर्ण पुस्तक पसलहरुमा यो उपलब्ध भइसकेको छ ।
यो परम्परागत विक्री प्रणाली बाहेक इन्टरनेटमार्फत् ‘थुप्रै डट कम’ (www.thuprai.com), ‘किताब यात्रा डट कम’ (www.kitabyatra.com), ‘सस्तो बुक डट कम’ (www.sastobook.com) र लैबरी डट कम (www.laibari.com) जुनसुकैमा गएर यसको अर्डर गर्ने हो भने पाठकले दिएको ठेगानामै पुस्तक उपलब्ध हुनेछ ।