झमक्क साँझ परिसकेको थियो। जूनको प्रकाशले धर्ती उज्यालिन लागेको। पानी पर्न थाल्यो।
छोरी छाता र पानीसँग खेल्न थालिन्।
छोरीको लुगा लगभग भिजिसकेको थियो। कोठाभित्र बोलाएँ, आउन मानिरहेकी थिइनन्।
मैले त्यही बेला आफ्नो मोबाइलबाट उनी रमाउँदै गरेका केही दृश्य कैद गरेँ। बच्चाहरूको त्यो रमाइलो अभिव्यक्ति– छाता, माटो, भुइँ र पानीमा परेको त्यो किरण।
पटक-पटक खिचिएका फोटा दोहोर्याइ-तेहेर्याइ हेर्दै गर्दा मनमा चसक्क चिसो पस्यो।
मैले यतिका वर्ष यही देशमा बिताएँ। तर मेरी छोरीका बारेमा भने म अलमलिएँ।
सायद मेरी छोरी पनि हाँस्दै खेल्दै गरेको यो गाउँठाउँ, देश माटो, आमाबुवाको यो न्यानो माया ममता, उनलाई मनपर्ने यस्ता थुप्रै कुरा छाडेर विदेशिने छिन्। जसरी कयौंका छोराछोरी सयौंका संख्यामा विदेशिएका छन्।
त्यहीँबाट मैले यो प्रतिस्थापन कलाबारे परिकल्पना गरे। नेपाल राष्ट्रिय कला प्रदर्शनीमा ‘मेमोरी अफ माई कन्ट्री’ शीर्षकमा प्रदर्शनरत यी फोटामा मैले विशेषगरी बच्चाका छाता र यहाँका खाल्डालाई प्रतीक रुपमा प्रस्तुत गरेको छु। यी छातामा भएका विभिन्न कार्टुनले बाल्यकालको स्मरण गराउँछ। त्यस्तै यहाँका खाल्डाखुल्डीले देशको अवस्था दर्शाउँछ।
सुरुमा म रातीको मात्रै फोटो खिच्न चाहन्थेँ किनकी खाली बाटामा यी फोटा खिच्न सजिलो हुन्थ्यो।
मध्यरातमा कतैकतै आफूलाई डर पनि लागिरहेको हुन्थ्यो। त्यो समयमा एकल–दुकल हिँडिरहेका मान्छे म देखेर भाग्थे पनि। कहिले भने प्रहरी बेलाबेला आएर ‘के गरेको?’ भनेर सोध्थे। त्यस्तो बेला आफूलाई थोरै सुरक्षित महशुस हुन्थ्यो।
सुरुमा यो विषयवस्तुलाई मैले फोटामा मात्रै देखाउन खोजेको थिएँ। तर खिच्ने क्रममा अनुभव र त्यसका प्रक्रिया पनि उत्तिकै महत्वपूर्ण ठानेँ।
यो म र मेरी छोरीको मात्रै कथा होइन। देशका थुप्रै मान्छेको कथा हो। हुर्कँदै जीवन व्यवहारिक हुने क्रममा आधारभूत आवश्यकताकै लागि विदेशिन बाध्य हजारौंको कथा हो।
यो आजको मात्रै समस्या होइन, वर्षौंदेखि चल्दै आएको समस्या हो। देशको हालत बुझ्न यी सडकका खाल्डाखुल्डी मात्रै हेरे पुग्छ। यसैले नै देखाउँछ देशको अवस्था र घृणित स्वार्थपूर्ण राजनीति।