राष्ट्रिय नाचघरको सभाकक्षको मञ्चमा विवाहमण्डप तयार गरिएको हुन्छ । ध्वजापताकासहित चिटिक्कको जग्गे निर्माण गरिएको छ । पञ्जेबाजा बजाउँदै दुलही लिन जन्ती आउँछन् । दुलही पक्षले जन्ती पर्सन्छ । विवाहमण्डपमा दुलहीलाई सिँगारेर ल्याइन्छ । दुलाहादुलही जग्गेमा बस्छन् । नौमती बाजाको आवाजले सभाकक्ष विवाहमय बन्छ । दुलही र दुलाहा पक्षबीच लोकगीतका माध्यमबाट सिलोक(श्लोक) जुहारी (दोहोरी) चल्छ ।
दुवै पक्षका मानिसहरु मनका कुरा सबै गीतबाटै अभिव्यक्त गर्छन् । नेपालमै पहिलो पटक राष्ट्रियस्तरमा भएको सिलोक जुहारी (सिलोकमा ठोकान) कार्यक्रमले वास्तविक विवाहको झल्को दिन्छ ।
लोपोन्मुख लोककविताको खोजी, संरक्षण र प्रचारका लागि नेपाल प्रज्ञा–प्रतिष्ठान, सांस्कृतिक संस्थान र लोकवार्ता परिषद्को संयुक्त आयोजनामा सिलोक जुहारी कार्यक्रम आयोजना गरिएको हो ।
विधि प्रक्रियानुसार पण्डितले विवाह अघि बढाउँछन् । विभिन्न समूहमा जुहारी चलिरहन्छ । गीतका माध्यमबाट एकार्काप्रति कटाक्ष चल्छ ।
धर्मसंस्कृतिका पक्षलाई समेत समावेश गरी कलाकारले शब्द बुन्छन् । विवाहसँग सम्बन्धित लोप हुन लागेको परम्परागत शैलीको सांस्कृतिक प्रस्तुतिबाट दर्शकले भरपूर मनोरञ्जन लिन्छन् ।
विभिन्न प्रस्तुतिमा दुःखसुख, धर्मसंस्कृति र राष्ट्रियताजस्ता सबै पक्ष समावेश भएका हुन्छन् । सिलोकेहरु देशका विभिन्न ठाउँका फरक फरक खालका लोक संस्कृति पस्कन्छन् । सिलोकसँगै सङ्गिनी, कूटपद्य, लोकपद्यमा अन्ताक्षरी र खाँडो जगाउने शैली प्रस्तुत गरिन्छ ।
कलाकारहरु अधिकांश ५० वर्ष उमेर पार गरेका हुन्छन् तर सबै निकै जोशिला र हँसिला । उनीहरु सिलोकमा थाक्दैनन् । सञ्चालकले समयलाई पाबन्दीलाई ध्यानमा राखी आफैँ रोक्नुपर्छ । विभिन्न प्रस्तुतिका रोचक र रमाइला टुक्कालाई दर्शकले तालीबाट समर्थन गरिरहन्छन् ।
अन्तिममा बिदाइ गीत गाएर जन्ती दुलही लिएर बिदा हुन्छन् ।
चार समूहमा भएको सिलोक जुहारीमा ताप्लेजुङका तुल्सीप्रसाद गिरी, झापाका टङ्कप्रसाद भट्टराई र थरेन्द्र बराल, तेह्रथुमका पदमप्रसाद निरौला, ओखलढुङ्गाका माधवप्रसाद दाहाल र डिल्लीप्रसाद दाहाल, भोजपुरका चण्डीप्रसाद नेपाल र सिन्धुपाल्चोकका राममणि आचार्यले प्रस्तुति दिएका थिए।
यस्तै कूटपद्यमा पाल्पाका लक्ष्मीचन्द्र पंगेनी र लक्ष्मीमाया तिवारी तथा स्याङ्जाका रुक्माङ्गत पाठक र नारायण पाठक सहभागी थिए ।
लोक अन्ताक्षरीमा नवलपरासीका ८६ वर्षीय नुमनाथ अधिकारी, सिन्धुपाल्चोकका विष्णुप्रसाद पौडेल र पाल्पाका कालाकारद्वय पंगेनी र तिवारी सामेल थिए । खाँडो जगाउने पूर्वको शैलीमा झापाका टङ्कप्रसाद र पश्चिमको शैलीमा नुवाकोटका बलबहादुर थापाले प्रस्तुति दिए । सङ्गिनीको प्रस्तुतिमा ताप्लेजुङका सविता बराल, राधिका मिश्र र ज्योति निरौला, काठमाडौँका उषा भट्ट र ललिता पन्त सहभागी बने।
कार्यक्रममा प्रा डा वासुदेव त्रिपाठीले तीन संस्थाको आयोजनामा भएको सिलोक जुहारी कार्यक्रमले दूरगामी प्रभाव छाड्ने बताए ।
'लोप हुन लागेको संस्कृतिले पुनर्जीवन पाउनेमा म आशावादी छु”, उहाँले भन्नुभयो, “आजको दिन चिरकालसम्म अङ्कित हुनेछ ।'
प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले सरकारको प्रतिनिधि संस्था प्रज्ञा –प्रतिष्ठान र सांस्कृतिक संस्थानले लोपोन्मुख संस्कृतिको संरक्षण सम्वद्र्धनमा ध्यान पुर्याउने बताए ।
'हामीले गर्ने यस प्रकारका कार्यहरुले कला, संस्कृति क्षेत्रमा सरकारका तर्फबाट बनेका नीति कार्यक्रमलाई सहयोग पुर्याउँछन्', उनले भने, 'सरकार कला, संस्कृतिको जर्गेना गर्न प्रतिबद्ध छ ।'
प्रज्ञा –प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले आधुनिकताका नाममा पुरानो संस्कृतिलाई बिर्सन खोजिएको छ भन्दै सिलोक जुहारीले पुराना स्मृतिलाई ताजा पार्ने काम गरेको बताए।
संस्थानका महाप्रबन्धक राजेश थापाले देशभरका कलाकारलाई एकै ठाउँमा जम्मा गराई सिलोक जुहारी कार्यक्रमको आयोजना गरिएको बताउँछन्।
'यो पहिलो पटक आयोजना गरिएको कार्यक्रम हो” उहाँले भन्नुभयो, “अब आयोजना गर्ने कार्यक्रम बृहत् हुन्छ।'
प्रज्ञा–प्रतिष्ठान साहित्य (लोकवार्ता) विभागका प्रमुख डा देवी नेपालले किताबमा पढ्ने गरेको सिलोकलाई अब विस्तारै सबैले देख्न पाउने बताए।
उनले नेपालमा ७० प्रकारका लोकसंस्कृति रहेको जानकारी दिँदै १० प्रतिशत संस्कृतिलाई पनि बाहिर ल्याउन नसकिएको धारणा राखे ।
'अब साँस्कृतिक समावेशीकरण गर्न जरुरी छ', उनले भने, 'हामी हाम्रा लोकसंस्कृति देखाएर बाँच्न सक्छौँ ।'
कार्यक्रमका संयोजक डा धुव्रप्रसाद भट्टराईले विसं १९५२ देखि नेपालमा सिलोक जुहारी संस्कृतिको शु रुआत भएको जानकारी दिए ।
'विवाहका विभिन्न चरणहरु हुन्छन्', उनले भने, 'सिलोक जुहारीमार्फत गरिने विवाहलाई विधिपूर्वक भएको मानिन्छ ।'
लोकवार्ता परिषद्का अध्यक्ष डा प्रेमकुमार खत्रीले नेपाली लोकसंस्कृति सङ्कटमा रहेको बताउँदै यसलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न चुनौती रहेको बताए ।
'नयाँ पुस्ताले पुरानो संस्कृतिलाई स्वीकार गर्न मानिरहेका छैन', उनले भने, 'युवाहरुमा विदेश मोह छ, संस्कृतिप्रति चासो र चिन्ता देखिँदैन ।'
सो अवसरमा कार्यक्रममा भाग लिएका कलाकारहरुलाई सम्मान गरिएको थियो ।
(राससका लागि अर्जुन भुसाल )