समालोचक सुकुम शर्माले साहित्यकार घनश्याम ढकालबारे तयार पारेको पुस्तक ‘परिचयका सन्दर्भमा घनश्याम ढकाल’ प्रकाशित भएको छ। शर्माद्वारा लेखिएको समीक्षा कृति शुक्रबार काठमाडौंमा विमोचन भयो।
पुस्तक विमोचन तथा परिचर्चा कार्यक्रममा बोल्दै प्रा.डा. ताराकान्त पाण्डेयले घनश्याम ढकाल माक्र्सवादी समालोचना र भौतिकवादी चिन्तनका क्षेत्रमा प्रतिबद्ध र प्रस्ट लेखक भएको बताए। पाण्डेयले समानान्तर साहित्यिक धाराका कृतिहरूको समालोचना गर्ने क्रममा पनि ढकालले महत्वपूर्ण योगदान दिएको स्मरण गरे। सरुभक्तरचित ‘पागल बस्ती’ उपन्यासबारे प्रगतिवादी धाराबाट ढकालले नै सशक्त आलोचना पेश गरेको पाण्डेयले बताए।
समालोचक निनु चापागाईंले भने, ‘हाम्रो सांस्कृतिक आन्दोलनमा सबैभन्दा डरलाग्दो गरी वैचारिक विचलन देखिएको छ। यो विचलनको क्रम अझै बढ्दै जाने संकेतहरू देखिएका छन्। यस्तो बेलामा आन्दोलनलाई घनश्याम ढकालजस्ता निर्भीक आलोचकहरूको खाँचो छ।’
पुस्तक चर्चा कार्यक्रममा लेखक वन्दना ढकालले घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानका वैचारिक कार्यहरूकै शृंखलामा शर्माको पुस्तक प्रकाशित भएको जानकारी दिइन्। प्रतिष्ठानले यसअघि कथाप्रधान त्रैमासिक पत्रिका ‘कथालय’ प्रकाशित गरेको छ। अघिल्लो वर्ष झण्डै एक सय जनाको रचनासहित ‘घनश्याम ढकाल स्मृति ग्रन्थ’ प्रकाशित गरेको प्रतिष्ठानले छिटै वैचारिक जर्नल प्रकाशनको तयारी गरेको प्रतिष्ठानका अध्यक्षसमेत रहेका चापागाईंले बताए।
कार्यक्रममा समालोचक शर्माले घनश्याम ढकालसँगको आफ्नो संगत, सहकार्यका उतारचढाव स्मरण गर्दै पुस्तक लेख्दाको सन्दर्भ सुनाए।
प्रगतिशील लेखक संघ र अखिल नेपाल लेखक संघका तत्कालीन अध्यक्ष ढकालको २०६८ फागुन १ मा निधन भएको थियो। ढकालको स्मृतिमा २०६९ सालमा प्रतिष्ठान स्थापना भएको हो।