शनिबार पोखरामा पुछारसिटे अभियानद्वारा आयोजित कार्यक्रममा तर्कना शर्माद्वारा लिखित उपन्यास 'जेब्राक्रस'माथि परिचर्चा भएको छ।
उपन्यासले नेपाली समाजले उपेक्षा गरेको वर्ग (तेस्रो लिङ्गी) का पीडा उठान गरी सो विषयलाई समाजमा स्थापित गराउने काम गरेको साहित्यकार भुवनहरि सिग्देलले बताए।
'समाजले खास महत्त्व नदिएको विषयलाई उपन्यासमा समेटेर शर्माले यस विषयमा नबुझेका पाठकलाई समेत स्पष्ट हुने गरी प्रस्तुत गर्नुभएको छ,' उनले भने। साथै नेपाली समाजलाई प्राकृतिक न्यायको सिद्धान्तमा रही तेस्रो लिङ्गीप्रति गम्भीर बनी सम्मानजनक व्यवहार गर्न उपन्यासले सचेततापूर्वक आग्रह गरेको उनले बताए।
सामाजिक एवम् कानुनी दुवै क्षेत्रबाट तेस्रो लिङ्गीप्रति हुने दुर्व्यवहार र गलत धारणा अन्त्य गर्ने कार्यमा सिङ्गो समाज एक भएर लाग्नुपर्ने विचार पुस्तकमा मूल विचारका रूपमा प्रक्षेपित भएको धारणा सिग्देलले राखे। तेस्रो लिङ्गीलाई सुरक्षित अवतरण गर्न माग गर्दै उपन्यासको नामकरण नै ‘जेब्राक्रस’ राखिएको हुन सक्ने सङ्केत उनले गरे।
कार्यक्रममा बोल्दै तेस्रो लिङ्गी एवम् समलैङ्गिकताका विषयका अध्येता रमेश पन्तले समलिङ्गी र तेस्रो लिङ्गी बन्नु पूर्णतः प्राकृतिक प्रक्रिया भएको बताउँदै यसलाई अप्राकृतिक रूपमा लिनु आफैँमा त्रुटिपूर्ण रहेको बताए।
'आमाको गर्भमा रहँदा नै बच्चाको शारीरिक विकास प्रक्रियामा आउने हार्मोनको गडबडीलाई व्यक्तिको मानसिकतासँग जोडेर हेर्न हुँदैन,' उनले भने,'जेब्राक्रस उपन्यासमा समाजको सोच्ने गलत संस्कारका कारण तेस्रो लिङ्गीहरूले व्यहोर्नु पर्ने कठिनाइको शल्यक्रिया गरिएको छ।'
प्राकृतिक रूपमै तेस्रो लिङ्गीहरू महिला र पुरुषभन्दा फरक रहेकाले उनीहरूको फरक अस्तित्वलाई स्वीकार्ने दिशामा समाज अगाडि बढ्नुपर्ने बताउँदै पन्तले तेस्रो लिङ्गीले महिला तथा पुरुषलाई जीवनसाथीका रूपमा स्वीकारेर अगाडि बढ्दा जीवनमा आउने अप्ठ्याराहरूको मिहिन चित्र उपन्यासमा प्रस्तुत गर्न लेखक सफल रहेको उल्लेख गरे।
उपन्यासकार तर्कना शर्माले आफूले समाजमा तेस्रो लिङ्गीहरूले भोग्नु परेका पीडाको बारेमा सुन्दै आएको र केही साथीहरूमार्फत यस क्षेत्रका समस्याका बारेमा जानकारी पाएपछि यसमा थप अध्ययन गरेर उपन्यास तयार गरेको बताइन्।
यस विषयमा जानकारी र तथ्य बटुल्न आफू काठमाडौं, पोखरा, भैरहवा लगायत केही ग्रामीण क्षेत्रमा समेत पुगेको उल्लेख गर्दै उनले उपन्यासमा तेस्रो लिङ्गीका अधिकारका बारेमा दह्रो आवाज उठाउने कोशिश गरेको बताइन्।
'नेपाल सरकारले तेस्रो लिङ्गीका बारेमा विद्यालय तहको पाठ्यक्रममा नै विषय समावेश गरी उनीहरूप्रति समाजमा रहेको नकारात्मक धारणा हटाउन आवश्यक छ,' उनले भनिन्।
कार्यक्रममा तेस्रो लिङ्गी विन्दिया गौतमले समाजमा तेस्रो लिङ्गीहरूले निकै कठिनाइ भोग्नु परेको बताउँदै साहित्य, कला, नाटक र सङ्गीतका माध्यमबाट यस वर्गका सम्बन्धमा समाजमा रहेका गलत धारणा हटाएर सकारात्मक सोच विकास गर्न निकै टेवा पुग्ने बताइन्।
'पछिल्लो समयमा साहित्य र कलाको क्षेत्रले हाम्रो वर्गप्रति न्याय गरेको छ,' उनले भनिन्, 'सबैको यस्तै सहयोगले प्राकृतिक विषयका रूपमा यसलाई स्थापित गरिनुपर्छ।'
नेपालमा पहिलोपटक तेस्रो लिङ्गीको पहिचानसहित नागरिकता प्राप्त गरेकी विन्दियाले आफ्नो वर्गले नेपाली समाजिक सांस्कारिक, कानुनी र मनोवैज्ञानिक आदि थुप्रै समस्या भोग्नुपरेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि सबैको साथ र सहयोगको आवश्यकता रहेको समेत औँल्याइन्।
समाजमा यस विषयमा यस्ता लेखन हुनु र यस प्रकारका कार्यक्रम गरिनु सकारात्मक रहेको र यसले आफूहरूमा आशा जगाएको उल्लेख गर्दै उनले यसको निरन्तरतामा साहित्यकार र कलाकारहरू निरन्तर लागेर सहयोग गर्न आग्रह गरिन्।
पुछारसिटे अभियानका अभियन्ता वसन्त विनोदले सञ्चालन गरेको कार्यक्रममा संस्थाका संयोजक सञ्जीव पौडेल, साहित्यकार सुरज उपाध्याय लगायतले आफ्ना धारणा प्रस्तुत गरेका थिए।
लेखक परिचय प्रस्तुत गर्दै तर्कना शर्मालाई विद्यालय तहमा अध्यापन गराएकी शिक्षिका भगवती रेग्मीले तर्कनाको सानैदेखिको साहित्य एवम् सामाजिक चेतको प्रशंसा गरिन्