इण्डोनेशियाको पर्यटकीय नगरी बालीमा गत हप्ता ‘अन्तर्राष्ट्रिय जलरङ महोत्सव’ मा नेपाली कलाकारले उपस्थिति देखाए। ४० देशका कलाकारसामु नेपाली कलाकारले नेपाली कला र संस्कृति चिनाउने अवसर पाएका हुन्।
यो महोत्सव 'नेपाल पर्यटन वर्ष २०२०' का लागि पनि महत्वपूर्ण भएको अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबी गुरुङले बताए।
‘महोत्सवमा एक त हामीले कलामार्फत नेपाली संस्कृतिलाई चिनाउने प्रयास गर्यौं, अर्को नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा नेपालको पर्यटन प्रवर्द्धनका लागि पनि भरपुर उपयोग गर्यौं,’ उनले भने।
सहर सिँगार्न कलाको कति महत्व हुन्छ भन्ने कुरा इण्डोनेशियाको बालीले प्रष्ट्याउँछ। बाली खुला संग्रहालयझैं भएको गुरुङ बताउँछन्।
‘बाली जिउँदो कलाको अनुपम उदाहरण हो,’ उनले भने।
गुरुङसँगै नेपालबाट दिपेन्द्रमान बनेपाली, केशवराज खनाल, भीम श्रेष्ठ, डिबी राई, विपना महर्जन, विनोदकुमार गुप्ता, बाबु साइला, सुदीप आले, कान्छाकाजी भाषीमा र सपना शाह सहभागी भएका थिए। उनीहरुले नेपालका ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा जनजीवन झल्काउने चित्र प्रदर्शनमा राखेका थिए।
विश्वका कलाकारबीच नेपालीको पहिचान स्थापित गराउने प्रयास गरेको बताउँदै कलाकार डिबी राईले स्थलगतरुपमै नेपाली चित्र बनाएर प्रदर्शनसमेत गरेको उल्लेख गरे।
सही सोच र व्यवस्थापन भए नेपालका पनि कोहीभन्दा कम नहुने कलाकारहरुले आत्मसात गरेका छन्। आफ्नो संस्कृति विश्वसामु चिनाइरहँदा अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि सिक्नुपर्ने आवश्यकता उनीहरुले औंल्याए।
मुस्ताङ, ‘झारकोट’ को एक दृश्यलाई कलाकार एनबी गुरुङले क्यान्भासमा उतारेका थिए। त्यो चित्रलाई फिलिपिनी कला पारखी सिसिल स्प्रितुले झण्डै नेपाली रुपैयाँ २४ हजारमा किने। त्यस्तै कलाकार राईले उतारेको काठमाडौंस्थित असनको इन्द्रचोकलाई सिहान फर्निडेले करिब ४२ हजार रुपैयाँमा किने।
कलाकारको टोलीले बालीस्थित ऐतिहासिक धरोहर, मठमन्दिर तथा मनोरम स्थानलाई आफ्नो क्यानभासमा बनाएर समेत ल्याएका छन्।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यका अनुसार विभिन्न देशमा नेपाली कलाकारले चित्र बनाउँदा र विदेशी कलाकार नेपालमा आएर काम गर्दा आपसमा संस्कृतिको आदान–प्रदानसँगै कला पर्यटन विकासमा टेवा पुग्ने र आपसी सम्बन्ध थप मजबुत हुने बताउँछन्।