गीतकार एवम् संगीतकार हरि विष्टले नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर नयाँ गीत सार्वजनिक गरेका छन्। उनले आफ्नो १३ औं कोसेलीका रुपमा ‘माइतीको देश भाग–२’ बजारमा ल्याएका हुन्।
विगत सात वर्षदेखि तीज गीत प्रतियोगितामा सर्वोत्कृट हुँदै आएका विष्टले यो वर्षको गीत पनि पनि लय, शब्द, संगीत र भिडियोमा उत्कृष्ट देखिएको प्रतिक्रिया आइरहेको बताए।
माइती घरैमा दिल मेरो बस्यो
बसेन दिल मेरो कर्म घरैमा
जान्न भन्दा बिहेगरी अन्मायौं
पराई घर दिनलाई किन जन्मयौं
पितृ सतात्मक समाजमा छोरीले भोग्नु परेका पीडा, मन नहुँदा नहुँदै पराई घर जानुपर्ने बाध्यतालगायतका विषयलाई यो वर्षको तीज गीतमा समावेश गरिएको विष्टले बताए। ‘छोरीले घरदेखि समाजमम्म भोग्नुपरेका दुःख र पीडालाई गीतमा समावेश गरेको छु,’ संगीतकार तथा गीतकार विष्टले भने, ‘विगतका वर्षहरुको भन्दा अझ राम्रा शब्दहरु यो वर्षको तीज गीतमा समावेश गरेको छु।’
गीतमा सुर्खेतकी चेली टीका पुनको स्वर छ। गायिका पुनले आफ्ना लागि यो वर्षकै उत्कृष्टमध्येको एक तीज गीत ‘माइतीको देश भाग–२’ रहेको बताइन्। ‘गीतका शब्दमा आम महिलाहरुले भोगिरहेका पीडा र दुःखहरु समावेश छन्,’ उनले भनिन्, ‘शब्द उत्कृष्ट रहेकाले गीत राम्रो बनेको छ।’
गीत, संगीत र स्वरसंगै यसको म्युजिक भिडियो पनि उत्कृष्ट बनेको उनले बताइन्। भिडियोमा अभिनेता नीर शाहले अभिनय गरेका छन्। उनीसँगै रमा थपलिया, प्रकाश गिरी र ममता खड्काको अभिनय छ। गीतमा रुविना अधिकारी र नयाँ प्रस्तुतिका रुपमा रुपा सारुले नृत्य गरेका छन्।