पछिल्लो समय चर्चामा रहेका युवा गायक सुशान्त केसीको 'तिम्रो फोनको नम्बर देऊ मलाई आज' गीतकाे अनप्लग्ड भर्सन सार्वजनिक भएको छ। कृपा अनप्लग्डको तेस्रो सिजनको दोस्रो प्रस्तुतिका रुपमा गीतको भिडियो मंगलबार सार्वजनिक गरिएको हो।
कृपा अनप्लग्डको तेस्रो सिजनमा नयाँ पुराना पुस्ताका गरी जम्मा १३ वटा गीत समेटिने छन्। महिनाको पहिलो र तेस्रो साता गरी आगामी छ महिनासम्म तेस्रो सिजनका भिडियोहरू कृपा दृश्य डिजिटलको अफिसियल च्यानलबाट क्रमशः अपलोड गरिने अनप्लग्डका सिइओ आशिष स्याङ्ग्देनले सेतोपाटीलाई बताए।
रोमान्टिक शैलीका तिम्रो फोनको नम्बरलाई युवा पुस्ताले रुचाउने आयोजक टिमको अपेक्षा छ। सुशान्तको 'साथी' बोलको गीत निकै चर्चित छ। दुई हप्ताअघि कृपाको तेस्रो सिजनको पहिलो गीतका रुपमा शिव परियारको 'संगी' सार्वजनिक भएको थियो।