जापानी कलाकारहरुको समूहका साथमा थिएटर मल कीर्तिपुर रंगमञ्चमा पपेट थिएटरको कार्यशाला सुरु भएको छ। कीर्तिपुर राराहिलस्थित थिएटर मलमा ११ दिनसम्म सञ्चालन हुने ८० घण्टाको कार्यशाला दसैं लगत्तै सुरु भएको हो।
जापानको उटरभिजन पर्फमेन्स कम्पनीसँगको सहकार्यमा थिएटर मलले थिएटर सेन्टर फर चिल्ड्रेन नेपाल, राराहिल मेमोरियल स्कूल र आसितेज नेपालको साथमा कार्यशाला आयोजना गरेको हो। कार्यशालामा १५ नेपाली रंगकर्मी र १० स्कूले बालबालिका सहभागी छन्।
जापानका पपेट थिएटरका अनुभवी पपेटियर तथा निर्देशक इरिना सजीले यस कार्यशालाको नेतृत्व गरेकी छिन्। उनी उटरभिजन पर्फमेन्स कम्पनी जापानकी कला निर्देशक समेत हुन्। उनको जापानी समूहका एरी तोमोई, इजावा रेई र मियामोतोले कार्यशाला सञ्चालनमा सहयोग गरिरहेका छन्।
विशेषगरी, बालबालिकाको लागि युरोपमा निकै प्रचलित पपेट थिएटर एसियाका धेरै मुलुकमा पनि उत्तिकै प्रचलित छ। एसियाली केही मुलुकको मौलिक पपेट हुनुका साथै विशेष रुपमा पपेट थिएटर गरिदै आएको पनि छ। यसै सन्दर्भमा एसियाली पपेटलाई फैलाउने क्रममा इरिना सजीको जानी समूह नेपाल आएका हुन्।
नेपालमा पपेट थिएटरको खास प्रचलन नभएको थाहा पाएर नेपालमा कार्यशालाका लागि सहकार्य गरिएको जापानी निर्देशक इरिना सजीले बताइन्। उनी भन्छिन्, ‘एसियामा पनि पपेट थिएटरको लामो इतिहास छ। यहाँ पनि आफ्नै खाले पपेट प्रस्तुतिहरु हुने गरेका छन्। कुनै साँस्कृतिक रुपमा त कुनै थिएटरका रुपमा प्रचलित छन्।’
कार्यशालामा पपेट थिएटरको इतिहास, विभिन्न देशमा प्रचलित पपेट थिएटर तथा पपेट थिएटरको समुदायसँगको सम्बन्धबारे छलफल गर्दै पपेट निर्माण, पपेटको सुव्यवस्थित सञ्चालन, कथावाचन र पपेट थिएटर प्रस्तुति निर्माणमा सहभागीले अभ्यास गर्नेछन्।
दसैं र तिहारको बीचमा काठमाडौंका नाटकघरहरु लगभग विदामा हुने समयमा यो पटक थिएटर मलमा कार्यशाला राखिएको थिएटर मलका कला निर्देशक केदार श्रेष्ठले बताए। उनले भने, ‘नेपालमा पपेट थिएटरको खास प्रचलन छैन, हामीले थिएटरको एउटा विधा पपेटलाई थिएटरमा ल्याउने प्रयास गरेका हौं।’
सहभागीहरुले कार्यशालाको अन्तिम दिन पपेट थिएटर शो गर्नेछन्। त्यसको लागि अहिले समूहमा कथा छनौटको प्रक्रिया पनि भइरहेको छ। सहभागी बालबालिका र रंगकर्मीले छुट्टाछुट्टै पपेट प्रस्तुति दिनेछन्। कार्यशालको फाइनल शो कात्तिक ७ गते दिउँसो ३ बजे थिएटर मल कीर्तिपुर रंगमञ्चमा हुनेछ।