नेपालयकाे मासिक सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा अक्टाेबरमा आँखा विशेषज्ञ डाक्टर सुमन थापाले गीत सुनाउने भएका छन्। नब्बेको दशकमा ‘बाइपास’ सगीत समूहमा संलग्न सुमन हाल ‘ब्ल्यू फ्रेट’ समूहमा सक्रिय छन्।
प्राय अंग्रेजी भाषामा गीत, लेख्ने र गाउने सुमनले पलेँटी भने नेपाली गीत मात्रै गाउनेछन्। यस पटककाे पलेँटीका निम्ति धेरै गीत कवि श्रवण मुकारुङले लेखेका छन्। ती गीतमा डाक्टर सुमनको पेशा सुहाउँदो, आँखा र तिनले निहार्ने दृश्य सम्बन्धित विषय समेटिएको छ। सुमनका लागि तयार पारिएका सबै गीतहरूमा संगीतकार आभासले धुन भरेका छन्।
तिलगंगा आँखा अस्पतालसँग आवद्ध थापा काठमाडाैंका बासिन्दा हुन्। उनले ‘एक एक पाइला’ अभियानमार्फत स्वास्थ्य शिविरहरुमा सहभागी भई देशका विभिन्न जिल्ला भ्रमण गरेका छन्। उनले हालसम्म मोतिविन्दू र जलविन्दूका ५० हजारभन्दा धेरै सल्यक्रिया गरिसकेका छन्। शिविर यात्राका क्रममा डाक्टर सुमनले अनेकौं अनुभव र अनुभूति संगालेका छन्। पलेँटीमा गीत सुनाउने क्रममा सुमनले आफ्ना तिनै अनुभव र अनुभूतिसमेत बाँड्ने छन्।
नेपालयको आरशालामा अभ्यासरत सुमन भन्छन्, ‘पलेँटीमा गाउने कुराले म एकदमै उत्साहित छु। श्रवणजीले लेखेका गीत र आभासजीकाे संगीतले रमाइलो नसा लगाएकाे छ। यो क्षण मेरो सांगीतिक मोडमा अचानक भेटिएको सुन्दर बगैँचा हो।'
‘श्रवणजीको गीति लेखनको सरलताको सौन्दर्यलाई सुमनजीको स्वरमा प्रस्तुत गर्न पाउँदा खुशी लागेको छ।' संगीतकार आभासले भने ।
पलेँटीमा डाक्टर सुमनलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, गिटारमा सुरज प्रधान र पर्कुनमा सुन्दरकुमार महर्जनले साथ दिनेछन्। अक्टोबर महिनाको २५ र २६ तारिखमा हुने पलेँटी कालिकास्थानस्थित नेपालयको कार्यक्रमस्थल ‘आरशाला’मा प्रस्तुत हुनेछ।