तेस्रो नेपालभाषा साहित्य महोत्सव सुरू भएको छ। नेपालभाषा साहित्यलाई सक्रियसँगै समृद्ध बनाउन नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा शुक्रबारदेखि साहित्यिक महोत्सव सुरू भएको छ।
शनिबारसम्म चल्ने दुई दिने महोत्सवको उद्देश्य नेपालभाषा साहित्यलाई दयनीय अवस्थाबाट उकास्ने रहेको छ। नेपालभाषा टाइम्सले तीन वर्षयता महोत्सव आयोजना गर्दै आएको हो।
महोत्सवको पहिलो दिन विभिन्न विधाका ७ पुस्तक विमोचन भए। यसमा उपन्यासकार मथुरा सायमीको आत्मकथा, भूषणप्रसाद श्रेष्ठको गजल संग्रह, राजेन्द्रकुमार पुताको गजल समालोचना र कविता, राज सायमीको जासुस उपन्यास, उद्धम मास्केको नियात्रा र बासुदेव अधिकारीको अनुवादित कविता संग्रह विमोचित भए।
त्योसँगै, रञ्जना लिपिको पुनरुत्थानबारे अन्तरक्रिया, साहित्यिक रचना पाठ र सांगितिक र हास्यव्यंग्यपूर्ण प्रहसन प्रस्तुत भए। महोत्सवमा पुस्तक प्रदर्शनीसँगै खाना महोत्सव र रञ्जना लिपिको क्यालिजात्रा पनि चलिरहेको छ।
दोस्रो दिन मथुरा सायमिको साहित्यिक यात्राबारे चर्चा र नेपाल भाषाको चलचित्रबारे अन्तरक्रिया पनि गरिने आयोजकले जनाएको छ। रचना पाठ र सांगीतिक कार्यक्रम पनि हुनेछ।