नेपालयको सांगीतिक कार्यक्रम 'पलेँटी शृंङ्खला'का कार्यक्रम अबदेखि युट्युबमा पनि हेर्न पाइने भएको छ। सन् २००५ देखि संचालन हुँदै आएको नेपालयको 'आर'शालामा प्रस्तुत कार्यक्रमको प्रत्यक्ष प्रस्तुतिहरु युट्युबमा हेर्न पाइने भएको हो।
यसअघि पनि 'पलेँटी नेपालय'को युट्यूब च्यानलमा पलेँटीमा गाइएका केही गीतहरू उपलब्ध थिए। अब भने पलेँटीको पुरै शृङ्खला 'पलेँटी नेपालय' च्यानलमा गएर हेर्न र सुन्न सकिनेछ।
सन् २०१९ देखिका पलेँटी शृङ्खलालाई क्रमशः अपलोड गरिने नेपालयले जानकारी गराएको छ। 'आर'शालामा प्रस्तुत भएको कार्यक्रमको रेकर्डिङ हेर्दा प्रत्यक्ष कार्यक्रम हेरैकै महसुस गर्न सकिने आयोजक संस्था नेपालयका किरण कृष्ण श्रेष्ठले बताए।
कार्यक्रम संयोजक आभासले भने, 'नेपाली आधुनिक संगीतको अभिलेख राख्ने उद्देश्यले रेकर्ड गरिएका भिडियो हेरेर संगीतप्रेमीहरूले कार्यक्रमको प्रस्तुति पक्षलाई पनि अनुभूत गर्न पाउने छन्।'
'पलेँटी शृङ्खला' कार्यक्रम आरम्भ हुने दिन शुक्रबार नै रोजेर आज गत मार्चमा प्रस्तुत भएको पलेँटी पहिलो शृङ्खलाको प्रस्तुति अपलोड गरिएको छ। यसमा गायिका मीना निरौलाले नेपाली आधुनिक संगीतका प्रतिनिधि महिला गायिकाका रचनालाई आफ्नो स्वरमा समेटेकी छिन्। आगामी ४ हप्तासम्म नेपाली संगीतमा महिला गायिकाहरूको चर्चा रहेका शृङ्खलाहरू क्रमशः अपलोड हुने नेपालयले जनाएको छ।
नेपालयले आज सार्वजनिक गरेको भिडियो तल दिइएको लिंकमा हेर्न सकिनेछ-