दर्शकले भरिएको तासमान हलभित्र ‘रातो र चन्द्रसूर्जे’ गीतको आवाज घन्किरहेको बेला हलबाहिर आकाशमा पनि अष्ट्रेलियाको झण्डासँगै नेपालको विशाल झण्डा फर्फराइरहेको थियो।
नेपालभन्दा धेरै परको अष्ट्रेलिया, अनि अष्ट्रेलियाको मूल भूमिभन्दा अझ पर समुद्रको यो टापु राज्य तासमानिया। इतबार बेलुकी होबार्टको कार्यक्रमस्थलमा आइपुगेका प्रायः दर्शकहरु हलभित्र पस्नुअघि धमाधम नेपाली झण्डा सामुन्ने ‘सेल्फी’ खिच्दै रमाइरहेका देखिन्थे।
अढाइ लाख जनसंख्या पनि नभएको अष्ट्रेलियाकै यो सबैभन्दा शान्त प्रादेशिक राजधानीमा पछिल्लो समय विस्तारै नेपाली संख्या पनि बढ्न थालेको छ। तासमान हल रहेकै रेस्टप्वाइन्ट होटलमा केहिदिन अघि मात्र नेपथ्य टोली आइपुगेको थियो। टोली आइपुग्नेबित्तिकै नेपालीहरुको सम्मानमा प्रवेश विन्दुमै रहेको आफ्नो राष्ट्रिय झण्डाको छेवैमा उत्रै आकारको नेपाली झण्डा फहराइदिएको थियो।
निर्धारित समयमै बेलुकी ठीक सात बजे ‘सा कर्णाली’ गीतको म्यूजिक भिडियो पर्दामा बग्न थालेको थियो। त्यसपछि कवि तुलसी ‘दिवस’को रचनामा ब्याण्डले हालसालै तयार पारेका नयाँ गीत ‘सम्झिराख’को भिडियो देखाइयो। कन्सर्ट अवधिभर नेपथ्यले आफ्नो होबार्टको पहिलो कार्यक्रमका श्रोताहरुलाई पुराना र नयाँ गीतहरुको संगालो सुनाएको थियो ।
‘नेपथ्यले तासमानियामा बसोबास गर्दैआएका हामीमाझ एकसाथ पर्वको माहोल र नेपालीपनको गौरवबोध बोकेर ल्याइदिएको छ,’ रोजिना ताम्राकार भनिरहेकी थिइन्, ‘कन्सर्टसँगै यसरी जमघट हुने विरलै मौका जुराइदिएकामा धन्यवाद पनि दिन चाहन्छौं।’
तीन वर्षअघि गरिएको जनगणनापछि ‘अष्ट्रेलियन ब्यूरो अफ स्टाटिस्टिक्स’ले तासमानिया राज्यमा अंग्रेजी र चिनियाँपछि सबैभन्दा बढी बोलिने भाषा नेपाली भनेर उल्लेख गरेको थियो। यसरी उल्लेख्य संख्यामा बसोबास गर्दैआएका नेपालीमाझ पछिल्लो समय नेपाली भाषी भुटानी शरणार्थीलाई समेत यता पुनर्स्थापना गराएपछि यस्तो तथ्यांक निस्केको बताइन्छ।
तासमानियामा वर्षेनी संगीत र कलाको वृहद् ‘डार्क मोफो फेस्टिबल’ आयोजना हुनेगरेको छ। पछिल्लो पटक त्यस महोत्सवमा आफूहरुले नेपथ्यकै गीत गाएर सुनाएको त्यहाँ बसोबास गर्दै आएका जयराज र सन्देशले दिए।
‘जसको गीत गाएर यहाँका दर्शकलाई सुनाउनुमा हामी रमाउँथ्यौं, त्यही ब्याण्डलाई यहाँ पाउँदा कम्ती खुशी लागिरहेको छैन,’ जयराज भनिरहेका थिए, ‘यो सपना साकार भएजस्तै क्षण हो।’ होबार्टमै क्रियाशील उनीहरुको ब्याण्डमा जयराज गाउने गर्छन् भने सन्देश गितार बजाउँछन्।
हाल अष्ट्रेलिया यात्रामा रहेको नेपथ्यको तासमानिया कन्सर्ट श्रृंखलाको चौथो प्रस्तुति थियो। यसअघि ब्रिसबेन, डार्बिन र एडिलेडमा सफलताका साथ कन्सर्ट सम्पन्न भइसकेका छन्।
तासमानियापछि नेपथ्य अब उसका सबैभन्दा धेरै प्रशंसकहरुले भरिएको सहर सिड्नी पुग्नेछ। अष्ट्रेलियाकै पहिलो राज्य न्यूसाउथ वेल्सको राजधानी एवं आर्थिक केन्द्र सिड्नीमा ब्याण्डले डिसेम्बर १४ मा प्रस्तुति दिनेछ।
यस वर्षको नेपथ्य अष्ट्रेलिया श्रृंखलाको अन्त्य मेलबर्नको क्राउन स्थित ‘द पाम्स’ मा पुगेर हुनेछ। नेपथ्यको यस वर्षको यात्रा संयोजन सिड्नीस्थित ‘नेपाली टच’ले गर्दैआएको छ भने तासमानियामा चाहिँ ‘तास इभेन्ट’ले आयोजना गरेको थियो।
नेपथ्यका मुख्य गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए।