युवा निर्देशक अभिमन्यू दीक्षितले 'फ्रिडम फिल्ममेकर रिकग्निसन' पुरस्कार पाएका छन्। डकस्कुलद्वारा हालैसम्पन्न क्लिनिक डट काठमाडौं डकुमेन्ट्री ल्याबमा उनलाई यो पुरस्कारबाट सम्मानित गरिएको हो। नेपाली फिल्म क्षेत्रमा युवा निर्देशककको योगदानको कदर गर्ने अभ्यास बसाउन यसै वर्षदेखि युवा फिल्मकर्मीलाई सो पुरस्कार दिइएको आयोजक संस्थाले जनाएको छ। फ्रिडम फिल्ममेकर पुरस्कार डकस्कुलको आइकन फ्रिडम फिल्ममेकरमा आधारित छ।
डक्स्कुलद्वारा आयोजित क्लिनिक डट काठमाडौंको छैठौं संस्करण ३ देखि ८ डिसेम्बरसम्म काठमाडौंमा भएको थियो। कार्यशालामा दीक्षितको 'प्रोजेक्ट एफ्फ स्ट्यान्डर्डस' सामेल थियो। पुरस्कारस्वरूप डकस्कुलले 'एफ्फ स्ट्यान्डर्डस' प्रोजेक्ट विकासका लागि कुनै पनि महोत्सव वा फिल्म बजारमा लैजान लाग्ने यातायात खर्च बेहोर्नेछ।
कार्यशालामा नेपाल, म्यानमार, अफगानिस्तानलगायत दक्षिण एसियाका नौ देशका १० वृत्तचित्र प्रोजेक्ट तथा ६ जना सल्लाहकार सामेल थिए। क्लिनिक डट काठमाडौं नेपाली तथा दक्षिण एसियाली निर्देशकहरुका लागि सन् २०१४ देखि सुरु भएको 'प्रोजेक्ट डेभलपमेन्ट' कार्यक्रम हो। हालसम्म क्लिनिक काठमाडौंको यो प्रोजेक्टबाट ३० भन्दा बढी फिल्मकर्मीले आफ्नो फिल्मको अवधारणा परिमार्जन गर्दै अन्तिम रुप दिन सफल भइसकेका छन्।
कार्यशालामा सहभागीहरु
कार्यशालामा दीक्षितबाहेक नेपाली युवा फिल्मकर्मी सचिन घिमिरे र अस्मिता श्रीसको फिल्म प्रोजेक्ट पनि समावेश थिए।
यो कार्यक्रम डकस्कुलले २०१४ देखि आयोजना गर्दै आएको क्लिनिक काठमाडौंअन्तर्गत सम्पन्न भएको हो। अगस्टबाट सुरु भएको कार्यक्रम एक हफ्ते कार्यशालामा आएर समापन भएको थियो। कार्यशालामा विदेशी निर्देशक, अन्तर्राष्ट्रिय महोत्सव आयोजकहरु सहभागी थिए।