आगामी फागुन १७ गते काठमाडौंको भृकुटी मण्डपमा लोकप्रिय ब्यान्ड नेपथ्यले ‘शिक्षाको लागि संगीत’ नाम दिइएको कन्सर्ट गर्ने भएको छ। यो कन्सर्टमा सहभागीहरु संगीत सुनेर रमाइलो मात्र गर्ने छैनन्, भूकम्पपछि निर्माणाधीन अवस्थामा रहेको दोलखाको एउटा सरकारी स्कुल पुनर्निर्माणको हिस्सा पनि बन्नेछन्।
‘हेल्प नेपाल नेटवर्क’सँग मिलेर गर्न लागिएको कन्सर्टबाट उठेको रकम भिमेश्वर नगरपालिका–२ स्थित राजकुलेश्वर निम्न माध्यमिक विद्यालयको भवन निर्माणमा उपयोग गरिनेछ।
२०७२ सालको विनाशकारी भुइँचालाेका बेला नेपथ्य ब्याण्डले प्रधानमन्त्री राहतकोषमा दुईपटक गरेर सोझै दस लाख रुपैयाँ र विदेशका केही कन्सर्टहरुबाट उठेको रकमसमेत गरी झण्डै चालिस लाख रुपैयाँ सहयोग गरेको थियो। यो कन्सर्ट त्यसैको निरन्तरता भएको व्यान्ड व्यवस्थापक किरणकृष्ण श्रेष्ठले जानकारी दिए।
ब्याण्डले भुकम्पलगत्तै अष्ट्रेलियाको मेलबर्न, जापानको टोकियो र संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजित कन्सर्टबाट उठेको रकमलाई भूकम्प पीडितहरुकै सहयोगका लागि समर्पित गरेको थियो।
‘संगीतले जगतलाई आत्मा, सोचाइलाई पखेटा, कल्पनाहरुलाई उडान र प्रत्येक कुरालाई जीवन्तता प्रदान गर्छ भन्ने भनाइ नै छ,’ हेल्प नेपाल नेटवर्कका निर्देशक रोशेन्द्रध्वज खड्का भन्छन्, ‘हामीसँगको सहकार्यमा नेपथ्यको आगामी कन्सर्टले केटाकेटीहरुको सपनालाई पखेटा, ती साना आत्माहरुलाई आशा र दोलखालाई जीवन्तता प्रदान गर्ने अपेक्षा राखेका छौं।’
नेपथ्यसंग सहकार्य गरी ‘शिक्षाका लागि संगीत’ कार्यक्रम आयोजना गरी दोलखाका बालबालिकाको शैक्षिक भविष्य उज्यालो पार्ने काममा जुट्न पाउँदा खुसी लागेको हेल्प नेपाल नेटवर्क नेपाल शाखाका अध्यक्ष अरुण सिंह बस्नेतले बताए।
दोलखाको सो सरकारी स्कुल पुनर्निर्माण कार्यको २०७३ चैत १५ गते नै औपचारिक उद्घाटन भएता पनि यो अझै निर्माणाधिन अवस्थामा छ। स्वीकृति प्राप्त डिजाइनअनुसार यो स्कुल भवन बनेपछि यसबाट तीनसय जना विद्यार्थीले भूकम्प प्रतिरोधी भवनमा पढ्ने अवसर पाउने छन्। आधारभूत सुविधायुक्त यो भवन परम्परागत नेपाली ढाँचामा बन्दैछ।
‘नेपथ्यले आफूलाई मनोरन्जनमा मात्र सीमित नराखेर सामाजिक दायित्वका क्षेत्रमा पनि धेरै अघिदेखि संलग्न हुँदै आएको छ,’ ब्याण्डका मुख्य गायक अमृत गुरुङले भने, ‘स–साना नानीहरुका आधारभूत शिक्षाको अधिकारलाई सुनिश्चित गर्ने यो कन्सर्टमा गाउन उत्साहित छु।’