लेखक दुर्गा कार्कीको पहिलो किताब ‘कुमारी प्रश्नहरू’ सार्वजनिक भएको हो। नेपालय प्रकाशनद्वारा प्रकाशित आरशालामा आयोजित कार्यक्रममा बेलायती राजदूत निकोला पोलिट, पत्रकार अमित ढकाल र लेखकले संयुक्त रुपमा विमोचन गरेका हुन्।
आफ्नो मन्तव्य नेपालीमै व्यक्त गरेकी राजदूत पोलिटले नेपाली साहित्यमा महिलाको बढ्दो सहभागिताले आफू उत्साहित भएको बताइन्। पोलिटले बेलायतको साहित्यिक इतिहासको स्मरण गराउँदै उसबेला उता पनि जर्ज एलियटजस्ता महिला लेखकले पुरुषका नाममा लेख्ने गरेको सन्दर्भ जोड्दै भनिन्, 'महिलालाई महत्वका साथ नहेरिए साहित्यको मैदान अनुभूति बेगरको मरुभूमि बन्नेछ।'
कार्यक्रममा कथाकार दुर्गा कार्कीको लेखकीय व्यक्तित्वबारे प्रकाश पार्दै अमित ढकालले भने, 'दुर्गाको लेखनीमा विशेष शैली छ। उनले उठाएका विषयवस्तुले नविन जीवन पाउँछन्। त्यही नविनता र गुरुत्व उनको कथा संग्रहमा पनि छर्लङ्ग देखिन्छ।'
पुस्तकबारे बोल्दै लेखक कार्कीले भनिन, ‘लेख्नु भनेको लेखाइ मार्फत अरुलाई बुझ्नु पनि हो। त्यसैले यी कथा लेख्दा मैले धेरै मान्छेका भावना महसुस गर्ने मौका पाएकी छु। त्यसरी नै पात्रका भावना मार्फत समाजका विविध पक्षलाई केलाउने मौका पनि पाएकी छु।’ आफ्नो लेखकीय भूमिकाबारे प्रष्ट्याउँदै उनले भनिन्, ‘म आख्यान र गैरआख्यान दुवै विधामा लेख्न रुचाउँछु। तर आख्यान लेख्दा वैचारिक आग्रह नथोपरियोस् भन्नेमा सचेत रहन्छु।’
कार्यक्रमको अन्त्यमा नेपालयकी सम्पादक भूषिता वशिष्ठले प्रकाशित पुस्तकको सेरोफेरोमा रहेर लेखकसँग अन्तरसंवाद गरेकी थिइन्। संवादमा पुस्तकको भाषा, शिल्प, शैली र लेखकीय चुनौतीका विषय समेटिएको थियो।
सार्वजनिक पुस्तक ‘कुमारी प्रश्नहरू’को मूल्य ४ सय २५ रुपैयाँ तोकिएको छ।