अमेरिकाको ड्यालसमा करिब एक महिनाअघि नेपाल सम्झाउने गरी आयोजना गरिएको थियो ‘नेपाल सम्झना साँझ’। दर्शक र कलाकारले भरिएको हलभित्र कार्यक्रमको औपचारिक सुरुआत नहुन्जेल ब्याकराउण्डमा मन्द स्वरमा बजिरहेको थियो। नेपाली लोकगीत ‘सालको पातको टपरी हुनी, नहुनी सल्लैको।’
प्राविधिक कारणले कार्यक्रम दश मिनेट ढिलो सुरु हुने कुराको जनाउ दिएका थिए –आयोजकका तर्फबाट डिजे नेपालीबाबुले । उक्त समयमा नचिनेकालाइ चिन्ने अवसर र चिनेकालाई भलाकुसारी गर्दै गफिने मौका मिलेको देखिन्थ्यो।
आवतजावत गर्न मिल्ने गरी मिलाईएका कुर्ची र उचाई बढ्दै गएको स्टेडियमका कारण दुई तीन लाईनसम्मका दर्शकको अनुहार देख्न र चिन्न गाह्रो थिएन। जसको फाइदा लिदै दर्शकले टाढासम्म पनि भलाकुसारी र अभिवादन गरिरहेका थिए।
तेस्रो लहरको एक जना नेपाली टोपी लगाएको अनुहारसँग नजर जुध्यो। कता कता चिनेको जस्तो अनुहार। मैले उनी तर्फ आँखा तेस्र्याउदा उनले पनि मतिर हेरेर मन्द मुस्कान पोख्न थाले। मात्र बोलिरहे एकछिन हाम्रा आँखाहरु। सायद उनले चिनेको भान गरेको हुनु पर्छ। मैले मेरो मानसपटललाई विगतको स्मरण गर्न अभ्यस्त तुल्याए। तर चिन्न सकेन। उनको र मेरो भेट नभएको दुई दशक कटिसकेको रहेछ।
कार्यक्रम सुरु भैनसकेकोले मैले उनको नजिक पुगेर पुनः परिचय गर्ने निधो गरे। तेस्रो लहरबाट छैटौं लहरमा उक्लें। नजिकै खाली कुर्र्ची थियो। त्यही बसेँ। नेपाली पाराले फेरि नमस्ते अभिवादन गरेँ। उनले पनि फर्काए। उनले धाप मार्दै भने ल सम्झनुहोस् त हामीले नेपालमा साथै काम गरेको समय। मैले कोशिस गरेँ। चिनारी दोहरीयो। उनी कृषिका हाकिम थिए। नेपाल सरकारको सचिवबाट रिटायर्ड भएको पनि चार वर्ष भैसकेको रहेछ।
उनी ड्यालासमा छोरा भेट्ने क्रममा आएका रहेछन्। हामीले केही बेर पुराना सम्झना दोह¥यायौं। डिजेले कार्यक्रम सुरु भएको घोषणा गरे। सांस्कृतिक कार्यक्रम मात्र भएकाले अनौपचारीक रुपमा कलाकारहरुको परिचयबाट कार्यक्रम सुरु भयो। स्थानीय कलाकारले एउटा गतिलो नाच प्रस्तुत गरे। तत्पश्चात पालो आयो एउटा हाँस्यब्यङ्ग कार्यक्रमको। नेपालको समसामयिक घट्नाहरुमा आधारित बेजोडको ब्यङ्ग्य थियो त्यो। गीतसंगीत र भेषभुषाले याद दिलाइरह्यो विगतको। मनले खोजिरह्यो त्यही नेपाली माटो। जन्मभूमिका तिनै डाँडाकाँडाहरु।
हाकिम साहेवले सुनाए हिटलरले बिश्व बिजय गरेको कथा। शक्तिशाली तानाशाहको रुपमा उदय भएदेखि पतनसम्मको इतिहास। उनका नजिकका ब्यक्तिले यो नरसंहारको काम छोड्न सल्लाह दिनुको साटो उकास्न उपयोग गरेको प्रचारमुखी सत्यताको कहानी। बिश्व जगत हिटलरको बिरोधी भैसकेको तथ्य थाहा हुँदाहुँदै पनि उनका बिश्वासपात्रले खेलेको भूमिका।
तथ्यले यो काम जर्मन र जुईसको हितमा छैन भनेर भन्दा पनि हिटलरलाई पछाडी नहट्न र तथ्यलाई मिथ्या बनाई प्रपोगाण्डामा आधारित सत्यको भरमा उकास्ने जमातले उनलाई घेरी रहे। जसले उनको अन्त्य ग¥यो। हाँस्यब्यङ्ग्यको सार नेपालको प्रचारमुखी सत्यताको स्थिति र हिटलरको सत्यताप्रति हेराईको स्तरसँग केही हद मिल्दो जुल्दो छ भन्ने उनको आशय थियो।
‘सत्य हरेकले व्याख्या गर्ने आधारमा भर पर्छ। तथ्य बिर्सेर बोलिने सत्यबाट कोही जमिन छोड्छ भने हिटलरकोझै अवसान हुन्छ एक दिन उसको पनि। यसैले सिंढी चढ्नु छ भने पहिलो खुट्टा जमिनमा नै राख्नु पर्छ। यसै गरी दोस्रो खुड्किलोमा उक्लिन पनि फेरी एउटा खुट्टा पहिलो खुड्किलोमा हुनै पर्छ। नत्र सिँढी चढिन्न। यस्तो नगरेर एकै पटक टुप्पोमा पुग्न खोज्दा दुर्धटना निश्चित छ‘ –निकै गम्भीर वहस थियो त्यो। राष्ट्रप्रतिको माया र चिन्ता दुइटै थियो। यथार्थपरक उदाहरणलाई नेपालको बिकासवादी सोच र भ्रमित समृध्दिको नारासँग जोड्दै सत्यता र यथार्थताको पाठ थियो।
कलाकारहरुले मान्छेलाई हसाँउने, नचाउने र मनोरञ्जन दिने मात्र काम गर्दा रहेनछन। तिनीहरुले दिने सन्देशले समाज परिवर्तनका लागि ठूलो भूमिका खेल्छ भन्ने कुरामा प्रसँगहरु जोडिंदै गए। उनका तर्कमा दम थियो। उनले यो कलाकारितालाई नेपालको अहिलेको रेलगाडी र पानीजहाजसम्मका अड्डाहरु, रोजगारी सेवाकेन्द्रको स्थापनासँग जोडेर सुनाउन समेत भ्याए।
यो चाहिन्छ र राम्रो हो भन्दै राज्यको धनबाट फुपूको श्राद्ध परिपाटिले मलजल पाएकै छ। सोझा जनतालाई भ्रममा पारिएकै छ। यातायात मन्त्रालय हुँदाहुँदै उसैको मातहातमा एउटा बिभाग खडा गरेर अड्डा खोलेर मितब्ययीता अपनाउनुको साटो लाखौ खर्च गरेर उद्धाटन र पत्रिकामा बिज्ञापन गरी पोलपोलमा पोष्टर टाँसेर नयाँ महाराजा बनेको परिवेश ताजै छ। नयाँ संरचनाले राज्यमाथि पारेको दुरगामी व्ययभार र फितलो कार्यान्वयन प्रष्टै छ।
नेपालीको समाजबादी भन्ने परिबेशलाई उनी रोचक ढंगले जोड्न पुगे, अमेरीकाको पुँजीबादी सामाजिक सुरक्षाका कार्यक्रमका पाटाहरुसँग। गरिवीको रेखामूनी रहेको समाजका लागी डा। गोबिन्द केसीले उठाएका शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि स्मरण गर्यौं एकछिन। सरकारले निजीकरण गर्ने होईन बरु निजीकरण र रोजगारीलाई बजारीकरण गरी सरकारको व्ययभार कम गर्नु पर्ने बिचारहरु पनि सुनिए।
उनका छोरा दिउँसो कम्पनीको काम गर्ने र बेलुका पढ्ने गर्दा रहेछन्। रोजगारदाता कम्पनीले नै रुटिन मिलाएर प्राविधिक बिषयमा डिप्लोमा पुरा गर्न लाग्ने छोराको कलेजको सबै पैसा तिरिरहेको रहेछ। यस किसिमको प्रबन्धले छोराले पढाईसंगै सोही कम्पनीमा घण्टाको १५ डलर पाउने गरी काम पनि गर्दै आइरहेका रहेछन्।
सरकारलाई कुनै व्ययभार नभएको बरु उल्टै सरकारलाई निजले ट्याक्स तिरेको र राज्यको लाईसेन्सको जाँच पास गरे पछि मनग्य कमाएको प्रसँग सुनाउँदै देश धनी कसरी हुन्छ भन्ने बारेको अनुभव सहितको कथा सुनाए।
उनी लामो समय अमेरीकामा बसेका हैनन्। यतिका कुरा कसरी थाहा भयो कुन्नि। म अचम्मित परेँ। उनले यस्ता किसिमका काम र जागिरका अन्य क्षेत्रहरुका बारेमा पनि सुनाई रहे जसमा ईलेक्ट्रिक, प्लम्विङ, कम्यूनिकेसन (ईन्टरनेट प्रदायक कम्पनी), कम्प्यूटर सम्बन्धी कैयौको उदाहरणहरु पेश गरे। यसबाट ब्यक्ति, प्राईभेट कम्पनी र राज्य सबैले लाभ लिइरहेको उदाहरण सुनाउँदै नेपालमा किन सरकारले राज्यको मात्र जिम्मा लिई राज्य गरिव बनाउने काम गरेको होला भनी प्रतिप्रश्न गरे।
यसको मसँग जवाफ थिएन। ‘राज्यको काम ऐन नियम बनाउने र नियमन गर्ने हो र रोजगारदिने काम निजी संस्था र बजारको हो – उनले थप्दै भने। म चुपचाप सुन्दै गएँ। नेपाल सरकारको बिज्ञता र तथ्यभन्दा माथिका महाराजा बन्नेहरुको सोचाईको आलोचना गरिरहे।
उनले थप्दै भने –‘ हेर्नुहोस् अहिले चीन समेत बजारमुखी अर्थब्यवस्थाको लयमा हिँडेको परिवेशमा नेपालले स्थानीय तहमा बेरोजगारी भत्ता बितरणमा ७ सय ५३ जनालाई जनताले तिरेको करमा जागिर खुवाएर बेरोजगारी भत्ता बाँड्ने काममा खटिएको छ।’ भेनेजुयलाको साम्यबादी सरकारले परिचालन गरेका स्वयमसेवक कार्यकर्तासँग दाँज्दै उनी सम्झाइरहेका थिए– ‘ ८०औको दशकमा उत्तरी अमेरीकन राज्यमा सबैभन्दा उच्च आय भएको भेनेजुयलाको अहिलेको अवस्था।’
नृत्य र गायनँगै कलाकारहरुको बेजोडको प्रस्तुतिले मनको एउटा पाटोमा आशन जमाइरहेको थियो भने अर्कोतिर हामी बीचको संवादले। मैले कार्यक्रमबाट मनोरंजन मात्र लिएको थिइन। उनीसँगको संवादका क्रममा हरेक शब्दहरुले केही न केही सिकाइरहेकै थिएँ। अन्तमा पुनः बज्न थाल्यो उही गीत सालको पात टपरी हुनी.............
म तिर पुलुक्क हेर्दै पुनः खुले हाकिम साहेबका ओठ– ‘सल्लाको पात नदेखेको मान्छेका लागि सल्लाको पातको पनि टपरी हुन्छ भन्दा पत्याउछन होला है ? मसुक्क मस्कुराउनु शिवाय थिएनन् मसँग बोल्ने शब्दहरु। मनमनै सम्झिएँ केही महिनाअघि निकै चर्चामा रहेको पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट’ बोलको गीतको सत्यता र समृध्द नेपालको सपनाको यथार्थता।
हल भित्रका चारै तिरका ढोका खुले। बत्तीहरु झिलिमीलि भए। नेपालमा नयाँ संविधान लागु हुँदा जसरी चम्केका थिए मनका बत्तीहरु सकेनन् त्यसरी टलक्क बल्न। घर पुगिसकेपछि पनि रातभर छटपटी भइरह्यो। सोच्न वाध्य तुल्याइरहे बेलाबखत प्रकाशित भइरहेका देशका टपरे सम्राटहरुका समाचारले, टपरी थाप्न पल्केका घुस्याहाहरुका कथाले, अधिकार नपाएर साँगुरिदै गएका टपरी जस्ता निरिह बनेका प्रदेशहरुका व्यथाले, अनियमितताका अनिगिन्ति टपरी गाँसिरहेका स्थानीय निकायका प्रतिनिधिहरुको तडकभडकका समाचारहरुले।