आज मातातीर्थ औंसी। हरेक वर्ष वैशाख महिनाको कृष्ण पक्ष औंसीको दिन हिन्दू धर्मावलम्बीहरुले यस दिनलाई विशेष श्रद्दाका साथ लिने गर्छन्। आफ्नी आमा दिवंगत आमा जुनसुकै भए पनि आमालाई सम्झिने यस दिनको एक विशेष शाश्त्रीय मान्यता रहेको छ।
जीवित र दिवंगत दुवै आमाको तृप्तिको लागि आजको दिनलाई धर्ममा विशेष ख्याल राख्नेहरुले विशेष महत्वका साथ लिन्छन्। सबैको विश्वास हुन्छ आस्था हुन्छ। यी भावनात्मक कुरा हुन्। पछिल्लो क्रममा हाम्रा यस्तै खाले पर्व वा दिन सामाजिक संजालबाट बढी अभिव्यक्त हुने ट्रेन्ड बढ्दै गएको छ। धेरै सामाजिक संजालबाट आफ्नी आमा प्रति श्रद्दा व्यक्त गर्छन् माता तिर्थ औंसीमा त्यस्तै गरि कुशेऔंसीले पनि अलि अलि भए नि निरन्तरता पाएको हुन्छ।
कुनै खास पर्व वा जमघटका तस्बीर त विशेष रहने नै भए। आखिर हामीले जे फोटोबाट प्रदर्शन गरेका हुन्छौं त्यति नै व्यवहारमा छौँ त ? बोलाई र गराईमा तालमेल नमिल्ने त नेपाली संस्कृति नै बनेको छ भन्दा अत्तिउक्ति नहोला।
फेसबुकमा आमाले देख्छिन कि देख्दिनन् त्यो कुरा अर्कै पाटो भयो तर फेसबुकमा आमा संग कुनै बेलामौका खिचेको सबै भन्दा राम्रो र चिरिचट्ट परेको फोटो छानेर फेसबुकमा हाल्ने गरिन्छ।
गाउँमा आमा एक्लै हुन्छिन्। छोरा चाहिं बुहारी सहित शहरमा हुन्छ। वर्षौसम्म पनि ऊ शहर देखि १४ घन्टा टाढाको आफ्नो जन्म घरमा जान सक्दैन। दशैमा एक्ली बूढी आमा त्यसै टोलाएर बस्ने हुन्छिन्। कैयौं दिनहरु हात खुट्टा राम्रो संग चल्न छोडे पछि एक्ली फुलेकी बूढी आमा भोकै रोग र शोकमै डुबेकी हुन्छिन्।
शहरको छुट्टै संसारमा रमाईरहेको छोरोलाई बुहारी भएपछि त्यो बूढी आमा घिन लाग्दी बनेकी हुन्छिन्। दिउँसो स्कुलबाट छोरो घर फर्कदा आफूले भोक लाग्दा समेत नखाई कचौरामा राखिदिएकी आमाले दिन भर भोकै काम गर्दै गरेकी हुन्छिन्। यी सबै घटनाको साक्षर छोरा सहर गएपछि उनै आमाले दुखझेलो गरेर पढाएको शास्वत सत्यलाई बिस्तारै भुलिदिन्छ। कुनै दिन गाउँमा आमाको दुख हेर्न र अलिकति पैसा दिन गएको छोराले आमासँग आफूले किनेको नयाँ मोबाईलमा फोटो पनि कैद गर्न भ्याउँछ।
आफ्ना कैयौं दुखहरु विर्सेर त्यति ठुलो बनाएको छोराले आमालाई बुढेसकालमा सहारा दिन सक्दैन व्यस्त जिन्दगीको कारणले। र फेसबुकमा अरुहरुले आमा संग फोटो हालेको देख्छ अनि आमाको मुख हेर्ने दिन भएको थाहा पाउँछ अनि आफ्नो मोबाईलको ग्यालरी हेर्छ। ग्यालरीको सबै भन्दा तल कतै फुलेकी बुढी आमा संगको फोटो देख्छ। फोटो त्यत्तिकै हाल्नेकी फोटोसप गरेर राम्रो बनाएर हाल्ने दुविधाका बीच फोटो हाल्छ #हेप्पी_मदर्स_डे भन्दै।
समाजमा त्यी बुढी सेतै कपाल फुलेकी आमाहरु मात्र छैनन् अहिले। फेसबुक, ट्वीटर अनि टिकटक चलाउने मोडर्न आमा उर्फ ममीहरु पनि छन्। छोराछोरीलाई उच्च शिक्षा र शिक्षित बनाउन सकेमा समाजमा घमण्ड गर्ने आमाहरु पनि छ्याल्व्याल छन्। यिनीहरु आमाहरु नभएर प्राय 'ममी'हरु हुन्। यिनीहरु अलि छुट्टै चरित्रका देखिन्छन्। यिनिहरुले सासु आमाहरुलाई असली आमा देख्दैनन् जति आफ्नी आमालाई आमा देख्छन्। बुढाबुढी भएका सासु ससुरा यिनीहरुलाई घृणाका पात्रहरु बन्दछन्।
गनाउने हुन्छन्। अलि असभ्य लाग्दछन् यिनीहरुलाई। आफ्नो श्रीमानलाई फकाएर हुन्छ कि अनेक उपायबाट त्यस्ता वृद्द बुढाबुढीलाई वृद्दआश्रममा लगेर राख्ने गर्छन्। शास्त्रहरुलाई हल्का मात्र बुझ्दा पनि कुनै आमा शत्रु हुँदैनन् भनिन्छ तर यिनीहरुलाई कसरी बुझ्ने अचम्म लाग्छ। आफ्ना छोराछोरी उर्फ 'बेबी'लाई असाध्यै मायाँ गर्छन् फेरी बुवा आमालाई/ सासु ससुरालाई वृद्द आश्रम पनि पुर्याउँछन्। अनि मातातीर्थ औंसीको दिन पुजा पनि गर्छन्।
त्यस्तै गरि अर्को औंसी कुशे औंसीमा भने अलि कम नै सामाजिक संजाल भरिएको देखिन्छ। शास्त्र कै कुरालाई मान्ने हो भने शास्त्रमा बाबुभन्दा आमा दशगुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको छ, ‘मातृदेवो भवः’ भनेर सबैभन्दा पहिले भनिन्छ, त्यसपछि मात्र ‘पितृदेवो भवः’, ‘आचार्यदेवो भवः’ भनिन्छ। आमाले नौ महिना सम्मको पीडा अनि प्रसव वेदना सहेर बच्चालाई संसारमा ल्याउँछिन् यसलाई कसैले नकार्न सक्दैन।
यसका साथै बुवाको पनि योगदान एउटा असल छोरा वा छोरी बनाउनमा रहेको हुन्छ। असल बुवा र असल आमा दुबैले आफ्नो जीवनका अमुल्य समयहरु छोराछोरीको जीवन बनाउन लगाएकै हुन्छन्। यहि सामाजिक संजालले नै नेपाली समाजको एउटा चित्र प्रस्ट्याउछ। आमाहरु संगको फोटो राख्ने 'ट्रेन्ड' जति बर्खाको भेल जस्तो गरि सामाजिक संजालमा ओईरिन्छ कुशे औंसीको दिन यसको प्रभाव अलि कम नै देखिन्छ।
आफ्ना नजिकैका फुलेका बुढा आमाबुवाहरुलाई भेट्न जान नभ्याउने छोराछोरी पनि कसैका आमा बुवा हुन्छन्। तिनीहरुलाई भने आफ्ना सन्तान सारै प्यारा लाग्दछन्। आफ्ना छोराछोरीले आफुहरुलाई मातातीर्थ औंसी, कुशे औंसी नबिर्सिदिउन् भन्ने कामना गरिरहेका हुन्छन्। यदि बिर्सेका भए पनि फोन गरेर नै जमघट गरेर यस्ता खाले दिनहरुको जमघटको तस्बिरले सामाजिक संजाल रंगाउनु उनीहरुलाई प्रतिष्ठाको विषय बन्छ। यहिनेर वृद्द बा-आमाहरु पनि त्यति नै माँया गर्दछन् जति यी मोडर्न 'ममी/ड्याडी'हरुले आफ्ना 'बेबी'हरुलाई गर्छन्।
सामाजिक संजाल भएकैमा यस्ता खाले सामाजिक जमघटका पर्वहरुले विशेष महत्व राख्ने गरेका छन् पछिल्ला समयमा। अरुको भन्दा कहीं न कतै बाट राम्रो र उन्नत स्तरको जीवन शैली भएको देखाउनु नै यस खाले प्रदर्शनको विशेषता रहेको देखिन्छ। समाजमा आफुले जिउंदै गरेको जीवन शैली अरुले जिउन सकिरहेको छैनन् र नसकून भन्ने भित्रि आशय पनि अभिव्यक्त भएको स्पष्ट देखिन्छ। यस्ता सामान्य कुरामा प्रतिष्पर्धा र मात्रै देखाउनैका लागि गरिने यस खाले शैली प्रचार बाजी मात्रै होईन र ? मन्गढ़न्ते कुरामा रमाउन छोडेर कैले हामी बोल्दै र त्यी बोलाईलाई व्यवहारमा ल्याउन लाग्छौं होला ?