आ ! आ ! आ ! हैट ! हैट ! हुर ! हुर ! हुर ! धनिकलाल वर्षाइरहेको थियो लाठी गोरुलाई। चुईऽ चुईऽ चुईऽ गोरुगाडाको लयात्मक आवाजसँगै शुरु हुन्थ्यो बैशाख मेला त्यसबेला पूर्वी नेपालका बस्तीमा। टाढाटाढाबाट मेला भर्न आउनेको सवारी साधन नै हुुन्थ्यो गोरुगाडा। हामी पनि कति रमाइलो मान्थ्यौ चढ्न पाउँदा। ठकीया, पचीया, कमलीहरु चढेर मेला हेर्न जान्थे। सरीलाल, भगतलालहरु गोरुगाडा हाँक्थे। बाँसका भाँटा बङ्ग्याएर पुराना लुगाले घाम छेक्न सिगारिन्थ्यो बेहुली झैँ गोरुगाडा। अहिले सिटी सफारी र टेम्पो भएछन् मेला जाने साधन। अहा ! ति दिन सम्झँदा पनि फुरुङ्ग हुन्छ मन। बतासिन्छ हावामा। फनफनी घुम्छ फिरफिरे बनेर। उल्टो दौडिन्छ समय फ्ल्यास ब्याक भएर।
अतीतको यात्रामा स्मृतिका प्वाँखहरु लगाएर चराजस्तै परपर क्षितीजमा उडछु तब अनगिन्ति याद बादल जस्तै उडेर आउँछन् मनको गुँडमा। आखिर जीवन भनेको नै यादहरुको सङ्गालो त रहेछ नि। हामी जहाँ जन्मन्छौ, हुर्कन्छौ, त्यहीँकै सभ्यता संस्कृतिसँग खेल्दै, हाँस्दै बढ्छौ। भिज्छौ त्यहीे परिवेशमा। जब यहाँकोे माटोमा पाइला राख्दै जान्छौ तब थाहा हुन्छ चालचलन रितिरिवाजसँग। हामी एक अर्कासँग सिक्दै हुर्कन्छौ। मान्छे खुसी हुने साधन भनेका नै यही मेला पर्वहरु त हुन नि।
पर्वहरुको झन्कारले नयाँ ऊर्जा प्राप्त हन्छ शरीरमा। खुसी छाउँछ अनुहारमा। समाज रमाउँछ, गाउँ रमाउँछ। सानोमा हर चीज सुन्दर हुन्छ, जस्तो सुन्दर पूmल हुन्छ, पुतली हन्छ। नराम्रो भावना आएको हुँदैन बालापनमा। कहाँ जातजाति बीच फरक हुन्छ र सानोमा। साँच्चै बालापनको त्यो याद कहाँ मेटिदो रहेछ र ! कताकता मुटुभित्र चसक्क चस्की बस्छ। त्यो ठाउँ, त्यो याद कति प्रिय सम्झीरहूँ जस्तो, सुमसुम्याइरहूँ जस्तो। जुनै व्यवस्था आओस् फरक पर्दैन केटाकेटीमा। यहाँ भएका धर्म संस्कृति जात्रा मेला पर्व त हुन नि स्थानीयता झल्काउने, देश झल्काउने।
माटोको सुगन्ध मिसिएको हुन्छ संस्कृतिमा। हृदयको ढुकढुकी प्रतिबिम्बित हुन्छ पर्वहरुमा। विभिन्न जातजातिका संस्कृतिले नै नेपाली संस्कृति भरिपूर्ण छ। नेपाललाई चिनाउने भनेको नै यहाँका चाडपर्व, जात्रा र मेला त हुन्।
अलग्गै विशेषता छ पूर्वी नेपालका थारु समुदायको नयाँ वर्ष सुरुवात भएको रुपमा मनाइने सिरुवा पर्वको। हुन त बैशाख संक्रान्तिका दिन मनाइन्छ सिरुवा। यस पर्व शुरु भए पछि महिना दिनसम्म मेला लाग्छ थारु बस्तीमा। भरिपूर्ण भएकी हुन्छिन् प्रकृति पनि यही बेला। कोकीलको मिठो ध्वनी, चारैतिर हरियाली, पहाडबाट बसाइ सरेका चराको संगीत, नदीको कलकल साँच्चै मधुर आनन्दको क्षण। यही आनन्दमा रमाइरहेका हुन्छन् सिरुवा पर्र्वमा आदिवासीहरु।
सिरुवा शुरु हुनु अघि घर लिपेर चोख्याइन्छ। विशेष अघिल्लो वर्षको अन्तिम दिन पकाएर भोलि पल्ट खाने चलन छ। माघे संक्रान्तिको जस्तै। सम्पूर्ण परिवार जम्मा भएर पीठोको गुलियो परिकार र सुँगुरको मासु खाने चलन छ। बैशाखभरि प्रत्येक दिन कहिँ न कहिँ लागेकै हुन्छ मेला। थारु समुदाय प्रायः झुरुप्प परेर एकै ठाउँमा बस्छ। प्रत्येक गाँउको थान हुन्छ आ–आफ्नै। त्यही थानमा ग्राम देवता पनि। पहिलेपहिले खेती किसान पेशा गर्ने हुनाले वर्षभरि काम गर्दा भएका त्रुटिहरुको क्षमा स्वरुप आ–आफ्ना थानका देवतालाई पुज्ने चलन छ।
प्रकृतिको पूजा सँगै आफ्नो वंश, कुलको राम्रो होस् भनेर भाकल गरी बोका, परेवाको बलि दिइन्छ थानमा। त्यही बलि दिएको मासुलाई प्रसादका रुपमा खाने चलन छ। इष्टमित्र, नातागोता समेत बोलाएर खुवाइन्छ। अँ साँची फुका सेता अक्षता, रक्सी र मासु चढाइन्छ केराको पातमा राखेर। त्यही बलि दिएको विशेष दिन मेला लाग्ने चलन चल्यो। अचम्म मानेर हेरीरहन्थें म, अक्षता हातमा लिएर केके भन्दै बलि दिएको मासु, बतासा आदिलाइ छुवाउँदै परपर फ्याँक्दै गरेको।
हामी संस्कृतिमा यति धनि छौ। यिनै मेलाहरुले त हो नि एक अर्को समुदाय जोडिने भनेको। हामी कतिपयले न पहाड देख्यौं न बालन सुन्यौं। न संगीनी गायौं, न भिरको घाँस काट्यौ, न लेक धायौं। न बेसी झ¥यौं। न ऐसेलुका काँडाले घोचे, न थाहा छ कागुनो, न मेल, न आल्चा। मधेशको खेत खलियान, खत्ता दौडिँदै बित्यो बालापन। सुन फल्ने पहेलपुर फाँटहरुमा, आलीआली कुद्नुको मजा बेग्लै। यिनै थारु साथीहरुसँग माछा मार्दै, पौडी खेल्दै, गँङ्गटाको कैची जस्तो सिङ भाँच्दै बित्यो समय। आँप, लिची चोर्दै, जिब्रो कालो हुञ्जेल जामुन खाईयो। दाँत कँुडीउञ्जेल कुसुम खाइयो। सिमलको फेदमा बसेर भगतलालहरुले काढेको खागोको मह त कति खाइयो, खाइयो। कहिले काहिँ खागोले चिलेर ज्वरो पनि आउथ्यो। यी सबै मधेसको सुन्दरता त हो नि।
समय कति परिवर्तन भइसकेछ तर पनि याद स्मृतिबनेर झलझली आउँछ मनको क्यानभासमा। कति सजिव चित्र कोरिएको छ मुटुमा। मेटौं भन्दा पनि सकिन्न।
सिरुवा सकिएको भोलिपल्टदेखि मेलाको रौनक शुरु हुन्थ्यो एक महिना। अहिलेसम्म पनि मेलाको सुन्दरता कम भएको छैन बरु आधुनिकीकरण भएछ समयको बदलिदो क्रमसँगै। दशैमा नयाँ लुगा किने पनि ममीले आफै सिलाइदिनु हुन्थ्यो मेलाका लागि नयाँ जामा। जिद्दी गर्थें, थारु साथीहरुको देखासिकी गरेर। मेलाको दिन नयाँ जामा लाउनै पथ्र्यो मलाई। त्यस बेला प्राय बैशाख भरि नै स्कूलमा त्यति पढाइ हुँदैनथ्यो। हामी पनि छेउछाउका चार पाँच ओटा मेला त भ्याइ हाल्थिम्।
हाम्रो गाउँमा पनि झुरुप्प बसेका थारु समुदाय थिए। अनि हाम्रो खेल्ने साथी पनि तिनै हुन्थे। इटहरी आसपास पनि बैशाख एक गते देखि नै शुरु हन्थ्यो मेला। तीन गते इटहरीको बौका झोडामा ठूलो मेला लाग्थ्यो। विशेष प्रतिक्षा हुन्थ्यो हामीलाई वर्षभरि यो मेलाको। मैले थाहा पाए देखि इटहरी बसुञ्जेल कुनै साल छुटाएको थिइन कचना मेला। टेङ्ग्रा धाम भन्थे थारु समुदाय। टेङ्ग्रा नदीको किनारैकिनार भएर जानु पर्ने भएकाले टेङ्ग्रा धाम भनिएको होला ! पछि यसलाई कचना मेला भनियो।
ग्राम थान थियो पहिला थारु समुदायको। मेलामा भाकल गरेर बैगुनको भारा चढाउनाले मुसार चर्म रोग निको हुन्छ भन्ने विश्वास थियो उनीहरूको। अनि फूलघोडा चढाउनाले जान अन्जानमा भएका दोष, पाप नाश हुन्छ भन्ने विश्वास थियो। उत्तिकै मान्थे अरु समुदाय पनि। धार्मिक सौहार्दता प्रष्ट देखिन्थ्यो त्यहाँ। झन प्रगाढ भएको छ अहिले। राई, लिम्बु, नेवार, क्षेत्री, बाहुुन, पहाडे र मधेसी सबैले बैशाखी मेलालाई आफ्नै पर्व ठानेका छन्।
पछि कचना मेला परिवर्तन हुदै कचना महादेवको पुजा गर्न थालियो। अहिले सम्म त्यो निरन्तर छ। त्यस दिन हाफ छुट्टी हुन्थ्यो स्कुलमा। हतारहतार घर आउँथ्यौ हामी, मेला हेर्न जाने उत्साहले। टाढा टाढाबाट मेला हेर्न आउथे मान्छे। झन् हाम्रो त गाउँकै मेला नजाने कुरै भएन। मेलामा जहिले पनि झगडा हुने भएकाले हामीलाई एक्लै जान दिनुहुन्नथ्यो। ठूलाको साथ हुन्थ्यो। एक प्रकारको छुटै संगीत गुन्जीरहेको हुन्थ्यो मेलामा अग्र्यानिक खेलौनाहरुको। कहाँ पाउनु र, अहिलेका जस्ता प्लास्टीकका चाइनिज खेलौना। काँही जुलेबी पाक्दै हुन्थ्यो कहि पिरो आलुको तरकारी र अनदी चामलको भुजाको बासना आइरहेको हुन्थ्यो। पिरो हुन्थ्यो नाक तारी र रक्सीको गन्धले। कोही मस्तले झुमीरहेका हुन्थे रक्सीको नशामा। डुलीडुली हेर्थ्यौ हामी।
बैगुनको भारा थानमा चढाए पछि फुलघोडा बाहिर ल्याएर गाड्थ्यौ अनि घुम्ने पालो। जुलेबी किन्न लाइन बस्नु पर्ने त्यतिखेर। शायद सिमित पसल भएर होला ! अहिले त प्रशस्तै रहेछन् पसल। रीङ्ले हान्ने खेल पनि खेल्थ्यौ। कति बेला झगडा हुने हो भनेर लागि रहन्थ्यो डर। फेरि आमाले झगडा हुन्छ छिट्टै आउनु घर भन्नु हुन्थ्यो। तर कहाँ मान्थ्यो र मन। खेतको आलीमा बसेर रमिता हेर्दै जुलेबी खाँदाको आनन्द कहाँ पाउनु अहिले। चरा जस्तै कराउने बाजा, ढोल बजाइरहेका मान्छे, दुइटा अम्ला बीचमा च्यापेर घुमाउँदा सलाम गर्ने मान्छे, माटाको र कागजको डमडम गर्ने बाजाको आवाजले संगीतमय हुन्थ्यो मेला नै। हावाको वेगमा फिरफिर घुमीरहेको कागजको फिरफिरे देख्दा झुम्थ्यो मनै। त्यसबेला माटो, कागज, बास, सिन्का र ढोडबाट बनाइएका खेलौना साँच्चै वातावरण मैत्री रहेछन् अहिले सोच्दा।
पूर्वकै ठूलो मेला भएको कारण धरानका स्थानी जनजाति केटाहरुको पनि भीड हुुन्थ्यो मेलामा। धरानबाट गाडीको हुट माथि सम्म मान्छे चडेर मेला हेर्न आउँथे महिला केटाकेटी समेत। युवाहरुको त ठूलो जमात उर्लन्थ्यो। हाम्रै घर अगाडिबाट पनि बाटो थियो मेला जाने। हामी मेलाबाट फर्केर आएर रमिता हेरेर बस्थ्यौ बार्दलीमा। धरानेहरुले नाक खुम्च्याउदै कलको पानी खाएको हेरिरहन्थ्यौ हामी। ‘मधेसको पानी नमिठो र गनाउने’ भन्थे उनीहरु। हामीलाई चाहिँ धरानको पानी तितो लाग्थ्यो। प्रायः मेलामा धरानका किराँत केटा र थारु केटाबीच झगडा परेकै हुन्थ्यो। तर बिना कारण । एकछिन भागाभाग ,दौडादौडÒ बज्थ्यो साई सुई सिटी। धरानेहरु खुकुरी निकाल्थे भने इटहरीकाहरुले पनि लामो कटि र भाला लिएर खेद्थे। हामी पनि डरले थान छेउमा गएर बस्थेउ। एकछिनमा प्रहरी आउथ्यो। तितरवितर हन्थे केटाहरु। साम्य हुन्थ्यो केहीबेरमा।
फेरी लाग्थ्यो मेला आफ्नै मतवाली पाराले। फेरी शुरु हुन्थ्यो गाना बजाना। एकातिर माइक घन्कीरहेको हुन्थ्यो। ढोल नगरा बजाउनेहरु बजाइरहेका हुन्थे मस्तले। ढोल बजाउनेले लठी यसरी घुमाउथे कि हात मेशिन बनेर अति छिटो चलीरहेको हुुुन्थ्यो संगीतको तालमा। रक्सी तिनीहरुको नशानशामा चढ्थ्यो। ढोल बज्दा सँगसँगै झुमेर नाचीरहेको हुन्थ्यो बजाउनेको शरीर पनि। बसेर हेथ्र्यो हामी। नशाले मातेर नाच्दानाच्दै हामीलाई कुल्चिन आइपुग्थे नटुवाहरु। भाग्थ्यौ हामी परपर। थरुनी दिदीहरु माछाको सुकुटी, भक्का, आलुको तरकारी, अनदी चामलको भुजा बेचीरहेका हुन्थे। लाइन हुन्थ्यो खाने मान्छेको।सिध्याउँदै हुन्थे कोही बोतल, कोही हातमा खन्याएर चाख्दै हुन्थे तारीको स्वाद। सानोमा त खान्थे म पनि आलुको तरकारी र अनदीको भुजा। अलि ठूलो भएपछि चाहि धुलो धेर उड्थ्यो अनि सारैसारै मन लाग्दैनथ्यो खान।
वर्षौं पछि मेला गएँ यसपाली पनि म। बैगुनको भारा र पूmलघोडा चडाए अनि घुमीघुमी हेरें। आशु खसे बालापनको यादले। अनि सोचें राज्य व्यवस्थाले आदिवासीहरुलाई उपेक्षा गरे पनि अहिलेसम्म संस्कार बचाएर राखेका रहेछन् उनीहरुले नै। संस्कार जिउँदो रहनु भनेको सामाजिक सद्भाव हुनु र देश जिउँदो रहनु पनि हो। यस्ता पर्वहरुमा पर्याप्त पर्यटनको संभावना छ। स्थानीय सभ्यता, संस्कृति र परिकार प्रर्बद्धन गर्न पर्यटन व्यवसायी, नगरपालिका र प्रदेश सरकारले सोच्ने कि ?
दशकौ हँुदा पनि मेला अझै उस्तै पाराले लाग्नु पनि त एउटा तपस्या नै हो। इटहरीमा शहरीकरण भएको निकै भइसक्यो तर कचना मेलाको रौनक उस्तै छ।