भ्रमणको औचित्य
चीनका राष्ट्रपति सी चिनफिङको बहुप्रतिक्षित नेपाल भ्रमण केही दिनअघि सम्पन्न भयो।
चिनियाँ राष्ट्रपति सीले नेपालमा २१ घण्टाको आफ्नो महत्वपूर्ण समय नेपाल-चीन सम्बन्धको नयाँ अध्यायको सुरूआतका लागि खर्चिएर गैसकेका छन्।
उनले यहाँ नेपालको राष्ट्रपति, सरकारी प्रतिनिधि मण्डल, प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा सचिवालयका नेताहरू राष्ट्रियसभा अध्यक्ष लगायतलाई भेट गर्दै नेपालको हितमा केही प्रतिवद्धताका साथ २० वटा सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गरी फर्किसकेका छन्।
राष्ट्रपति सीको स्वागत आम जनतादेखि सरकार र प्रतिपक्षी समेतले खुलेर गरेको पाइयो। यो हुनु पनि आवश्यक थियो। भ्रमणपश्चात भने नेपालको राजनीतिक, कूटनीतिक र सामाजिक वृत्तमा राष्ट्रपति सी भ्रमणको सफलता एवम् कमीकमजोरीहरू माथि टीकाटिप्पणी आउने क्रमको सुरूआत भइसकेको छ जुन स्वभाविक हो।
यसै सन्दर्भमा सी भ्रमणको औचित्य र भ्रमणको विविध आयाममाथि लेखकले केही राय उल्लेख गरेको छ।
चिनियाँ राष्ट्रपति सीका प्रतिवद्धता
भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपनाको सारथी
भ्रमणको पहिलो साँझ सोल्टी होटलमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति सीले नेपाल र चीनबीच अझ सुविधाजनक कनेक्टिभिटी निर्माण गरिने बताए।
उनले सीमापारीको रेल सम्भाव्यता अध्ययन कार्यको थालनी, केरुङदेखि काठमाडौंसम्मको सुरुङमार्गको परियोजनालाई सहयोग, अरनीको राजमार्ग सञ्चालन सुनिश्चितताका साथै बढीभन्दा बढी नाकाहरू खोल्ने प्रतिबद्धता जनाए। जसलाई मूर्त रूप दिने हेतुले नै नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच समझदारी कायम गरियो।
त्यसैगरी सुरुङ निर्माण समन्वयको लागि अर्थ मन्त्रालय र चीनको अन्तर्राष्ट्रिय विकास निकायबीच समझदारी गरियो। यो प्रतिवद्धता र सम्झौताले भौगौलिक कठिनाइले उब्जिएको चीनसँगको नेपालको सुदूरतालाई नजिक्याउन हो।
नेपाल भूपरिवेष्ठित राष्ट्र हुनाले नै उत्पन्न हुने व्यापार तथा आवतजावतको समस्यालाई हल गरी भौगोलिक दुर्गमतालाई रेल, सुरुङ मार्ग र विभिन्न नाकाहरू खोलेर सुगमतामा बदल्ने कदमको थालनी हो।
त्यसैगरी सीको धेरै नाकाहरूको संचालन गर्ने प्रतिवद्धतालाई नेपालले क्यास गर्ने सके हाल विद्यमान भारतसँगको नाकामा अत्यधिक निर्भरता, नाकाबन्दीको समस्या, असन्तुलित व्यापार जस्ता समस्याहरूको केही हल हुने सम्भावना छ। यसले नेपालको व्यापारिक लाभ र दक्षिण नाकामा अत्यधिक निर्भरता मात्रै हैन दुवै देशको जनताको ओहोरदोहोरमा सहजता ल्याउनेछ।
दुई देशबीच हुने अत्यधिक र सहज सम्पर्कले विभिन्न आर्थिक सम्भावनाहरूको बाटो खुल्नेछ। चिनियाँ व्यापारीहरू नेपालको बजार सानो भए पनि सिंगै दक्षिण एसियालाई बजार मानेर नेपालमा लगानी गर्न थाल्नेछन्।
यसका साथै नेपालको चिनियाँ बन्दरगाहसम्मको पहुँचमा पनि सीमापारी सुविधाजनक कनेक्टिभिटीले मद्दत पुर्याउने छ। तर यी सबै “ल्याण्ड लक्ड टु ल्याण्ड लिङ्क्ड” हुने सपनाको संकल्पलाई पूरा गर्न चिनियाँ राष्ट्रपतिको प्रतिवद्धता जुन चेक हो त्यसलाई क्यास गरिनुपर्छ र त्यसको लागि नेपालले कौशल कूटनीतिको प्रयोग गर्नुपर्ने हुन्छ।
नेपाल भ्रमण वर्ष २०२० मा सहयोग
राष्ट्रपति सीलाई चिनियाँ जनताले आफ्नो आदर्श मान्छन र सीको भ्रमण सँगै नेपाल चिनियाँ जनताको रोजाइमा परिसकेको हुनुपर्छ। त्यसमा पनि उनले दक्षिण एसियामै चिनियाँहरूले नेपाल अधिक रुचाउने भन्दा त्यसले उल्लेखनीय मात्रामा चिनियाँ पर्यटकको आगमनको बाटो खोलिदिएको छ, जसले नेपाल भ्रमण वर्ष २०२० का लागि सहयोग गर्ने भएको छ।
विश्वको सबभन्दा धेरै जनसंख्या भएको मुलुक चीनले आफ्ना नागरिकहरूलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने सीले भनिसकेका छन्। तर यसलाई मूर्तरूप दिन नेपाल पक्षको कडा परिश्रमको आवश्यकता हुन्छ।
भ्रमण वर्ष २०२० लाई तयारीको आवश्यकता छ, जहाँ चीनले नेपाल भ्रमण वर्ष प्रवर्द्धन गर्न अभिप्रेरणा प्रदान गर्ने, राजनीतिज्ञ, सांसद र आमसञ्चारमा आदानप्रदान तथा साँस्कृतिक आदानप्रदान गर्न सहयोग गर्ने आशय प्रकट गरिसकेको छ।
नेपालले यस्तो सहयोगको परिणामुखी नतिजाको लागि आफ्नो तयारीमा कुनै कसर छोड्नुहुँदैन।
व्यापार घाटाको समस्या समाधान
राष्ट्रपति सीले चीनको धेरै मुलुकसँग व्यापार असन्तुलन भएका स्थितिमा यसलाई समाधान गर्न सकिने विश्वास दिलाउँदै नेपालले प्रतिस्पर्धात्मक वस्तु निर्यात गर्न उल्लेख गरे।
व्यापार घाटाको समस्याको हल गर्न नेपालको पक्षबाट नै जोडबल गरिनुपर्दछ। यसका लागि संयुक्त कार्यदल स्थापनासम्बन्धी नेपालको उद्योग मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच भएको समझदारीलाई शिघ्र कार्यान्वयनमा ल्याउनुपर्ने हुन्छ।
मन्त्रालय मातहतको कार्यदलले संयुक्त रूपमा सन्तुलित व्यापारका लागि व्यापार घाटाको नियमित अध्ययन गरी आवश्यक सुझावहरू दिन सक्ने छन्।
साथै दुई देश बीचको व्यापारको नयाँ विषयवस्तुहरूको अध्ययन गर्न सक्नेछन् र व्यापार प्रवर्द्धनमा सहजकर्ताको भूमिका खेल्न सक्ने छन्। यसका साथै नेपालबाट चीनमा सुन्तला लगायत फलफूल निर्यातको लागि आवश्यक प्रोटोकलसम्बन्धी सम्झौता भएको छ जसले नेपालबाट सहज रूपमा सुन्तला र फलफूल निर्यात गर्न सक्ने वातावरण निर्माण गरिदिएको छ।
यसका लागि नेपालले उत्पादन, प्रशोधन र प्याकेजिङलगायत चिनियाँ बजारको अनुगमन जस्ता कार्यहरूको शिघ्र थालनी गर्दा प्रभावकारी हुनेछ।
साझा हिमालय क्षेत्रको रक्षा
राष्ट्रपति सी नेपालले जलवायु परिवर्तनबाट भोग्ने समस्याबारे चीन जानकार रहेको र उक्त समस्या समाधान गर्न संयुक्त रूपमा काम गर्न सकिने बताउँदै हिमाली क्षेत्रका बासिन्दालाई सरलरूपमा पुनर्स्थापना गरी उनीहरूको जीवनस्तर उकास्ने कुरामा सहयोग गर्ने प्रतिवद्धता पेश गरे जुन कुरामा नेपालले चीन पक्षसँग परामर्श गरी संयुक्त प्याकेज ल्याउन सक्ने छ।
विपद् जोखिम न्यूनीकरण र आपत्कालीन सहायताको लागि गृह मन्त्रालय र चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालयबीच सोको लागि समझदारी भएको छ।
त्यसैगरी अरु विपद् नियन्त्रण सहयोगमा नेपालमा चाइना एड अर्थक्वेक मनिटरिङ नेटवर्क प्रोजेक्टको लागि कार्य गर्ने कुरामा पनि सहमति भैसकेको छ जसको कार्यान्वयनका लागि नेपालले तदारुकता अपनाउन जरुरी छ।
गरिबी र जीवनस्तरमा अभिवृद्धि
नेपालीको जीवनस्तर उकास्नका लागि सन् २०२० देखि २०२२ सम्मका लागि ३.५ अर्ब आरएमबी उपलब्ध गराइने कुरा राष्ट्रपति सीले उल्लेख गरे जसको लागि नेपाल तर्फबाट विस्तृत कार्यक्रमहरू तयार गरिनुपर्ने छ।
नेपालले जीविकोपार्जन र आममानिसको जीवनस्तर उकास्नका लागि सहयोगात्मक कार्यक्रमको खाका कोर्ने सके चिनियाँ सहयोगले विपन्न समुदायको जीवनमा केही हदसम्म परिवर्तन ल्याउन सकिनेछ।
सौहार्द सम्बन्धको प्रतिवद्धता
राष्ट्रपति सीले दुई देशको सौहार्द सम्बन्धमा ‘नेपाल र चीनबीच अरु केही हैन मित्रता मात्र’ रहेको उल्लेख गरे। साथै दुई देशबीचको सम्बन्ध जीवन्त राख्न आपसी समझदारीमा जोड र धेरै जस्तो रूपले छिमेकीको समस्या सीमा विवाद हुने यथार्थलाई बुझेर सीमा व्यवस्थापन प्रणालीको लागि सम्झौता, सीमा सुरक्षा उपकरण र कार्यालय उपकरणको लागि पत्र आदानप्रदान गरेका हुन्।
यो सम्झौताले विद्यमान सीमासम्बन्धी असन्तुष्टि र भविष्यमा हुने कुनै पनि सीमा विवादलाई हाल गर्न सक्ने छन्। त्यसैगरी दुवै देशको सुशासन क्षमता अभिवृद्धिका लागि समझदारी कायम भएको छ।
काठमाडौं महानगरपालिका र चीनको नानजिङ सिटीबीच तथा बुटवल उपमहानगरपालिका र चीनको जियाङ सिटीबीच भगिनी सम्बन्ध स्थापनाको सहमति पनि भएको छ।
अपराधसम्बन्धी आपसी कानुनी सहायताको लागि सम्झौता र महान्यायाधीवक्ता कार्यालय र चीनको सुप्रिम पिपुल्स प्रोक्युरेटर्सबीच समझदारी कायम भएको छ।
यी समझदारीहरूले दुवै देशको एक अर्काप्रति विश्वास, सहयोग र सौहार्दतालाई बढावा दिनेछ। यसका लागि दुवै देशको एकअर्काप्रतिको उतिकै सहयोगको आवश्यकता हुनेछ जसका लागि दुवै देश हरपल तत्पर रहनुपर्नेछ।
द्विपक्षीय लगानीको प्रवर्द्धन
राष्ट्रपति सीको भ्रमणमा नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच लगानीका प्रमुख परियोजनाको प्रवर्द्धन र उत्पादनमूलक क्षमतामा समन्वयनको लागि समझदारी भएको छ जसले लगानीको क्षेत्रको पहिचान गरी लगानी सुदृढ गर्न सक्ने छन्।
यसले लगानी प्रवर्द्धन गरी लगानीका नयाँ आयामहरूको अध्ययन गर्ने सक्ने छन् र हालका लगानीलाई नियमन र अनुगमन गर्ने सक्ने छ्न्। त्यसैगरी लगानी समन्वय कार्यदल स्थापनाको लागि अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच समझदारी भएको छ जसले नेपालमा लगानीकर्तालाई सहज रूपमा लगानी गर्ने वातावरणको निर्माण गर्ने सक्ने छ।
शिक्षा स्वास्थ
राष्ट्रपति सीको भ्रमणले दुवै देशको परम्परागत औषधि व्यवस्थापन, प्रवर्द्धन र उत्पादन सहकार्यकोका लागि स्वास्थ्य मन्त्रालय र चीनको राष्ट्रिय परम्परागत औषधि प्रशासनबीच समझदारी भएको छ।
त्यसैगरी जीवन दर्शन र अध्यात्मिक चिन्तनसम्बन्धी अध्ययन र अनुसन्धानका लागि त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस हेडक्वार्टरबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्युट स्थापनाको लागि सम्झौता भएको छ।
यसले दुवै देशको स्वास्थ्य क्षेत्रबाट नतिजामुखी खोज र अध्ययन गर्न सक्ने छन् भने नेपालमा कन्फ्युसियस अध्ययन गर्नेलाई सहजता प्रदान गर्ने छ।
यो चीनको सफ्ट पावर अप्रोच पनि हो जसले नेपाललाई कुनै हानी नोक्सानी हुने छैन।
कन्फ्युसियस अध्ययन कुनै धार्मिक र साँस्कृतिक अध्ययन भन्दा पनि जीवन दर्शनको अध्ययन हो।
यसको अध्ययनले बुद्धत्व झैं जीवनलाई मार्गदर्शन गर्ने र मानिसमा अध्यात्मिक चेतको विकास गर्ने गर्छ।
कतिको ऐतिहासिक? कतिको सफल भ्रमण?
साधारणतया सी भ्रमण ऐतिहासिक रहेको कुरा नेपालको हित र स्वार्थ केन्द्रित रहेर निर्धारित गरी विचार आउँदै छन् र आउने छन्।
नेपालको हित र स्वार्थहरूको कुन हदसम्म सम्बोधित भयो? नेपालले सी भ्रमणबाट के के लाभ लिन सक्यो भन्ने कुरामा सीको भ्रमणको सफलतालाई निर्धारित गरिँदै छ र गरिएला।
यो आ- आफ्नो विचार र तर्क संगत सही होलान् तर नेपालको वर्तमान अन्तर्राष्ट्रिय सम्बन्धको माग अन्तरदेशीय सम्बन्धमा राष्ट्रिय स्वार्थको सीमित दायराभित्र खुम्चिनु हैन बरु अन्तर्राष्ट्रिय जगतमा प्राथमिकतामा पर्नु हो र राम्रो छवि निर्माण गर्नु हो।
त्यसका लागि अधिकतम शक्ति राष्ट्रहरूसँगको मित्रतालाई जोड दिनु हो त्यसमा पनि चीन जस्तो छिमेकी मित्रराष्ट्र र विश्व उदीयमान शक्तिसँगको सम्बन्धमा नेपालले प्राथमिकता पाउनु र उच्चस्तरीय भ्रमण हुनुले नेपालको अन्तर्राष्ट्रिय छवि र पहिचानमा ठूलो महत्व राख्छ।
यस अर्थमा राष्ट्रपति सीको भ्रमण आफैंमा ऐतिहासिक भयो भन्ने भनिराख्नु पर्दैन।
हिमालको शीरसँगै जोडिएको छिमेकीबाट २३ वर्षपछि भ्रमण हुनु आफैंमा ठूलो उपलब्धि हो। यो उपलब्धि कुनै पनि राष्ट्रिय हित र स्वार्थ भन्दा माथि हो किनकी यो भ्रमणले नेपालको अन्तर्राष्ट्रिय महत्व अवश्य पनि बढाइ दिएको छ।
विश्वको उदीयमान शक्तिको शक्तिशाली र प्रभावशाली नेताले नेपाल टेक्नु भनेकै उनको प्राथमिकतामा परेरै हो।
त्यसैले भ्रमण उपलव्धिमूलक भन्नु हतारो होला तर ऐतिहासिकभन्दा कुनै फरक नपर्ला।
भ्रमण उपलव्धिमूलक हुन यहाँको चलन अनुसार ठूलो आर्थिक सहायता भ्रमणसँगै भित्रिनु मात्र हो तर सी भ्रमणको प्रतिवद्धता र सहमतिहरू केलाउने हो भने नेपालको हितमा चीनको तर्फबाट स्पष्ट मार्गचित्र सहितको दीर्घकालीन सहयोग झल्किन्छ।
सीका प्रतिवद्धताहरू चेक हुन् यसलाई क्यास गर्ने नेपालको तदारुकतामा भर पर्छ।
सीले जसरी आफ्नो माटो र देशको लागि स्पष्ट मार्गचित्र सहितको दीर्घकालीन मुद्दा र योजनाहरूको उठान गर्छन्। त्यही अनुरूप नेपालको समयानुकूल हित र दुवै देशको सम्बन्धको लामो दूरीको मार्ग चित्र कोरेर गएका छन्।
नेपालको अबको भूमिका के?
नेपालको हालको नेतृत्वलाई सीको भ्रमणलाई उपलव्धिमूलक साबित गर्नुपर्ने चुनौती आइपरेको छ। राष्ट्रपति सीले नेपाललाई दिएको चेकलाई क्यास गर्ने हालको नेतृत्वको प्रमुख जिम्मेवारी हो।
त्यसको लागि नेतृत्वमा समझदारी र प्रतिवद्धताहरूप्रति दृढताका साथ लगनशीलता र मिहिनेत चाहिन्छ। चिनियाँ राष्ट्रपतिले भनेझैं जनताको मन जित्न जनताप्रति समर्पित हुनु आवश्यक छ।
हाल गरिएको सम्झौताहरूको कार्यान्वयनका लागि इच्छाशक्ति र कौशल कूटनीति नितान्त आवश्यक छ। यी सम्झौताहरू सरकार मात्रै हैन सिंगै देशको कार्यकौशलता र सक्षमताको परीक्षा हो जसको सफलताले नेपालप्रतिको विश्वासमा बढावा ल्याउन सक्दछ।
(लेखक त्रि.वि, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिशास्त्र अध्ययनरत छन्।)