विश्वकप फुटबलको २१ औं संस्करणको उपाधिका लागि आज फ्रान्स र क्रोएसिया भिड्दै छन्।
तेस्रो पटक फाइनलमा पुगेको फ्रान्सले एक पटक उपाधि जितेको छ भने पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसिया उपाधि जितेर इतिहास रच्ने दाउमा छ।
यी दुई देश अहिलेसम्म पाँच पटक आमनेसामने हुँदा फ्रान्सले तीन पटक क्रोएसियालाई पराजित गरेको छ। दुई खेल बराबरी भएका छन्।
तर यी राष्ट्र दुई पटकमात्र प्रमुख प्रतियोगितामा आमनेसामने भएका छन्।
सन् १९९८ को विश्वकपको सेमिफाइनलमा क्रोएसियाले पहिलो गोल गरेको थियो। तर डिफेन्डर लिलियन थुरामले २ गोल गर्दै नतिजा फ्रान्सको पक्षमा पारिदिए। त्यो साल फ्रान्सले उपाधि नै चुम्यो।
सन् २००४ को युरोकपको समूह चरणमा दुबैले बराबरी खेलेका थिए। अन्तिम पटक सन् २०११ को मार्चमा फ्रान्स र क्रोएसियाले मैत्रीपूर्ण खेल खेलेका थिए। उक्त खेल गोलरिहत बराबरी भएको थियो।
दुई पटक विश्वकपको फाइनल खेलेको फ्रान्सले फाइलन खेलमा चार गोल गरेको छ।
जसमध्ये तीन गोल ‘सेट पिस’ बाट भएका छन्।
सेटपिस भन्नाले फ्रिकिक, कर्नर बुझिन्छ।
फ्रान्सका फरवार्ड केलियन एम्बाप्पे र एन्टोइन ग्रिजम्यानले मात्र होइन डिफेन्डरसमेत गोल गर्न सक्षम छन्। जारी विश्वकपमा फ्रान्सका तीन डिफेन्डर बेन्जामिन पाभार्ड, रफायल भरान र उम्टिटीले गोल गरेका छन्।
स्ट्राइकर ओलिभर जिरुले भने १३ प्रहार पोस्टमा गर्दासमेत गोल गर्न सकेका छैनन्।
१९ वर्षीय एम्बाप्पेले आज गोल गरे विश्वकप फाइनलमा गोल गर्ने उनी पेलेपछि दोस्रो ‘टिएनजर’ बन्नेछन्। जारी विश्वकपमा एम्बाप्पेले तीन गोल गरिसकेका छन्।
अर्कोतर्फ ग्रिजम्यानले गोल गरेको हरेक खेल फ्रान्सले जित्दै आएको छ।
ग्रिजम्यानले पोस्टमा प्रहारमात्र नगरेर गोलका लागिसमेत पास उपलब्ध गराउने गरेका छन्। उनले उपलब्ध गराएको पासमा युरोकप र विश्वकपमा ११ गोल भैसकेको छन्।
अर्कोतर्फ क्रोएसिया नकआउट चरणका तीन वटै खेल एक्स्ट्रा समयमा पुर्याएर जित हात पार्ने पहिलो टोली बनेको छ। राउण्ड अफ सिक्सटिनमा डेनमार्कविरुद्ध क्रोएसियाले १-१ को बराबरी खेलेको थियो। पेनाल्टी सुटआउटमा क्रोएसिया ३-२ ले विजयी भयो। क्वार्टर फाइलनमा क्रोएसियाको भिडन्त आयोजक रसियासँग भयो।
९० मिनेटको खेल २-२ को बराबरी भएपछि पेनाल्टीमा क्रोएसियाले ४-३ को जित निकाल्यो।
त्यस्तै सेमिफाइलनमा इंग्ल्याण्डविरुद्धको खेलको ९० मिनेट पनि १-१ को बराबरी भयो। एक्स्ट्रा समयमा क्रोएसियाले गोल थप्दै जित निकाल्यो।
क्रोएसियाले जारी विश्वकपमा ५ गोल खाएको छ भने १२ गोल गरेको छ। १२ गोल विभिन्न ८ खेलाडीले गरेका छन्।
फ्रान्सले १० गोल मात्र गरेको छ भने आफ्नो पोस्टमा ४ गोल मात्र छिर्न दिएको छ। फ्रान्ससँगको कुनै पनि खेल एक्स्ट्रा समयमा पुगेको छैन।
फ्रान्स र क्रोएसियाको आजको फाइनल खेल मिडफिल्ड भिडन्तमा केन्द्रीत हुनेछ। ब्लेज मटुडी, पउल पोग्बा र न्गोलो कान्टेजस्ता फ्रान्सका मिडफिल्डर र इभान राकेटिच, मार्सेलो ब्रोजोभिच र लुका मोड्रिचजस्ता क्रोएसियाका मिडफिल्डरबीच प्रतिष्पर्धा हेर्न लायक हुनेछ। जारी विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेक मोड्रिच तीन पटक ‘म्यान अफ द म्याच’समेत भैसकेका छन्।
रियल मेड्रिडबाट व्यावसायिक फुटबल खेल्ने मोड्रिच जारी विश्वकपको गोल्डेन बलको समेत दाबेदार हुन्। फ्रान्सका प्रशिक्षक डिडियर देस्सामले आफ्नो यूवा टोलीको मनोबलले हिमाल चढिरहेको बताएका छन्। उनले आफ्नो यूवा टोली आगामी चार वर्षमा थप अनुभवी र बलियो हुनेसमेत बताएका छन्।
‘हामीले विश्व विजेता हुने अवसर सिर्जना गरेका छौं’, देस्सामले भनेका छन्, ‘हामी त्यो अवसर सदुपयोग गरी भाग्य कोर्न चाहन्छौं।’
क्रोएसियाका प्रशिक्षक ज्लात्को दलिचले ठूला नामहरू यसअघि नै किनारामा पुगेको र आफ्नो एकीकृत र सन्तुलित टोली अझै लडाइँमा रहेको बताएका छन्।
‘यो अचम्मको विश्वकप हो। फुटबल धेरै उच्चस्तरको भयो। हरेक टोलीले डिफेन्स गर्न सक्ने भए। त्यसैले गोलअन्तर घटेको छ। टिम महत्वपूर्ण भएको छ’, दलिचले भनेका छ्न्, ‘हामीले पछिल्लो दश वर्ष व्यक्तिगत राम्रा खेलाडी उत्पादन गर्यौं। तर यसपटक हामीले उत्कृष्ट टिम नै बनाएका छौं।’
फ्रान्सका मिडफिल्डर पोग्बाले आफूले विश्वकप जित्ने सानोदेखि पालेको सपना पूरा हुने संघारमा रहेको बताएका छन्।
‘मैले फुच्चे केटाको रूपमा विश्वकपको फाइलनमा गोल गर्ने सपना बुनेको थिएँ’, पोग्बाले भनेका छन्, ‘मैले मेरो गोलहरूको अध्ययन गरिसकेँ, म गोल गर्न चाहन्छु।’
क्रोएसियाका मिडफिल्डर लुका मोड्रिच पनि आफ्नो टोलीलाई कम आँकिएकाले फेरि पनि प्रदर्शनबाट जवाफ दिने बताएका छन्।
विश्वकपको फाइनल मस्कोस्थित लुजनिकी रंगशालामा पौने राति ९ बजेदेखि सुरू हुनेछ।