६ महिनामा २८ वाणिज्य बैंकहरुले ३० अर्ब ८१ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।
सार्वजनिक दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकहरुको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको यसै अवधिमा यी बैंकहरुको नाफा २३ अर्ब ७० करोड २२ लाख थियो। वित्तीय विवरणअनुसार कुनै पनि बैंकको नाफा घटेको छैन।
पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै २ अर्ब ४० करोड नाफा कमाएको छ। गत वर्षको यस अवधिमा यो बैंक तेस्रो स्थानमा रहेको थियो।
गत वर्ष पहिलो र दोस्रो स्थानमा रहेका नविल र इन्भेष्टमेन्ट अहिले क्रमशः दोस्रो र तेस्रो स्थानमा झरेका छन्। नेपाल बैंकले चौथो स्थान सुरक्षित गरेको छ। गत वर्ष यस अवधिमा एभरेष्ट बैंक उत्कृष्ट पाँचभित्र पर्न सफल भएकोमा अहिले एनआइसी एसियाले प्रतिस्थापन गरिदिएको छ।
नाफा बृद्धिका आधारमा एनआइसी एसियाले सबैभन्दा ठूलो फड्को मारेको छ। गत आवको ६ महिनामा ५७ करोड खुद नाफा कमाएको बैंकले यस पटक १ अर्ब ५१ करोड पुर्याएको छ। बैंकको नाफामा १६४ प्रतिशतको वृद्धि हो।
सार्वजनिक विवरणअनुसार अर्धवार्षिक अवधिमा १५ बैंकहरु अर्बपतिको सूचीमा छन्। गत वर्षको यस अवधिमा ८ बैंकहरु थिए। यस पटक अर्बपतिको सूचीमा थपिनेमा एनआइसी एसिया, एनएमबि, एसबिआई, सिद्धार्थ, ग्लोबल आइएमई, प्राइम कमर्सियल र प्रभु छन्।
व्यवसाय बढ्दै जाँदा नाफा बढेको बैंकहरुले बताउँदै आएका छन्। ‘पुँजी बढेको छ, निक्षेप र कर्जा बढेको छ त्यसले नाफा बढ्नु स्वभाविक हो’ जनता बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवरले भने। राष्ट्र बैंकले तोकेको स्प्रेड दरभित्र रहेर बैंकहरुले नाफा लिएको उनले बताए।
वाणिज्य बैंकहरुले एक वर्षको अवधिमा ४ खर्ब ४६ अर्ब कर्जा बढाएका छन्। पुस मसान्तसम्म वाणिज्य बैंकहरुबाट मात्रै २३ खर्ब ६८ अर्ब कर्जा प्रवाह भएको छ। अघिल्लो वर्षको पुस मसान्तसम्म १९ खर्ब २२ अर्ब प्रवाह भएको थियो।
हेर्नुहोस् कुन बैंकको नाफा कति ?
बैंक | अहिलेको नाफा (०७५ पुस) | पहिलेको नाफा (०७४ पुस) |
राष्ट्रिय वाणिज्य | २ अर्ब ४० करोड ९९ लाख | १ अर्ब ७८ करोड ५९ लाख |
नविल बैंक | २ अर्ब १७ करोड ६८ लाख | १ अर्ब ८३ करोड ७७ लाख |
नेपाल इन्भेष्टमेन्ट | १ अर्ब ९७ करोड ५५ लाख | १ अर्ब ८३ करोड ४ लाख |
नेपाल बैंक | १ अर्ब ६६ करोड १४ लाख | १ अर्ब ६३ करोड ८४ लाख |
कृषि विकास | १ अर्ब ३६ करोड ४२ लाख | १ अर्ब २ करोड ९१ लाख |
एनआइसी एसिया | १ अर्ब ५१ करोड १४ लाख | ५७ करोड १७ लाख |
एनएमबि | १ अर्ब १० करोड ९९ लाख | ९६ करोड २७ लाख |
एभरेष्ट | १ अर्ब ४२ करोड ९९ लाख | १ अर्ब २२ करोड २८ लाख |
हिमालयन | १ अर्ब ३६ करोड ७० लाख | १ अर्ब १० करोड ५ लाख |
एसबिआई | १ अर्ब २ करोड २७ लाख | ९१ करोड ३० लाख |
स्टान्डर्ड चार्टड | १ अर्ब १४ करोड ५३ लाख | १ अर्ब ७ करोड २५ लाख |
सिद्धार्थ | १ अर्ब ६ करोड ९४ लाख | ८६ करोड ९३ लाख |
ग्लोबल आइएमई | १ अर्ब २२ करोड ९३ लाख | ९७ करोड ९९ लाख |
सानिमा | ९८ करोड २० लाख | ८३ करोड ५ लाख |
प्राइम कमर्सियल | १ अर्ब ६ करोड ८ लाख | ७९ करोड २२ लाख |
सनराइज | ७९ करोड २७ लाख | ५८ करोड ७५ लाख |
माछापुच्छ्रे | ७८ करोड १३ लाख | ४८ करोड ६५ लाख |
बैंक अफ काठमाण्डु | ७३ करोड ७५ लाख | ५५ करोड १५ लाख |
जनता | ६३ करोड ४६ लाख | ३३ करोड ३५ लाख |
प्रभु | १ अर्ब ४ करोड १८ लाख | ६० करोड ११ लाख |
नेपाल बंगलादेश | ७९ करोड ३३ लाख | ४६ करोड ७९ लाख |
मेगा | ७३ करोड २० लाख | ३९ करोड ३६ लाख |
सिटिजन्स | ७७ करोड ३ लाख | ६२ करोड ८६ लाख |
लक्ष्मी | ७२ करोड ३७ लाख | ५५ करोड १ लाख |
कुमारी | ६७ करोड ६२ लाख | ५२ करोड २० लाख |
एनसिसी | ७४ करोड ११ लाख | ५३ करोड |
सेन्चुरी | ५१ करोड ८१ लाख | ३६ करोड ६५ लाख |
सिभिल | ३५ करोड ९७ लाख | २४ करोड १ लाख |