पछिल्ले समय शेयर बजारले खासै गति लिन सकेको छैन । असार १ मा १२५८ अंकमा रहेको शेयर बजार असार मसान्त सम्मा ८ अंकले घटेर १२५० अंकमा सिमित भएको छ। असार महिना शेयर बजारमा त्यस्तो उछाल नभएपनि १६ र १७ गते भने बैंकहरुको मर्जरको चर्चाले गर्दा २७ अंकले बढ्यो । त्यस लगत्तै ओरालो लागेको बजार बढ्न सकेको छैन ।
मर्जरकै चर्चाले पछिल्लो केही साना तथा मझैला स्तरका बैंकको शेयर र कारोबार ह्वात्तै बढ्यो । तर, नेपाल राष्ट्र बैंकले असार २७ मा सार्वजनिक गर्ने भनेको मौद्रिक नीति नआएपछि त्यो उत्साह पनि सुस्ताएको छ र लगानीकर्तालाई अन्यौल बनाएको छ ।
लगानीकर्ताहरु असार महिनामा चौथो त्रैमासिकको व्याज तिर्नुपरेकाले पनि शेयर बजारमा नतातेको बताउँछन् । यस्तै ठुला लगानीकर्ताहरु आर्थिक वर्षको अन्तमा कर तिर्नुपर्ने भएकाले पनि शेयर बजार नबढेको लगानीकर्ताको विश्लेषण छ ।
त्यसो भए, आगामी हप्ता कस्तो होला त शेयर बजार ?
नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल यो हप्ता शेयर बजार बढ्न सक्ने संभावना रहेको बताउछिन् ।
‘यो हप्ता शेयर बजारमा सामान्य सुधार हुन्छ,’ पोखरेलले भनिन्, ‘मर्जरको चर्चाले केही दिन यता जस्तै साना तथा मझौला बाणिज्य बैंकमा लगानीकर्ताको आकर्षण बढ्न सक्छ, यसले गर्दा शेयर बजार सकारात्मक हुन्छ ।’
तर, ठूला लगानीकर्ताले कर तिर्नुपर्ने र मौद्रिक नीति ढिलो आउने भएकाले भने शेयर बजार उत्साहजनक रुपमा नबढ्ने बताउँछिन् पोखरेल ।
इन्भेष्टमेन्ट फोरमका अध्यक्ष छोटेलाल रौनियार पनि यो हप्ताको शेयर बजार थाेरै अंकले तलमाथि हुने अनुमान गर्छन्।
‘शेयर बजार कस्तो हुन्छ भविस्यवाणी त गर्न सकिँदैन,’ रौनियारले भने, ‘सबै लगानीकर्ताले यो हप्ता व्याज तिरिसक्ने हुनाले केही लगानी शेयर बजारमा पनि बढ्न सक्छ।’
मौद्रिक नीति ढिलो अउँदा शेयर बजारमा असर परेको बताउँदै रौनियारले मर्जरले गर्दा शेयर लगानीकर्तालाई अन्यौल भएको दाबी गरे।
उनी सरकारले मौद्रिक नीति बेलैमा नल्याउदाँ मर्जरको विषयमा कस्तो नीति आउने हो भन्ने शंकाले गर्दा लगानीकर्तामा के मा लगानी गर्ने भन्ने अन्यौल रहेको बताउँछन् ।
लगानीकर्ताहरु यो हप्ता पनि साना बाणिज्य बैंकमा आकर्षित हुने उनको अनुमान छ । ‘मर्जरको चर्चा व्यापक छ, त्यसैले लगानीकर्ताहरु स्वाप रेसियोले गर्दा फाइदा हुन्छ भनेर साना तथा मझौला वाणिज्य बैंकमा लगानीकर्ताको आकर्षण रहन्छ,’ रौनियारले भने।
पोखरेल बाणिज्य बैंकसँगै इन्सुरेन्स कम्पनीको शेयरमा पनि लगानीकर्ता आकर्षित हुने अनुमान गर्छिन् । उनीहरुको बोनसले लगानी कर्तालाई आकर्षण गर्ने उनको विश्लेषण छ। तर, रौनियार भने इन्सुरेन्समा लगानी कर्ताको आर्कषण बढ्ने कुनै आधार नभएको बताउँछन् ।
‘बीमा समितिले दिएको चुक्ता पूँजीको टार्गेट पुर्याउन नसकेका कारण लगानीकर्ता इन्सुरेन्समा आकर्षित हुदैनन् र त्यहाँ फाइदाँ पनि छैन,’ उनले भने ।
बीमा समितिले बीमा कम्पनीलाई न्युनतम पूँजी पुर्याउन असार मसान्तको समय सिमा दिएको छ । जीबन बीमा कम्पनीहरुले असार मसान्त भित्र २ अर्ब तथा निर्जीबन बीमा कम्पनीहरुले एक अर्ब चुक्ता पूँजी पुर्याउनु पर्ने निर्देशन बीमा समितिको छ।
राधा पोखरेलकै कुरामा सहमति जनाउँदै यो हप्ता पनि लगानीकर्ताको चाप सस्तो बैंकको शेयरमा पर्ने बताउँछन् रौनियार। मर्जरमा जाँदा स्वाप रेसियोले गर्दा फाइदा हुने देखेर लगानीकर्ता बाणिज्य बैंकको शेयर किन्ने उनले दाबी गरे ।
यो हप्ता नेपालको शेयर बजारमा मर्जर बाहेक अन्य कुनै असर नपर्ने लगानीकर्ताको भनाइ छ ।