२०७५ सालको साउनदेखि २०७६ को जेठसम्म विश्वका विभिन्न मुलुकमा काम गर्न गएका नेपालीहरुले ७ खर्ब ९९ अर्ब रुपैयाँ नेपाल पठाएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले बढेर नेपाली रुपैयाँमा झन्डै ८ खर्ब रेमिट्यान्स भित्रिएको हो।
तर अमेरिकी डलरमा ८.१ प्रतिशतलेमात्र बृद्धि भएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ९.७ प्रतिशतले बढेको थियो ।
रेमिट्यान्स आउने क्रम बढे पनि काम गर्न जाने नेपालीहरुको संख्या भने निरन्तर घटीरहेको छ। राष्ट्र बैंकका अनुसार ११ महिनामा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३७.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८.२ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने समीक्षा अवधिमा ५.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.६ प्रतिशतले घटेको थियो ।
आर्थिक वर्ष २०७५/७५ को ११ महिनामा २ लाख १४ हजार नेपालीहरु विदेश गएका छन्। श्रम स्वीकृति नविकरण गरेर जानेसहितको संख्या जोड्दा २ लाख ५४ हजार पुग्ने देखिन्छ।