बैंकबाट ऋण लिनुअघि पक्कै पनि तपाईले सस्तो व्याज खोज्नुहुन्छ। व्याज मात्रै नभई प्रक्रियागत सहजता, चाँडो ऋण प्रदान गर्ने, तुरुन्त व्याजदर नबढाउने बैंक ऋणीका लागि रोजाईका शर्त हुन सक्छन्।
वाणिज्य बैंकहरुले हाल १६ प्रतिशतसम्म ऋणमा व्याज लिँदै आएका छन्। बैंकहरुले लिने ऋणको व्याज आधार दरले निर्धारण गर्दछ। सामान्यतः जुन बैंकको आधार दर कम हुन्छ, त्यो बैंकको ऋण पनि सस्तो पर्न जान्छ। यसको अर्थ आधार दरले मात्रै ऋणको व्याजदर निर्धारण हुने भने होइन। आधार दरमा जोडिने प्रिमियम दर पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
बैंकहरुले ऋणको प्रकृति हेरिकन आधार दरमा निश्चित प्रिमियम दर जोडेर ऋणीलाई व्याजदर तय गरिदिन्छन्।
त्यसकारण ऋणीले आधार दरमा जोडिने प्रिमियम दर पनि विचार पुर्याउनुपर्छ। यदी दुई बैंकको आधार दर समान ८ प्रतिशत छ भने प्रिमियम दर जुन बैंकले कम लिन्छ, सो बैंकको व्याज सस्तो पर्छ।
ऋणको प्रयोजन, ग्राहकप्रति बैंकको विश्वास, धितोको मूल्य लगायत पक्षलाई केलाएर बैंकहरुले प्रिमियम दर निर्धारण गर्छन्। पछिल्लो समय राष्ट्र बैंकले कृषि तथा उत्पादनमूलक क्षेत्रमा जाने ऋणमा आधार दरमा बढीमा २ प्रतिशत मात्रै प्रिमियम दर जोड्न पाउने व्यवस्था गरेको छ। यो व्यवस्थाअनुसार आधार दर ८ प्रतिशत भएको बैंकले कृषिमा दिने ऋणमा बढीमा १० प्रतिशतसम्म मात्रै व्याज लिन पाउने छन्।
तर अन्य व्यवसायिक प्रयोजनका लागि दिइने ऋणमा बैंकहरुले आफै प्रिमियम दर निर्धारण गरेर ऋण दिन्छन्। बैंकहरुले आधार दरमा ५ प्रतिशतसम्म जोडेर ऋणको व्याजदर निर्धारण गर्ने गरेका छन्।
तुलनात्मक रुपमा पछिल्ला त्रैमासमा बैंकहरुको आधार दर घट्दै गएको देखिन्छ। असार मसान्तसम्म २८ बैंकहरुको औसत आधार दर ९. ५८ प्रतिशत छ। अघिल्लो असार मसान्तसम्म यो दर १०. ४२ प्रतिशत थियो।
‘आधार दर घट्नु भनेको ऋणीलाई राहत मिल्नु हो, त्यसमाथि हाम्रो आधार दर सबैभन्दा कम छ’ राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले भने।
बेलाबेलामा विभिन्न बैंकहरुले घरजग्गा, सवारीसाधन खरिद वा अन्य कुनै व्यवसाय गर्नका लागि सस्तो व्याजको अफर समेत ल्याएका हुन्छन्। ती अफरबाहेक सामान्य अवस्थामा ऋण लिन चाहनेलाई आधार व्याजदर महत्वपूर्ण हुन्छ।
अर्कोतर्फ सरकारले विभिन्न सात शिर्षकमा सहुलियतपूर्ण व्याजमा ऋण प्रदान गर्दै आएको छ। सरकारले दिने सहुलियतपूर्ण ऋणका लागि पनि आधार दर महत्वपूर्ण हुन्छ।
यस्तो सहुलियतपूर्ण ऋणमा आधार दरमा बढीमा २ प्रतिशत जोडेर त्यसमा ५ प्रतिशत घटाई ऋणको व्याज निर्धारण हुन्छ। उदाहरणका रुपमा राष्ट्रिय वाणिज्य बैंकको आधार दर ५. ५० प्रतिशत छ, यसमा प्रिमियम दर २ जोडेपछि ७. ५० हुन्छ। त्यसबाट ५ घटाएर २. ५० प्रतिशत व्याज ऋणीले तिरे पुग्छ। त्यसकारण सरकारले दिने सहुलियत ऋणका लागि पनि आधार दर बुझ्नु जरुरी छ।
हेर्नुहोस् कुन बैंकको आधार दर कति छ ?
बैंक | आधार दर प्रतिशतमा (असार २०७६) | आधार दर प्रतिशतमा (असार २०७५) |
राष्ट्रिय वाणिज्य | ५. ५० | ६. २० |
कृषि विकास | १०. ५८ | ११. ७३ |
नविल | ८. ०९ | ७. ७८ |
इन्भेष्टमेन्ट | ८. ३३ | ९. ०२ |
एनआइसी एसिया | ९. ४८ | ११. ५० |
एभरेष्ट | ८. १२ | ८. ४५ |
हिमालयन बैंक | ९. ०५ | ९. ६६ |
ग्लोबल आइएमई | ९. ५४ | १०. ५५ |
नेपाल बैंक | ७. ९८ | ७. ०३ |
स्टान्डर्ड चार्टड | ७. ६३ | ७. ८७ |
प्राइम कमर्सियल | १०. ०३ | १०. ४७ |
एनएमबि | ९. ८६ | १०. ७० |
सिद्धार्थ | १०. ५७ | ११. १६ |
एसबिआई | ९. ७२ | १०. १२ |
सानिमा | ९. ४५ | ९. ९१ |
प्रभु | ९. ३६ | १०. ६२ |
बैंक अफ काठमाण्डु | ९. ९८ | १०. ६७ |
मेगा बैंक | ९. ९८ | ११. ३८ |
सनराइज बैंक | १०. ३२ | ११. ३९ |
माछापुच्छ्रे | १०. ३७ | ११. ०६ |
नेपाल बंगलादेश | १०. २० | ११. ५१ |
लक्ष्मी | १०. ३१ | ११. ४८ |
एनसिसी | १०. २३ | ११. ९८ |
सिटिजन्स | १०. ५२ | ११. ७८ |
जनता बैंक | ९. ९५ | ११. ६० |
कुमारी | १०. ८२ | ११. ६० |
सेन्चुरी | ११. २९ | १२. ०८ |
सिभिल बैंक | ११. ११ | ११. ८४ |
स्रोतः बैंकहरुले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरण।