शेयर बजार बुधबार झिनो अंकले सुधार भएको छ। मंगलबार ९ अंकले घटेको शेयर बजार आज ०.४२ अंकले सुधार भई १२१४.०५ अंकमा पुगेको छ। यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.२२ अंकले सुधार हुँदै २६३.४१ अंकमा पुगेको छ।
बजार परिसूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकममा भने वृद्धि हुन सकेको छैन। बुधवार १६१ कम्पनीका १२ लाख ७० हजार कित्ता शेयर २९ करोड २६ लाख रुपैयाँमा कारोबार भयो।
आज सबैभन्दा बढी शेयर कारोबार सोल्टी होटेलको भयो। सो कम्पनीको मात्रै चार करोड २० लाख रुपैयाँको शेयर कारोबार भयो। यस्तै दोस्रोमा माछापुछ्रे बैंक छ। सो बैंकको दुई करोड ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।
आज १२ समूहमध्ये आठ समूहको सूचक घट्यो भने चार समूहको बढ्यो । सबैभन्दा बढी ट्रेडिङ समूहमा २.५६ अङ्कको वृद्धि भएको छ भने होटेल समूहको उपसूचक ०।७५ अङ्कले घटेको छ।
आज सबैभन्दा बढी विशाल बजार कम्पनीका लगानीकर्ताले कमाए भने सबैभन्दा धेरै गुमाउनेमा गणपति माइक्रो फाइनान्सका लगानीकर्ता छन्।
पूँजीगत लाभकर लगायतका विषयको विवाद पुर्ण रुपमा समाधान हुन नसक्दा शेयर बजारमा उत्साह देखिएको छैन। अझै पनि लाभकरको विषयमा अन्यौलता भयो भने त्यसको असर शेयर बजारमा परिरहने देखिन्छ।