गत भदौ १४ मा प्रणाली नै ह्याक गरी एटिएमबाट पैसा चोरी भएयता नेप्स स्वीच अन्तर्गतका एक बैंकको कार्ड अर्को बैंकको एटिएममा नचल्ने भएका छन्।
नेप्सले केही दिनका लागि भन्दै एउटा बैंकको एटिएम कार्ड अर्को बैंकमा नचल्ने जनाएको थियो। तर १५ दिन बितिसक्दा पनि उस्तै रहेको यो समस्याले धेरै कार्डहोल्डरले सास्ती ब्यहोरिरहेका छन्। नेप्सका एक कर्मचारी भन्छन्, ‘हामीले अर्को बैंकको एटिएमबाट पनि पैसा निकाल्न मिल्ने बनाउन कोसिस गरिरहेका छौँ, तर अहिले नै भने भइसकेको छैन।’
उनले केही दिनमा अर्को बैंकको एटिएमबाट पनि पैसा निकाल्न मिल्ने दाबी गरे। पिओएस मेसिन बाट हुने भुक्तानी भने चल्न थालेको छ। कुनै पनि सामान किनेर वा सेवा लिएवापत कार्डबाट भुक्तानी गर्ने पिओएस मेसिनबाट हुने कारोबार संचालनमा आएको नेप्सले जनाएको छ।
नेपालभित्र मात्रै नभई नेपाली कार्ड चल्ने भारतमा पनि कार्डबाट अब पैसा भुक्तानी गर्न सकिने नेप्सले जानकारी दिएको छ। तर, फरक बैंकको एटिएममा कार्ड प्रयोग गरी पैसा निकाल्न भने मिल्दैन।
‘पहिला नेपालमै अर्को बैंकको एटिएम मेसिनबाट पैसा निकाल्न मिल्ने बनाइन्छ त्यसपछि मात्रै भारतबाट पनि नेपाली कार्ड प्रयोग गरेर पैसा निकाल्न सकिन्छ,’ नेप्सका ती कर्मचारीले भने।