अध्ययन तथा विदेश भ्रमणले नेपालको ठूलो रकम विदेशिएको भन्दै नेपाल राष्ट्र बैंकले यसलाई कडाइ गरेसँगै खर्च घटेको छ।
साउनदेखि असोजसम्मको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा अध्ययन तथा विदेश भ्रमण प्रायोजनका लागि खर्च हुने रकम घटेको हो।
नेपाल राष्ट्र बैंकका अनुसार यो तीन महिनामा अघिल्लो वर्षको तुलनामा २८ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिमा ४० प्रतिशतले बढेको थियो।
यो वर्ष अध्ययन तथा भ्रमणका लागि २१ अर्ब २१ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ। जुन अघिल्लो वर्षको भन्दा २८ प्रतिशतले न्यून हो। अघिल्लो वर्षको तीन महिनामा २९ अर्ब ४९ करोड रुपैयाँ बाहिरिएको थियो।
यसमा अध्ययनका लागि भन्दै यो वर्ष १० अर्ब २४ करोड रुपैयाँ गएको छ भने भ्रमण प्रायोजनका लागि ११ अर्ब बाहिरिएको छ। यो वर्ष भ्रमणभन्दा अध्ययनका लागि विदेशीने खर्च घटेको छ। अघिल्लो वर्षको तुलनामा यो वर्ष ७ अर्ब न्यून खर्च भएको छ।
नेपाल राष्ट्र बैंकले यो वर्षका लागि ल्याएको मौद्रिक नीतिबाट डलर सटहीमा कडाइ गर्ने नीति लिएको थियो।
बैंकले अघिल्लो वर्षदेखि नै व्यक्तीगत भ्रमण प्रायोजनका लागि दिने डलर सटही सुविधा पनि कटौति गरेको थियो। उसले २५ सयबाट झारेर १५ सयमा सिमित बनाएको थियो। त्यस्तै कर कार्यालयले पनि कम्पनीहरुले गर्ने विदेशमा गर्ने भ्रमण खर्चलाई खर्चमा देखाउन नपाइने नीति लिएको थियो। यसले पनि केही खर्च कम गरेको सरकारी बुझाइ छ।
पछिल्लो समय भ्रमणका नाममा पनि वर्षेनी खर्च बढ्दै गएको छ। एकातिर देशमा विदेशी मुद्राको सञ्चिति कम हुँदै जाने अर्कोतिर भ्रमणकै नाममा वर्षेनी ठूलो धनराशी बाहिरिएपछि राष्ट्र बैंकले कडाइ गर्ने नीति लिएको हो।