नेपाल बैंकर्स संघको अध्यक्षमा भुवनकुमार दाहाल छनौट हुने भएका छन।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत दाहाल आगामी कार्यकालको लागि अध्यक्ष बन्ने पक्का भएको हो। हालका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले दोस्रो कार्यकालको नेतृत्व नगर्ने भएपछि दाहाललाई नेतृत्व दिने सहमति भएको हो।
'सिनियर दाइहरुले पनि यो भूमिका लिन प्रेरणा दिनुभएको छ,' दाहालले सेतोपाटीसँग भने, 'मैले हुन्छ भनेको छु तर, यसको अन्तिम निर्णय भने मंगलबार हुन्छ।'
नेपाल बैंकर्स संघ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन हो। वित्तीय नीति निर्माणमा संघको महत्वपूर्ण भूमिका रहँदै आएको छ। संघको नयाँ नेतृत्वको लागि मंसिर १९ मा निर्वाचन हुँदै छ। निर्वाचनको उमेद्वारी १७ गते दर्ता गर्ने कार्यक्रम छ।
१८ गते उम्मेदवारी फिर्ता लिने, दावी विरोध गर्ने र अन्तिम नामावली प्रकाशन गरिने छ। निर्वाचन भनिए पनि सहमतिबाटै संघको अध्यक्ष चयन हुँदै आएकाले यस पटक पनि दाहाललाई अध्यक्ष बनाउने सहमति जुटेको हो।
सामान्यतः अध्यक्षको कार्यकालपछि उपाध्यक्ष नै अध्यक्ष हुनेगरी संघमा यसअघि सहमति बन्दै आएको थियो। संघको उपाध्यक्षमा एसबिआई बैंकका प्रवन्ध निर्देशक अनुकुल भट्नाकर छन्। उनी भारतीय हुन्।
अर्थ मन्त्रालय र राष्ट्र बैंकले अध्यक्षमा नेपाली नै हुनु उपयुक्त हुने सुझाव दिएपछि भट्नाकर उपाध्यक्षमै बस्ने इच्छा जनाएका हुन्। भट्नाकर उपाध्यक्ष नै हुनेछन्।
अध्यक्षको कार्यकाल दुई वर्षको हुनेछ। यद्यपी सहमति भएमा पुनः दोहोरिन सक्ने छन्।