पछिल्लो केही दिनदेखि उछाल देखिएको शेयर सूचक मंगलबार भने रोकिएको छ। पुस महिनाको अन्तिम दिन आज ७.४८ अंकले सूचक घटेर १२६३.३८ अंकमा पुगेको थियो।
यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक पनि २ अंकले घटेर २७४.२८ अंकमा पुगेको छ।
तर निरन्तर जारी खरिदबिक्री रकम भने आज १ अर्ब २ करोड २६ लाख भएको छ। आज १ सय ८३ कम्पनीको कुल ३७ लाख ६६ हजार ९८२ कित्ता सेयर खरिदबिक्री भएको थियो।
निक्षेपमा ब्याज घट्न थालेपछि निक्षेपकर्ता पनि बैंकबाट पैसा झिकेर शेयर बजारतर्फ नै आकर्षित भएको लगानीकर्ताहरुले बताएका छन्।
१२ उपसमूहको कारोबार हुदाँ ५ समूहको सूचक बढेको छ। सबैभन्दा धेरै ट्रेडिङ समूह ६५.०७ अंकले बढेको थियो।
वाणिज्य बैंक समूहको सूचक भने १०.३६ अंकले घटेको छ। जीवन तथा निर्जीवन बीमा कम्पनी र माइक्रोफाइनान्स समूह पनि घटेका छन्।
खरिदबिक्री रकममा प्रभु बैंकको संस्थापक सेयरको सबैभन्दा अघि छ। बैंकको ११ करोड ४३ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो।
खरिदबिक्रीमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नागरिक लगानी कोष र एनआइसी एसिया बैंक छन्।