सेयर बजारको परिसूचक नेप्से साताको पहिलो दिन ६९ अंकले बढेको छ। गत बिहीबारको तुलनामा एकै दिन ४. ८५ प्रतिशतले बढेर नेप्से १५०४ अंकमा कायम भएको छ।
नेप्से परिसूचकमा उछाल आउँदा कारोबार रकमले भने ऐतिहासिक रेकर्ड राखेको छ। यस दिन ३ अर्ब ६० करोड रुपैयाँको सेयर कारोबार भएको छ।
यो कारोबार रकम हालसम्मकै उच्च हो। यसअघि गत बिहीबार त्यसअघिका सबै रेकर्ड तोडेर २ अर्ब ७८ करोडको सेयर कारोबार भएको थियो।
यस दिन बैंकिङ समूहले नै बजार उचाल्नलाई टेवा पुर्यायो। सो समूह ८६ अंकले बढेको छ। यद्यपी बैंकिङसहित सबै समूह बढेका छन्।
व्यापार ७३, होटल ११, विकास बैंक ८४, जलविद्युत ३३, फाइनान्स २२, निर्जीवन बीमा समूह १३९, उत्पादन ३८, अन्य २४, माइक्रोफाइनानस ५४ र जीवन बीमा समूह १९२ अंकले बढ्यो।
कारोबारका आधारमा एनएमबि बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको १२ करोड रुपैयाँ बराबरको कारोबार भयो। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, शिखर इन्स्योरेन्स तथा हिमालय डिस्टलरीको १०–१० करोड बढी रकमको कारोबार भयो। यस दिन १२ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढ्यो।
९ प्रतिशत बढी मूल्य बढ्ने बैंकहरुमा एनएमबि, सानिमा, मेगा, एसबिआई छन्। एभरेष्टको संस्थापकको मूल्य ९ प्रतिशत बढीले बढ्यो। बजारमा उछाल आउँदा पनि तारागाउँ रिजेन्सी र बरुण हाइड्रोपावरका लगानीकर्ताले ५ प्रतिशत बढी गुमाए।