भुक्तानी रोकिएको भन्दै निर्माण कार्य ठप्प भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनालाई अर्थ मन्त्रालयले थप ७० करोडध निकासा दिएको छ। अर्थ मन्त्रालयले स्रोतान्तरण गरी ७० करोड रुपैयाँ बजेट व्यवस्था गरिदिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए।
विमानस्थल बनाउने जिम्मा पाएको चिनियाँ कम्पनी नर्थवेस्टसिभिल एभिएसन कन्सट्रक्सनले पछिल्लो समय बिल पेस गरेको लामो समयसम्म भुक्तानी नपाएको भन्दै धावनमार्ग कालोपत्रे, पेरिमिटर र ट्याक्सी वे कालोपत्रेको काम ठप्प पारेको थियो।
आयोजनाका लागि यो वर्ष खर्च गर्न पाउनेगरी ५९ करोडमात्र बजेट विनियोजन भएको थियो। आयोजनाको धावनमार्ग, एप्रोन, टर्मिनल, ट्याक्सी वे निर्माण गर्ने कामका लागि बजेट ५९ करोडमात्र थियो। सो भन्दा बढी खर्च भएपछि पर्यटन मन्त्रालयले थप बजेटका लागि अर्थ मन्त्रालयमा पत्र पठाएको थियो।
त्यसपछि अर्थले भैरहवा विमानस्थल आयोजनाकै लागि दोस्रो ठेक्काको बजेट व्यवस्था भएको ओपेक फण्डको बजेटबाट स्रोतान्तर गरी निकासा दिएको उपाध्यायले जानकारी दिए। अर्थले आयोजनाका लागि ७० करोड बजेट निकासा गरिदिएको छ। विमानस्थल आयोजनाको इक्वुपमेन्ट राख्नका लागि ओपेक फण्डले १ अर्ब ७ करोड साहयता दिएको छ। यसबाट यो वर्षका लागि ७० करोड रुपैयाँ विनियोजन गरिएको थियो। तर यसको ठेक्का भर्खरमात्र लागेकाले अर्को आर्थिक वर्षमात्र भुक्तानी हुने भएकोले स्रोतान्तर गरिएको हो।
असार १५ सम्म निर्माण गरिसक्ने लक्ष्य पाएको उक्त ठेकेदार कम्पनीले समयमै भुक्तानी नपाउँदा काम रोकिएको र भुक्तानी आउने निश्चित हुनेवित्तिकै काम शुरु हुने आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए। नेपाल सरकार तथा नागरिक उड्डयन प्राधिकरणको आयोजनाबाट दिने रकम दिएपनि एसियाली विकास बैंकले गर्नुपर्ने भुक्तानीको काम एक महिनादेखि रोकिएपछि ठेकेदार कम्पनीले कामै रोकेको थियो।
ठेकेदार कम्पनीले कामदारलाई समेत दिने ज्याला नपाएपछि काम रोक्न बाध्य भएको बताइएको छ।
धावनमार्ग, ट्याक्सवी वे, स्ट्रिप वे, पेरिमिटर, टर्मिनल, टावरजस्ता काम असार १५ मै सक्ने र आउने मंसिरदेखि व्यावसायिक उडान गर्ने सरकारी घोषणा रहेको छ। यद्यपी आयोजनाको काम भने सरकारकै कारण रोकिएको हो।
अब धावनमार्ग र ट्याक्सी वे कालोपत्रेको काम १० दिनजतिमा सकिने अनुमान गरिएको छ।
आयोजनामा काम भएपछि ठेकेदार कम्पनीले बिल पेस गर्छ। उक्त बिलमा उल्लेख भएको कामको परामर्शदाताले परीक्षण गर्छ। यसरी परीक्षण गरेपछि बिलमा उल्लेख भएको रकमको ३८ प्रतिशत आयोजनाले नै भुक्तानी दिन्छ। जुन भइसकेको छ। बाँकी ६२ प्रतिशत रकम जुन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै एसियाली विकास बैंकमा पुगेर स्वीकृत भएपछि भुक्तानी हुन्छ। बजेट शिर्षकबाट रकम सकिएकाले केही ढिला भएको अब भुक्तानी हुने पर्यटन मन्त्रालयले जानकारी दिएको छ।
भुक्तानीको समस्या समाधान भएपनि विमानस्थल समयमै सम्पन्न हनुनसक्ने अर्को कारण छ। कालोपत्रेमात्र होइन धावनमार्ग वरीपरी बनाइने स्ट्रिप वेमा माटो, ढुंगा भर्नुपर्ने काम अझै बाँकी रहेको छ। जसका लागि जेठभित्रै नदिबाट माटो, ढुंगा, गिट्टी उत्खनन् गरिसक्नुपर्छ। यसरी नगरेमा असोजसम्म कामै शु्रु हुन्न।
तर नदिजन्य पदार्थ उत्खनन् मा समस्या देखिएको छ।
आयोजनाका लागि नदिजन्य पदार्थ उत्खनन् गर्ने भन्दै सम्झौता गरिएको ठाउँमा बुटुवल उपमहानगरपालिकाले एकैपटक प्रतिघनमिटर ९ रुपैयाँ कर उठाउने निर्णय गरेपछि उक्त काम रोकएिको छ। सरकारी निर्णयबाट सम्झौता गरिएको रकममा एकएक ठूलो रकम बढाएपछि त्यहाँबाट ल्याउन नसकिने भन्दै निर्माण कम्पनीको साहयक कम्पनी पछाडि हटेको छ।
यो समस्याको समाधान नभएमा आयोजनाको काम अब एकैपटक असोजमा शुरु हुने छ जुन अर्को असारमा मात्र सम्पन्न हुने अवस्था आउनसक्छ।
अहिले आयोजनाले भोगिरहेका समस्याका बारेमा नागरिक उड्डयन प्राधिकरण हुँदै मन्त्रालयलाई जानकारी दिंदै आएको र छिट्टै समस्या समाधान हुनेमा विश्वस्त रहेको आयोजना अधिकारी इन्जिनियर प्रवेश अधिकारीले बताए।