चीनको ग्वाङजाउमा उडान अनुमतिका लागि प्रक्रिया शुरु गरेको नेपाल एयरलाइन्सको सेफ्टी अडिट हुने भएको छ। चीनको नागरिक उड्डयन संस्थाले एयरलाइन्सको सेफ्टी अवस्थाको जाँचबुझ गरेपछिमात्र उडान अनुमति दिने नदिने बारे निर्णय लिने जवाफ पठाएको हो।
नेपाल एयरलाइन्सका प्रवक्ता नवराझ कोइरालाकाअनुसार चीनबाट अडिटको प्रस्ताव आएको छ। मिति भने टुंगो लागेको छैन। यसअघि दक्षिण कोरियाले पनि नेपाल एयरलाइन्सको अडिट गर्न खोजेपछि नेपालले नै अनुमतिको प्रक्रिया स्थगन गरेको थियो।
नेपालको नियमकले पठाएको पत्रमा चित्त नबुझेपछि आफै आएर अडिट गर्न खोजेपछि लामो समयको बन्देज लाग्ने डरले तत्कालिन अवस्थामा कोरियाको अनुमति प्रक्रिया रोकिएको थियो।
नेपाल एयरलाइन्सका अधिकारीहरुले युरोपियन युनियनको सेफ्टि लिस्टलाइ लिएर चिनियाँ पक्षले चासो देखाएको बताएका छन्।
तर नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल भने कुनै पनि नयाँ गन्तव्यमा उडान अनुमति माग्दा सम्बन्धित देशको नियमकले अडिट गर्नु सामन्य परम्परा भएको बताउछन्।
' यसमा इयुको चासो भन्ने कुरा हुँदैन, चिनियाँ पक्षले यसअघि पनि हिमालय एयरलाइन्सको अडिट गरेको थियो त्यसमा सबे क्लियर भएर चार्टर उडान भइरहेको छ।हामीले पनि नयाँ एयरलाइन्स आउन खोजे अडिट गर्छौ।त्यसैगरी नेपाल एयरलाइन्स अडिट गर्न खोजिएको हो' पोखरेलले सेतोपाटीसँग भने।