बिजुली बस हेर्न साझा यातायातको टोली भारत पुगेको छ।
सोमबार बिहानको फ्लाइटमा साझा यातायातका प्रवन्धक महेन्द्रराज पाण्डे, वातावरण विद् भुषण तुलाधर, स्थानिय सरकार र प्रदेश ३ सरकारका प्रतिनिधि लगायत १ दर्जन टोली कोलकत्ता पुगेका हुन्।
भ्रमण टोली कोलकत्ता, पुना, दिल्ली लगायतका ठाउँमा संचालित बिजुली बसको अवलोकन गरेर शनिवार नेपाल फर्किने कार्यक्रम रहेको छ।
यो टोलीलाई बिजुली बसको बारेमा अध्ययन गर्न बिजिजिआई नामक संस्थाले भारत लगेको साझा यातायातका अध्यक्ष कनकमणी दिक्षितले बताएका छन्।
'सार्वजनिक यातायातको लागि बिजुलीबस प्रयोग गरेको सबै भन्दा नजिक भारत नै हो त्यस कारण टोली भारत गएको हो', दिक्षितले भने, 'र त्यहाँ भारत र चीन दुबै देशको बिजुली बसको अभ्यास हेर्न सकिने भएकोले अवलोकनको लागि भारत तय भएको हो।'
गत बिहिवार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले बिजुलीबस खरिद गर्न साझासँग ३ अर्बको सेयर खरिद गरेको थियो।
त्यस्तै बिजुली बस खरिदकै लागि साझासँग प्रदेश नम्बर ३ सरकारले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड र ललितपुर महानगरपालिकाले २ करोड ५० लाखको सेयर खरिद गरेका थिए भने साझा आफैले २ करोड ५० लाख लगानी गर्ने जनाएको थियो।
यो सबै गर्दा साझाले बिजुली बस खरिदका लागि ३ अर्ब ४५ करोड जुटाइसकेको छ। सरकारले ३ अर्ब भन्दा धेरै लगानी गर्न लागेको साझा यातायात विगत २ वर्षदेखि भने लगातार घाटामा छ।
साझाले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४ र ०७५ मा साझालाई १ करोड ७८ लाख रूपैयाँ घाटा भएको छ।
अघिल्लो वर्ष साझाको घाटा १ करोड ८२ लाख थियो।